कृष्ण दुलाल
महाचिव
अटोमोबाइल एसोसिएसन

नेपालका राजनीतिक दलहरूले आर्थिक समृद्धिलाई मुख्य नारा बनाएका छन् । र, नागरिकलाई व्यवसाय गर्नका लागि प्रोत्साहन गरिरहेका छन् । पछिल्लो समय थुप्रै युवा व्यवसायतर्फ आकर्षित भएका पनि छन् । तर, व्यवसाय गर्ने सोचमा भएका कतिपय अन्योलमा हुन्छन् । उसो भए कसरी बन्ने त सफल व्यवसायी ? यसबारे विश्वास खड्काथोकीले सफल व्यवसायी कृष्ण दुलाललाई सोधेका छन् :

जुकसुकै व्यवसाय गर्नुपूर्व त्यसबारे ज्ञान हुन जरुरी छ । सम्बन्धित व्यवसायबारे कम्तीमा ६ महिना अध्ययन अनुसन्धान गर्नुपर्छ । त्यसपछि मात्र व्यवसायलाई अगाडि बढाउनुपर्छ ।

अनुसन्धानपछि आफ्नो व्यवसायको बारेमा प्रपोजल बनाउनुपर्छ । बजार बुझेर त्यसको प्रोडक्टको कस्ट र बिक्रीबारे मूल्य तय गर्नुपर्दछ । सकेसम्म अनुभव भएको क्षेत्रमा व्यवसाय गर्दा सफल बन्न सहज हुन्छ ।

त्यसपछि व्यवसाय गर्नका लागि पुँजीको कुरा आउँछ । लगानीका लागि पैसा पाउन पहिलेको जस्तो गाह्रो छैन । विभिन्न बैंक खुलिरहेका छन्, उनीहरूले लोन दिन्छन् । यदि राम्रो प्रपोजल भयो भने कसैको खुट्टा मोल्नुपर्दैन । बैंक र सहकारीले सजिलै लगानी गर्छन् । दुई लाखसम्म विनाधितो लोन दिन्छन् र त्योभन्दा बढी रकमका लागि भने धितो राख्नुपर्ने हुन सक्छ ।

व्यवसायमा सफल बन्नका लागि आर्थिक अनुशासन अपरिहार्य हुन्छ । जस्तै, समयमा बैंकलाई लोन तिर्ने, डिल गरेका मान्छेहरूसँग इमानदारीसाथ प्रस्तुत हुने । यदि समयमै लोन तिर्न सकियो भने बैंक थप लगानी गर्न पनि उत्सुक हुन्छ ।

आर्थिक अनुशासनसँगै कुशल व्यवस्थापन पनि उत्तिकै महŒवपूर्ण हुन्छ । कस्टुमरको हितमा रहेर व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्नुपर्दछ । अरू कारण देखाएर आफ्नो व्यवसायलाई कहिल्यै पनि बेवास्ता गर्नु हुँदैन । समय व्यवस्थापन गरेर व्यवसायलाई नियमति रूपमा समय दिन जरुरी हुन्छ ।

त्यसपछि मार्केटिङको कुरा आउँछ । मार्केटिङ गर्दा स्वभाव राम्रो हुनु जरुरी हुन्छ । प्रचार प्रसार, नम्र शैलीमा आफ्नो प्रोडक्टबारे कस्टुमरलाई जानकारी गराउनुपर्दछ । एकाउन्टेबल मार्केटिङ हुन आवश्यक छ ।

व्यवसायीले कस्ट अफ प्रोडक्सन र बजार मूल्यलाई उचित ढंगले व्यवस्थापन गर्नुपर्दछ । कति नाफा लिने र कस्तो सामग्री उत्पादन गर्ने भन्ने विषयमा ध्यान दिन जरुरी हुन्छ ।
मार्केटिङ गर्दा स्किमका कुरा पनि आउँछन् । कुनै व्यवसायीले घाटा खाएर स्किम दिने होइन ।

आफ्नो नाफाको केही प्रतिशत स्किमका लागि छुट्याउने हो । र, त्यो स्किम प्रभावकारी हुन जरुरी हुन्छ । स्किमले सामान सित्तैमा आएको जस्तो भान गराउन सक्नुपर्दछ ।

कर्मचारी व्यवस्थापनलाई पनि ध्यान दिनुपर्दछ । कर्मचारीलाई नियमित तालिम दिने, योग्यताअनुसारको तलब वृद्धि गर्ने, सञ्चयकोषको व्यवस्था गर्ने, नियमित बिदा दिनेजस्ता कम्पनीको नियमलाई पालना गर्नुपर्दछ । कर्मचारीलाई स्वावलम्बी हुने ढंगले काम सिकाउँदा व्यवसायलाई पनि फाइदा गर्छ । यसो गर्दा कर्मचारी पनि दक्ष बन्दै जान्छन् र व्यवसायलाई पनि हित गर्छन् । दक्षता हासिल गरेका कामदार कुनै ठाउँमा काम गर्न जान्छ भने पनि चित्त दुखाउनुहुँदैन ।

एउटै व्यवसायबाट धेरै मुनाफा कमाउँछु भनेर सोच्नु हुँदैन । त्यसले कालान्तरमा हानि पुर्‍याउन सक्छ । त्यसैले, क्वालिटीयुक्त सामग्री बजारमा पठाएर ठूलो मात्रामा प्रोडक्ट बेच्नुपर्दछ । र,
बिस्तारै व्यवसायको लगानी र आकार बढाउँदै गएमा मुनाफा पनि आफैँ बढ्ने गर्दछ ।

नयाँ पत्रिकाबाट ।

तपाईको प्रतिक्रिया