तेह्रथुम । देउराली सोसाइटी तेह्रथुमले आठराई गाउँपालिका–४, इवामा एक वर्षसम्म सन्चालन गरेका गतिविधिको सहभागीतात्मक लेखाजोखा गरेको छ । एक्सनएड नेपालको सहयोगमा जिल्लामा सन्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत इवामा सन् २०१७ भित्र भएका गतिविधिको लेखाजोखा तथा वार्षिक समीक्षा भएको हो ।

सो कार्यक्रमले जिविकोपार्जन, सुशासन, महिला शशक्तिकरण र शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । इवा गाउँमा सन् २०१७ भित्र जिविकोपार्जनका लागि अग्र्यानिक खेती, महिला, बाल र स्वास्थ्य अधिकारको वकालत, सीपमुलक र आयआर्जन कार्यक्रममा प्रोत्साहन, भूमिहीन र महिलाहरुलाई संगठित गर्ने लगायत कामहरु भएको समीक्षा गरिएको छ ।

विशेषगरि महिला, बाल, शिक्षा, स्वास्थ्य लगायत अधिकारको वकालत गर्ने, सुसूचित गर्ने, सूचनाको हक प्रवर्धन र प्रयोग लगायत गतिविधिहरु एक वर्षसम्म सन्चालन भएको र सोका लागि साझेदार संस्था र सहजीकरण वापत्को ३ लाख १ हजार २ सय ७१ रुपैयाँ खर्च भएको सार्वजनिक गरिएको छ । स्थानीय अधिकारी कार्यक्रम अन्तर्गत इवाको बरबोटे ढोडेनी र कैँजलेमा अभियान चौतारी सन्चालनमा रहेका छन् ।

त्यस्ता चौतारीमा गाउँबासीले सामुहिक छलफल गरी समाधानको बाटो पहिचान गर्ने गरेका सामाजिक परिचालक सनिशा भेटुवालले जानकारी दिनुभयो । कार्यक्रममा देउराली सोसाइटीका सन्चालन समिति सदस्य विनोद निरौला, वडाध्यक्ष श्यामकुमार भट्टराई, इवास्थित विभिन्न विद्यालयका शिक्षक, बाल क्लबका प्रतिनिधी, भूमि अधिकार मञ्चका सदस्यहरु, महिला अधिकार मन्चका सदस्यहरु र अभियान चौतारीका सदस्यहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया