इलाम, २८ मंसिर । इलाम नगरपालिका–४ बिब्ल्याँटेमा घर आगलागीमा परि घाइते भएकी महिलाको मृत्यु भएको छ ।

बिब्ल्याँटेका भविन्द्र नेपालको घरमा गएराति करिव दुई बजे आगलागी हुँदा उनकी श्रीमती ३० वर्षकी पवित्रा नेपाल घाइते हुनुभएको थियो । इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि झापा लैजाने क्रममा उहाँको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातको समयमा घरमा बालिएको टुकिबत्ती लडेर आगलागी भएको र आगो सल्केपछि भाग्ने क्रममा महिला घाइते भएको प्रहरीको नायव उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

मृतक महिलाको शव घरमा ल्याएर राखिएको छ । आगलागीबाट नेपालको घर र त्यसभित्र रहेको भाडावर्तन, लत्ताकपडा, खाद्यान्न लगायतका सरसमान नष्ट हुँदा तीन लाख भन्दा बढिको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ । घरमा लागेको आगो स्थानीय र प्रहरीको प्रयासमा करिव तीन बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया