काठमाडौं  ।  पाकिस्तानको क्वेटा सहरस्थित एक होटलमा बम विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्।

अन्तर्राष्ट्रिय  सञ्चारमाध्यमका अनुसार क्वेटा सहरको चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा बम विस्फोट भएको  हो।

उच्च ओहोदाका सरकारी अधिकारी आउजाउ गर्ने सेरेना होटल पाकिस्तानमा चर्चित छ। बम विस्फोट राति साढे १० बजे भएको थियो। घटनाको  जिम्मेवारी तहरिक–ए तालिबानले लिएको छ।

विस्फोटमा मृत्यु हुने होटलका म्यानेजर र एक प्रहरी हवल्दारसमेत छन्। बम विस्फोट कारबाट गराइएको  थियो।

पाकिस्तानका प्रान्तीय गृहमन्त्री जियाउल्लाह लंगोवले  घटनामा आफ्नै नागरिकहरू संलग्न भएको बताएका छन्।

पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री फवाद चौधरीले घटनाबारे अध्ययनअनुसन्धान भइरहेको भन्दै सरकारले विस्फोटमा संलग्नलाई कारबाही गर्ने जनाएका छन्।

चिनियाँ राजदूत नोङ् रोङ पाकिस्तान भ्रमणमा रहेको मौका पारी विस्फोट गराइएको थियो। विस्फोटमा राजदूतलाई कुनै हानि नभएको जियाउल्लाहले बताएका छन्। चिनियाँ राजदूत क्वेटा सहरमा रहे पनि  होेटलमा भने थिएनन्।

क्वेटा सहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तान नजिक पर्छ। बलुचिस्तानका ठूला परियोजनामा चीनले प्रशस्त लगानी गरेको छ। त्यसैको विरोधमा पृथकतावादीहरूले बम विस्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ।

पाँचतारे होटल सेरेना सुविधासम्पन्न भएकाले पर्यटक र उच्च ओहदाका अधिकारीहरूको रोजाइमा पर्ने गरेको छ। डीडब्ल्यूबाट

तपाईको प्रतिक्रिया