सुनसरी, मंसिर २७ – झिनो मत अन्तरले सुनसरी क्षेत्र नम्बर ३ मा कांग्रेसका उम्मेदवार विजय गच्छदार विजयी हुनुभएको छ । वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतले पछि पार्दै गच्छदार सुनसरी ३ बाट लगातार छैठौँ पटक विजयी हुनुभयो ।
उहाँको यो लगातार छैठौँ जित हो । नेपाली राजनीतिको केन्द्रमा रहनु भएका गच्छदारले यसपटक ३८ हजार नौ सय ७२ मत प्राप्त गर्नु भयो । उहाँका प्रतिस्पर्धी भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याउनु भयो । सुरुमा भगवतीले २७ सय सम्मको मतले अगाडि हुनुहुन्थ्यो ।
यसअघि २०७० सालमा भएको चुनावमा पनि भगवतीलाई हराँउदै गच्छदार विजयी हुनु भएको थियो । दोस्रो संविधानसभाको चुनावमा पनि गच्छदारले झिनो मतले हराउनु भएको थियो ।
गच्छदारको राजनीतिक इतिहास
विजयकुमार गच्छदार नेपाली कांग्रेसको तर्फबाट यो वर्ष छैटौं पटक चुनावी प्रतिस्पर्धामा आउनुभएको थियो । कांग्रेसबाट ०४८, ०५१ र ०५६ गरी तीनपटक सुनसरी ३ बाट सांसद भएका गच्छदार ०६४ मा मधेसी जनअधिकार फोरमबाट यो क्षेत्रसहित मोरङबाट समेत विजयी हुनु भएको थियो । २०७० सालको चुनावमा उहाँले फोरम लोकतान्त्रिकबाट सुनसरी ३ मै चुनाव जित्नुभयो ।
गच्छदारको जन्म २०१० साल माघ १९ गते सुनसरी ८ पचरामा भएको हो । बुबा शिरु गच्छदार र आमा खुतलीदेवी थारुबाट जन्मेका गच्छदारका १ छोरी २ छोरा छन् । इतिहासमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनी गर्नु भएको थियो ।
२०६४ सालको संविधानसभा चुनावमा गच्छदारले चाहेका केही मान्छेलाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले टिकट दिन नमानेपछि उहाँ मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । फोरमकातर्फबाट सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित गच्छदारले पछि पार्टी फुटाएर फोरम लोकतान्त्रिक गठन गर्नुभयो र त्यसको अध्यक्ष हुनुभयो ।
तर अहिलेको चुनावमा उहाँ आफ्नो पुरानै पार्टी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ र पुरानै क्षेत्र सुनसरी ३ बाट उम्मेदवार बन्नुभएको छ । झण्डै १० वर्ष पछि नेपाली कांग्रेसमै फर्किएका गच्छदार अहिले उपप्रधान तथा स्थानीय विकास मन्त्री समेत हुनुहुन्छ ।
२०४८ सालपछि अहिलेसम्म १२ पटक मन्त्री भइसकेका गच्छदार चार पटक उपप्रधानमन्त्री बन्नुभएको छ । २०४८ सालमा सञ्चार राज्यमन्त्री, ०५२ निर्माण तथा यातायात मन्त्री, ०५४ निर्माण तथा यातायात मन्त्री, ०५५ निर्माण तथा यातायात मन्त्री, ०५६ पर्यटन तथा नागरिक उड्ययन मन्त्री, ०५६ जलस्रोत मन्त्री, ०५८ जलस्रोत मन्त्री, ०६५ भौतिक योजना तथा निर्माण मन्त्री, ०६६ उपप्रधान तथा भौतीक योजना तथा निर्माण मन्त्री, ०६८ उपप्रधान तथा गृहमन्त्री, ०७२ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, ०७४ मा उपप्रधान तथा स्थानीय विकास मन्त्री बन्नुभयो ।
राजनीतिक यात्राका क्रममा साढे ६ वर्षभन्दा बढी जेल जीवन बिताएका गच्छदार २०६४ सालको संविधानसभा चुनावामा नेपाली कांग्रेसका अगमलाल चौधरीलाई पराजित गर्दै २३ हजार ७ सय ६९ मत ल्याएर विजयी हुनु भएको थियो ।