काठमाडौं । नेपालमा कोरोना महामारीको अवधिमामात्रै पाँच सय १७ जना पत्रकार विस्थापित भएको तथ्यांक सार्वजनिक भएको छ ।

नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन इकाईले गरेको अध्ययनअनुसार यसवर्ष प्रेस स्वतन्त्रतामाथि प्रहारका ४५ वटा घटना भएकामा पत्रकारहरुको पेशागत सुरक्षाका घटनाहरु सबैभन्दा बढी रहेका छन् । जसमध्ये कोरोना महामारीको समयमा मात्रै पेशागत सुरक्षाका हिसावले पीडित पत्रकारको संख्या पाँच सय १७ रहेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा सोमबार नेपाल पत्रकार महासंघले भर्चुअल कार्यक्रममार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष ४५ वटा घटना प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका छन् । ती घटनामा पाँच सय ८४ जना पत्रकार र तीन वटा सञ्चार संस्था पीडित भएका छन् । पीडित पत्रकारहरुमध्ये ७७ जना महिला पत्रकार रहेका छन् ।

यो वर्ष छ जना पत्रकार गिरफ्तारीमा परेका छन् । यस्तै, कब्जा र अवरोधबाट चार जना पत्रकार पीडित भएका अध्यक्ष पोखरेलले जानकारी दिए । ४८ पत्रकारमाथि आक्रमण भएको छ । १२ पत्रकारले धम्की र दुव्र्यवहारमा परेका छन् ।

दिवसको सन्दर्भमा महासंघका अध्यक्ष विपुल पोखरेलले शुभकामना सन्देश दिँदै कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले कोरोनाको नयाँ भेरियन्टसहितको दोश्रो चरणको संक्रमण बढिरहेका बेला कोरोनालाई कारण देखाएर सञ्चार गृहले पत्रकारलाई विस्थापित गराउने खतरा उत्तिकै रहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले सञ्चारकर्मीलाई स्वतन्त्र ढंगले काम गर्न पाउने वातावरण राज्यले निर्माण गर्नुपर्ने बताए । उनले नागरिकको सत्यतथ्य सूचना पाउने अधिकारको ग्यारेण्टी गरिनुपर्ने बताए ।

यस्तै, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतन्त्रको मुख्यआधार नै स्वच्छ र मर्यादित निर्वाचन भएको भन्दै त्यसका लागि पूर्ण प्रेस स्वतन्त्रताको भूमिका हुने बताए । उनले स्वच्छ र मर्यादित निर्वाचनका लागि मिडियाको सकारात्मक भूमिकाका लागि आग्रह गरे । प्रमुख आयुक्त थपलियाले अहिले बढ्दो क्रममा रहेको गलत सूचना सम्प्रेषणलाई निरुत्साहित गर्न महासंघले भूमिका खेल्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्वअध्यक्षहरु डा.सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँले, डा.महेन्द्र विष्ट र सल्लाहकार निर्मला आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया