तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारदेखि पर्यटकीय तथा धार्मिक तिर्थस्थल चिचिलिङ पोखरीसम्म पुग्ने सडक निर्माण भएको छ । सदरमुकाम म्याङलुङबाट करिब एक दिनको पैदल दुरीमा अग्लो डाँडाबीच रहेको यो पोखरी दृश्यावलोकन गर्ने र वनभोज खाने स्थलको रुपमा पुर्वमै सुपरिचित छ ।

पोखरी परिसरसम्म पुग्न गाउँपालिकाको केन्द्र पोक्लाबाङदेखि भ्यागुत्ते ढुंगा सम्मको ४.२ कि.मि. सडक निर्माण भएको हो । पोखरीसम्म हालसालै सवारी सञ्चालन गर्न सहज होस् भन्ने ध्येयले समेत ट्रयाक ओपनसँगै ७ मिटर चौडाईको सडक निर्माण गरिएको सडक निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष नगेन्द्र बहादुर थापाले बताउनुभयो ।

सडक निर्माणका लागि फेदाप गाउँपालिकाको कार्यालयले चालु आर्थिक वर्षमै ३० लाख रुपैयाँ विनियोजन गरेको थियो । करिब २१ सय मिटरको उचाईमा रहेको पोखरीमा बाहै्र महिना पानी रहन्छ । यहाँ घुम्न आउन चाहने पर्यटकहरुलाई सहज होस् भनेर सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङवाङले बताउनुभयो ।

अब छिट्टै नजिकै रहेको भैसेपोखरीसम्म समेत सडक निर्माण गरिने उनको भनाई छ । यहाँ हरेक वर्षको विभिन्न चाडपर्व र नयाँ वर्षको दिन विशेष घुँइचो लाग्ने गर्छ । तर जिल्लाकै पर्याप्त पर्यटकीय स्थल बन्ने सम्भावना भएर पनि संरक्षण नहुँदा यो पोखरी ओझेलमा रहेको छ । चिचिलिङ नजिकै रहेको डाँडाबाट पुर्वका विभिन्न जिल्लाका आकर्षक दृश्यहरुको अवलोकन समेत गर्न सकिन्छ ।

विगतमा पोखरीको संरक्षणका लागि तत्कालिन जिल्ला विकास समिति तथा सम्बन्धित निकायहरुले सहयोग नगरेको भन्दै गाउँपालिकाले प्राथमिकतामा राखेर यस क्षेत्रको पर्यटन विकासमा लगानी थालेको हो । पोखरीको संरक्षण नहुँदा वर्षेनि पानीको सतह भने घट्दै गइरहेको छ ।

तपाईको प्रतिक्रिया