काठमाडौं, मंसिर २७ – वामपन्थीले चुनाव जितेपछि धेरैको मनमा धेरै खाले प्रश्नहरु जन्मेको छन् । के अब साँच्चै देशमा स्थायित्व र समृद्धिको ढोका खुल्छ त ? के साँच्चै देशले काचुली फेर्ने बाटो समाउला ? के साँच्चै बिदेशमा गएका नेपाली कामदार बिस्तारै देश फर्कने गरि रोजगारीका अवसरहरु सृजना होलान् ?
नागरिकका मनमा उठिरहेका यी सबै प्रश्नको उत्तर आउन त केही वर्ष लाग्न सक्छ । तर उत्तर कस्तो आउला भन्ने कुराको संकेत भने अब बन्ने वामपन्थी गठबन्धनको सरकारका सुरुवाति व्यवहार र कामबाट सय दिन नपुुग्दै देखिन थाल्नेछ ।
राजनीतिक अवसर
बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनका दुई नेता के.पी. शर्मा ओली र पुुष्पकमल दाहाल प्रचण्डका सामुु चुनौति थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्याउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन् ।
स्थानीय तहमा वाम गठबन्धनको पकड भएकाले विकासका योजना कार्यान्वयन गर्न अब बन्ने वाम सरकारलाई कुनै रोकटोक छैन । प्रदेश सभाको चुनावमा ७ मध्ये ६ प्रदेशमा वाम गठबन्धनको बलियो बहुमत छ । यी ६ वटै प्रदेशमा उनीहरुले चाहेको जस्ता विकासका काम गरेर देखाउन सक्छन् । स्थानीय तह र प्रदेशमा वाम सरकारले बनाउने नयाँ नीति, योजना र कार्यक्रमहरु लागूगर्न वाम गठबन्धनलाई अबका दिनमा कुनै रोकतोक हुने छैन । यस्तो मिलेको राजनीतिक वातावरण २०४८ सालको सरकारपछि अहिलेको वाम गठबन्धनलाई मात्र मिलेको छ ।
जस लिने अवसर र योजनाहरु
आम नागरिकले अनूभूुत गर्ने गरिको राहत दिन र विश्वास जित्न ओली र प्रचण्डले तत्काल ठूलो कुनै काम थाल्नु पर्दैन, सुस्त रुपले भैरहेका कामका गतिलाई तिब्र बनाई दिए वा वातावरण मिलाए दिए मात्रै पनि पुग्छ । मेलञ्ची खानेपानी, तामाकोशीको बिजुली, फराकिला हुँदै गरेका काठमाडौंका सडक र मुग्लिन नारायणगढ सडक जस्ता महत्वपूर्ण विकासका आयोजनामा अहिले धमाधम काम भैरहेको छ । यी सबै आयोजना एक वर्षभित्र सकिँदैछन् ।
मेलाञ्चीको पानी र काठमाडौंका सडक
मेलम्चीको पानी काठमाडौं आइपुग्न अब धेरै महिना बाँकी छैन । पाईपहरु बिछ्याई सकिएका छन् । पाईप बिछ्याउँदा धुलाम्य भएका र खाल्डा परेका सडकका किनारा र बिचका चीरा परेका भाग पुुर्न र कालोपत्र गर्न बाँकी छन् । ती काम गरे राजधानीका वासिन्दाले धुलो र खाल्डोबाट नागरिकले राहत पाउँछन् । सडक फराकिलो बनाउने सिलसिलामा शहरभित्रका सडक खनेर सकिएको छ । अब तिनलाई खाल्डाखुल्डी पुरेर कालोपत्र गर्न बाँकी छ । त्यो काम थाले असार नलाग्दै शहरका गल्लीभित्रका र चक्रपथ वरपरका सडक कालोपत्रे गर्ने धेरै काम सकिन्छ । आउने वर्षामा नागरिक र गाडीलाई नालीमा पर्नबाट जोगाउन मात्रै सके पनि प्रचण्ड र ओलीको जय सुरु भैहाल्छ ।
तामाकोशीको बिजुली
तामाकोशी जलविद्युत्त आयोजनाको काम अहिले अन्तिम चरणमा चलिरहेको छ । तामाकोशीबाट बिजुली निकाल्न कुनै काम नगरे पनि काम सकिँदाको जस अब बन्ने वामपन्थी सरकारले नै पाउँछ । तर तोकेको समयभन्दा एक दुुई महिना अघि काम सकिने गरि सरकारले कामको वातावरण मिलाउन थाल्यो भने देशमा बिजुुलीको हाहाकार कम हुन थाल्छ । जनार्दन शर्माले उर्जामन्त्री हुँदा देख्न थालेको सपनामा आम नागरिकका आँखाले विश्वास गर्न थाल्छ ।
नारायणगढ मुग्लिन सडक
अहिलेसम्म पटक पटक म्याद थप्दै काम चलिरहेको तर समयमा काम नसकिएका कारण दुर्घटनामा सयौँ मानिसको ज्यान गैरहेको नारायणगढ मुग्लिन सडक आउँदो फागुन महिनामा बनेर सकिनुपर्ने हो, तर त्यो सडक आउने वर्षामा पनि सकिने लक्षण छैन । नारायणगढ मुग्लिन सडक वर्षा सुरु नहुँदै सक्ने गरी कामको वातावरण बनाउन सके त्यसको जस पनि अब बन्ने सरकारलाई नै जान्छ ।
काठमाडौंका घरघरमा रहेका अहिले कमिला कुदिरहेका धारामा मेलम्चीको पानी खस्न थाल्यो भने गृहिणीको मन फुरुंग हुन्छ । सडकका खाल्डाखुल्डी पुरिएर धुलो उड्न छाड्यो भने गाडीवाला, यात्रु, बटुवा र सडक छेउछाउका बासिन्दा गदगद हुन्छन् । अनि विकास निर्माणका योजना बन्न थाले भनेको सुनेपछि सबैको आशा पलाउँछ ।
ओलीप्रतिको आशा
नागरिकको आशा र अपेक्षा राम्रोसँग बुझ्न सक्ने क्षमता केपी ओलीसँग छ । निर्णय क्षमता, चार्तुयता र बोलेका कुरामा टिक्ने बानी भएका तिनै ओली अबको प्रधानमन्त्री बन्ने लगभग पक्कापक्की जस्तै छ । ओलीले सरकारको नेतृत्व गर्ने बित्तिकै केही न केही परिवर्तन देख्न पाइन्छ भन्ने धेरैलाई विश्वास छ । त्यसो त साढे तीन वर्ष पहिले पार्टी अध्यक्ष भएपछि उहाँले थालेका धेरै काम र योजना पनि सफल हुँदै आएका छन् ।
भारतको नाकाबन्दी भएका बेला प्रधानमन्त्री बनेका ओलीले त्योबेला गरेका काम र बाँडेका आश्वासनलाई नेपालीले अहिले पनि भुलेका छैनन् । घरघरमा ग्यास चुल्हो पुर्याउने, रेल र पानी जहाज चलाउने, हावाबाट बिजुली निकाल्ने उनका सपनालाई उबेला धेरैले हावामा उडाए । तर अहिले नागरिकले ओलीका यिनै सपनालाई विपनामा देख्न पाइने आश गरेर जिताएका छन् ।
जनार्दन शर्माले हरेक दिन ८ घण्टाभन्दा बढी भैरहेको लोड सेडिङ छ महिनामा अन्त्य गरे । त्यसैले वामपन्थीले सरकार चलाए भने धेरै काम हुन सक्छन् भन्ने विश्वास लागेर नै यो पालि जनताले प्रचण्ड र ओलीलाई बलियो सरकार चलाउन पुुग्ने प्रचण्ड बहुमत दिएका छन् ।
तर ओलीको नेतृत्वमा बन्ने आशा गरिएको वामपन्थी सरकारले नयाँ र महात्वाकांक्षी योजना सुरु गर्नु अघि अथवा अर्को आर्थिक वर्ष शुरु हुनु अघि (२०७५ सालको असारभित्र) यी साना तर महत्वपूर्ण काम सकेर जनताले दिएको विश्वासलाई जोगाउने र जगाउने काम थाल्ला त ?
उज्यालो अनलाइनबाट ।