काठमाडौँ । गैरआवासीय नेपाली संघले १० अर्ब लगानी भित्र्याउने अठोटका साथ ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’को स्थापना गरेको छ ।  संघको प्रयास र नेपाल सरकार अर्थ मन्त्रालयको समन्वयमा ०७७ चैत ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेड’ दर्ता भइसकेको छ । यो कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ रहेको छ ।

जसमा नेपाल सरकारले ५ प्रतिशत अर्थात् ५० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै तीन अर्बको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धतासमेत प्राप्त भइसकेको संघले जनाएको छ । फन्डबारे जानकारी दिने उद्देश्यले सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरूको बीचको पुँजीलाई नेपालमा भित्र्याई उत्पादनमूलक र रोजगारीमूलक क्षेत्रका आयोजनामा लगानी हुने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीको पुँजी मात्रै भित्र्याउने भन्दा पनि वैदेशिक लगानी भित्र्याउनका लागि लगानी दूत भएर काम गर्न सुझाब दिए । यसरी लगानी भित्र्याउँदा कालोधन हुन नहुने, बैंकिङ प्रणालीमार्फत मात्रै रकम ल्याउन र राष्ट्रिय प्राथमिकताका आयोजनामा लगानी गर्ने गरी ल्याउनेतर्फ ध्यान दिन पनि आग्रह गरे ।  वैदेशिक लगानी भित्रिने सुनिश्चित भए सरकारले अनुकूल वातावरण निर्माण गरिदिने प्रतिबद्धता पनि अर्थमन्त्री पौडेलले व्यक्त गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीले व्यक्तिगत रूपमा धेरै अगाडिदेखि लगानी गर्दै आएको भए पनि सन् २०१२ देखि सामूहिक रूपमा लगानी भित्र्याउन सुरु गरेको बताए ।  अहिले पनि १० अर्ब रुपैयाँ सामूहिक लगानी गरी देशको विकास पूर्वाधारहरूमा लगानी गर्ने योजनाअनुसार काम सुरु गरिएको बताए ।

केही वर्षभित्रमा यो फन्डलाई बढाएर ५० अर्बभन्दा माथि पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गरे । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले १० अर्ब रुपैयाँबाट सुरु भएको फण्डलाई एक खर्ब पुर्‍याउने योजना रहेको पनि बताए ।  सो फन्डमार्फत पुँजी र प्रविधि मात्रै भित्रिने नभई कर्पोरेट कल्चर, गुड गभर्नेन्स र ट्रान्सफरेन्सी पनि भित्रिने बताए ।  त्यसका लागि नेपाल सरकारको साथ र सहयोग आवश्यक रकेको पनि बताए ।

एनआरएन नेपाल डेभलपमेन्ट फन्डले नेपालको उद्यम, व्यवसाय, यातायात, पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्य राखेको छ । कोष निर्माणका लागि गैरआवासीय नेपालीलाई लक्षित गरी प्राथमिक सेयर (आइपिओ) निष्कासन गरिनेछ ।

तपाईको प्रतिक्रिया