तेह्रथुम, २८ मंसिर । चुनाव जित्नको लागि भोट माग्न धेरै नेता गाउँगाउँ, नागरिकको घरदैलोमा पुग्छन् । चुनाव जितेपछि नागरिकको घर दैलोमा पुग्ने नेता उदाहरणीय हुन्छन् । किनकी नेताहरु चुनाव जितेपछि फेरि गाउँ आउँदैनन् भन्ने मतदाताको आरोप खेपिरहेका हुन्छन् ।
तर अहिले भने चुनावमा हारेका नेता गाउँमा गएर मतदातालाई भेटेका छन्, तेह्रथुमको प्रदेशसभा (ख) क्षेत्रमा प्रत्यक्षतर्फ पराजित भएका नेता विजय सम्बाहाम्फे । नेपाली कांग्रेसका उम्मेदवार विजय सम्बाहाम्फे चुनाव हारेपछि पुनः गाउँ पस्नुभएको हो ।
सम्बाहाम्फेले मत परिणाम घोषणा भएसँगै गाउँमा पुगेर मतदातालाई धन्यवाद दिइरहनुभएको छ । प्रदेशसभा (ख) क्षेत्रमा जम्मा ८ राजनीतिक दलको उम्मेदवारी थियो ।
तेह्रथुमको प्रदेशसभा ख मा कुल ३० हजार ५ सय ८८ मतदातामध्ये १९ हजार ९ सय ६३ मत खसेकोमा १० हजार ३ सय २ मत ल्याएर एमालेका उम्मेदवार तेजमान कन्दङवा विजयी हुनुभयो । कांग्रेस उम्मेदवार सम्बाहाम्फे ८ हजार ४७ मत ल्याउनुभयो । सम्बाहाम्फे २ हजार २ सय ५५ मतले पराजित हुनुभयो । तर, पराजित भएपछि पनि केही दुख नलागेको सम्बाहाम्फेले बताउनुभयो ।
यसपटकको चुनावमा माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका सम्बाहाम्फे वाम गठबन्धन भएपछि टिकट नपाएर कांग्रेस प्रवेश गरी प्रदेशसभा (ख) मा उम्मेदवारी दिनुभएको थियोे । त्यसो त उहाँका लागि कांग्रेस पनि नौलो पार्टी थिएन ।
०६४ अघि नै कांग्रेसको जिल्ला कोषाध्यक्ष भइसक्नुभएका सम्बाहाम्फे पुनः कांग्रेसमै फर्किएर उम्मेदवार हुनुभएको हो । हाल निजी तथा व्यवसायिक विद्यालय अर्गनाइजेसनको केन्द्रीय अध्यक्ष समेत रहनुभएका सम्बाहाम्फेले चुनावमा आएको परिणामबाट आफू दुःखी नभएको बताउनुहुन्छ । ‘जनताको घरदैलोसम्म पुगेर अनुमोदित हुने मौका पाएँ,’ उहाँ भन्नुहुन्छ, ‘चुनावमा जित्नुमात्र ठूलो कुरा होइन ।’
चुनावपछि मतदातालाई धन्यवाद दिँदै गाउँमा पुगिरहेका सम्बाहाम्फेले आफूले बाँडेका आशा र योजनाहरु चुनाव हारे पनि पुरा गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । ‘चुनाव त मैले हारेकै हुँ,’ उहाँ भन्नुहुन्छ, ‘चुनाव हारेपनि म जनताको मन जित्न गाउँ आएको छु, चुनाव जित्नुमात्र ठुलो कुरा हैन, जनताको मन जित्नु ठूलो कुरा हो ।’
सम्बाहाम्फेले आफ्नो क्षेत्रका मतदातालाई आफ्नो मत खेर गयो भनेर निरुत्साहित नहुन भनिरहनु भएको छ । ‘चुनावी अभियानका क्रममा मतदाता माझ बोलेका योजना र प्रतिवद्धता पुरा गर्न आफू निरन्तर लागिरहन्छु, अब म जनताको मन जित्छु,’ उहाँले भन्नुभयो ।
प्रदेश सभा (ख) क्षेत्रमा मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका पर्दछन् । सम्बाहाम्फे फेदाप गाउँपालिकाको जलजलेमा जन्मनुभएको हो । अहिले उहाँ काठमाडौँमा बस्नुहुन्छ । लामो समयसम्म काठमाडौँमा बसेर शिक्षामा सेवा गरेका सम्बाहाम्फेले जन्मथलो फर्किएर राजनीति गर्ने शोक देखाउनुभएको हो । आफू थोरै मतान्तरले पराजित हुनु नै उपलब्धि भएको सम्बाहाम्फेले बताउनुभयो ।
‘यो जिल्ला वामपन्थीको बाहुल्य क्षेत्र हो,’ उहाँ भन्नुहुन्छ, ‘संगठन कमजोर भएको कांग्रेसबाट उम्मेदवार भएर यति मत ल्याउनु मेरो लागि उपलब्धि नै हो ।’ सम्बाहाम्फेले पत्रकार सम्मेलनको आयोजना गर्दै आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद समेत दिनुभयो । उहाँले विजयी एमालेका तेजमान कन्दङवालाई बधाई समेत दिनुभएको छ ।