काठमाडौँ । दाङमा दलित समुदायका तीन बालकको शव चार महिनादेखि पार्किङ गरेर राखेको कारभित्र नग्न÷अर्धनग्न अवस्थामा भेटिएको घटनाप्रति राष्ट्रिय दलित आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोग र अन्य संघसंस्थाहरुले बालकहरुको अपहरण पछि हत्या गरिएको भन्दै घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कडा कारवाही गर्न र पीडितलाई क्षतिपुर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

गत शनिबार तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेटको कारमा तीनवटा शव फेला परेको थियो । पार्किङ्ग गरिएको भारतीय नम्बर प्लेट जे ०१ सिसि ०८८५ नम्बरको निशानको कारभित्र शव भेटिएको हो । ती बालकहरु तुलसीपुर उपमहानगरपालिका–६ कै बरुवागाउँका हुन् ।

प्रहरीका अनुसार मृत अवस्थामा भेटिएकामध्ये किरण परियारका छोरा ६ वर्षीय करण परियार, सोही ठाउँकै सञ्तोष परियारका छोरा ७ वर्षीय सुवाश भनिने सुवर्ण परियार र सोही ठाउँकै भीमबहादुर परियारको छोरा १० वर्षीय सन्देश परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

परिवारका अनुसार बालकहरु १६ बैशाखदेखि नै बेपत्ता थिए । त्यसको तीन दिनपछि उनीहरुको शव कारभित्र भेटिएको हो ।

राष्ट्रिय दलित आयोगकी सदस्य मीनादेवी सोवले विज्ञप्ति जारी गर्दै घटना शंकास्पद रहेको भन्दै घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वासनीय छानविन गर्न, सत्य तथ्य सार्वजनिकीकरण गर्न तथा दोषी उपर कानूनी कारवाही गर्न माग गरेकी छिन् ।

‘लक गरिएको गाडीभित्र नग्न तथा अर्धनग्न अवस्थामा शवहरु भेटिएको सूचना तथा समाचारहरुले गम्भीर आशंका सिर्जना गरेको छ,’ आयोगकी सदस्य सोवले विज्ञप्तिमार्फत् भनेकी छिन्, ‘सिंगो दलित समुदायलाई स्तब्ध बनाउने घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

यस्तै, नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विश्वकर्माले पनि घटनाको स्पष्ट छानविन, पीडितलाई क्षतिपुर्ति र हत्यारालाई हदैसम्मको कारवाहीको व्यवस्था गर्न माग गरेका छन् ।

‘कोरोनाको दोश्रो लहरको कहरकाबीच हत्याराहरुले नाबालाकहरुलाई अपहरण गरी हत्या गरेको आशंका सर्वत्र उत्पन्न भएको छ । आफन्तका अनुसार ती बालक बैशाख १६ गतेदेखि हराइरहेका थिए,’ विश्वकर्माले विज्ञप्तिमार्फत् भनेका छन्, ‘यसरी तीनदेखि बेपत्ता भएका तीन–तीन जना बालकको खोजी कार्यमा गरेको सरकारी लापरवाहीका कारण उनीहरुको हत्याको कारण हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ ।’

घटनामा संलग्न भएको हुनसक्ने आरोपमा प्रहरीले कार धनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया