काठमाडौँ । कोरोना संक्रमण भएपछि होम-आइसोलेसन बस्ने ठाउँ भएन, वा होम आइसोलेसनमा बसिरहेको व्यक्तिलाई समस्या बढ्दै गयो भने के गर्ने?

धेरैलाई यसबारे अलमल र दुविधा हुन सक्छ।

काठमाडौंमा त झन् आइसोलेसन कहाँ छ, कुन अस्पतालमा बेड खाली छ वा भेन्टिलेटर भएको ठाउँ कहाँ खाली  छ भन्ने कुराको जानकारी नहुँदा संक्रमित र उनीहरूका परिवार हतास हुनु स्वभाविक हो।

स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमितलाई कुनै पनि सहयोग चाहियो भने आफूलाई फोन गर्न भनेको छ।

स्वास्थ्य मन्त्रालयले आफ्नो सूचना शाखाका २ हटलाइन नम्बर  ११३३, १११५ वा मोबाइल नम्बर ९८५१२५५८३९ मा फोन गर्न भनेको छ। फोन गर्न आफूलाई चाहिएको जुनसुकै बेला पनि गर्न सकिन्छ।

‘केही गर्नुपर्दैन। तपाईंले उल्लेखित नम्बरमा फोन गर्नुहोस्। जतिबेला गरे पनि हुन्छ। त्यसमा फोन गरेर आफ्नो समस्या भन्नुस्,’ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले भने।

यो सुविधा काठमाडौं उपत्याकामा मात्रै हो।

तर आफू वा आफन्तलाई गाह्रो हुनेबित्तिकै आफैंले आइसियू वा भेन्टिलेटर  खोज्न नहुने  अधिकारीले बताए।

पहिले मन्त्रालयमा फोन गरेर आफूलाई के भएको हो समस्या सुनाएपछि उनीहरूले भनेको ठाउँमा जान उनी सुझाउँछन्।

‘तपाईं आइसियू, भेन्टिलेटर नखोज्नुस्। छैन, तपाईं बेड खोज्नुस्, अस्पताल खोज्नुस् जहाँ भेटिन्छ त्यहाँ जानुस्,’ उनले भने, ‘त्यसपछि स्वास्थ्यकर्मीले के गर्ने भन्नुहुन्छ, त्यहीँ जानुहोस्।’

कोही बिरामीले फोन गरेर आइसियू चाहियो भनेको आधारमा मन्त्रालयले आइसियूमा पठाउँदैन। किन भने सम्बन्धित बिरामीलाई आइसियू नचाहिन पनि सक्छ।

‘आइसियू चाहियो भनेर हुन्न खास एकैचोटि भन्टिलेटर नै चाहिन सक्छ,’ उनले भने, ‘त्यसैले हामी तपाईंलाई पहिले स्वास्थ्य संस्था पठाउँछौं। त्यहाँ गएपछि स्वास्थ्यकर्मीले भन्नुहुन्छ के चाहिन्छ भनेर।’

मन्त्रालयको उक्त फोन उठाउने एक कर्मचारीले कसैको फोन आएमा आफूहरूले पहिला संक्रमितको अवस्था सोध्ने गरेको बताए।

उनका अनुसार अक्सिजन लेभल कति छ, अन्य लक्षणहरू के छन् भन्ने कुरा सुरूमा सोध्छन्। त्यसपछि अस्पतालको सूची खोज्छन् र डाक्टरहरूलाई फोन गर्न थाल्छन्।

‘उहाँहरूले फोन गरेपछि हालचाल सोध्नु हाम्रो पहिलो काम हो। संक्रमितका लक्षण र अन्य विवरण टिपेपछि हामीले विभिन्न अस्पातलका फोकल पर्सनहरूलाई पालैपालो फोन गर्छौं,’ उनले भने, ‘जुन अस्पतालमा आइसियू खाली छ भन्छ हामीले मानिस पठाइदिन्छौं भनेर सूचना दिन्छौं। त्यसपछि यता बिरामीलाई फोन गरेर उक्त अस्पतालमा जान भन्छौं।’

बिरामी आफैं अस्पताल जान चाहेमा आफैं जान सक्ने र एम्बुलेन्स माग गरेमा खाली भएसम्म आफूहरूले नै पठाइदिने पनि उनले बताइन्।

आइसोलेसन आइसियू वा भेन्टिलेटरमात्र होइन ती नम्बरहरूमा एम्बुलेन्स चाहिए पनि फोन गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया