काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ । सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्याण्डफिल साइटमा पुर्याउने गरेको थियो । आज १३ वटा गाडी पठाउने तयारी गरेको छ ।

वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार व्यवसायिक क्षेत्रमा मात्रा धेरै घटेको छ । ‘‘सडकमा जम्मा हुने फोहोर ५० प्रतिशतसम्म घटेको छ,” उनले भने ।

घरमा उत्पादन हुने फोहोरको मात्रा ३० प्रतिशतसम्म घटेको वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालको भनाइ छ । ‘‘होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द भएकाले धेरै फोहोर उत्पादन हुने ठाउँ घटेको देखिए पनि घरघरबाट उत्पादन हुने फोहोरको मात्रा धेरै घटेको छैन । मानिसहरु बसेर खाइरहेका छन्,” दाहालले भने ।

यता, फोहोरमैला व्यवस्थापन संघको अनुमान अलि फरक छ । संघका महासचिव मीत्र घिमिरेका अनुसार बाहिर बन्द भएकाले मानिसले घर, आँगन सफा गर्दा निस्किएको फोहोर आएको छ । ‘‘यो क्रम सधँै हुँदैन । त्यसैले अहिलेभन्दा फोहोरको मात्रा घट्ने सम्भावना छ,” उनले भने ।

वडा ३, ४ र ७ बाट पहिले दैनिक ८ टिपर फोहोर संकलन हुने गरेकोमा अहिले ६ टिपर मात्र संकलन भइरहेको छ । यो पनि घट्ने क्रममा रहेको वातावरण विभागको भनाइ छ ।

घरेलु फोहोरसँगै महानगरले सडक सफाइका लागि नियमित ब्रुमर सञ्चालन गरिरहेको छ । सडकबाट संकलन हुने धुलोको परिणाम पनि घटेको छ ।

तपाईको प्रतिक्रिया