काठमाडौं । कांग्रेसका नेताहरुको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

कांग्रेसले सोमबार केन्द्रीय कार्यालयबाट एक सय ५९ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गराएको थियो । त्यसमध्ये एक सय ३१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अब २८ जनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालय सचिव प्रेम केसीले जानकारी दिए ।

समसामयिक राजनीतिक विषयहरु र पार्टीको १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बुधबार कांग्रेसको केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

बैठकको शिलशिलामा पार्टी कार्यालयमा भीड जम्मा हुँदा संक्रमणको जोखिम हुने भएकाले सम्भावित जोखिम कम गर्न पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी र नेताका सचिवालयमा कार्यरत नेताहरुको एकैपटक पीसीआर टेष्ट गराएको हो । कोरोना परीक्षणकै लागि सोमबार २ बजेका लागि बोलाएको बैठक स्थगित गरेको थियो ।

तपाईको प्रतिक्रिया