तेह्रथुम, २६ मंसिर । गाउँमै दुग्ध चिस्यान केन्द्र खुलेपछि तेह्रथुमको छथर गाउँपालिका–४, फाक्चामाराका पशुपालक किसान हर्षित भएका छन् । आफ्नै घर नजिकै दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि किसानले उत्पादन गरेको दुध खेर नजाने भएको हो ।
किसानले आफुलाई आवश्यक दुध घरमा राखेर बाँकी सबै विक्री गर्न पाउने भएका छन् । दुध भण्डारनका लागि चिस्यान केन्द्र नहुँदा यो गाउँका किसानहरु उज्यालो नहुँदै दुध बोकेर शुक्रबारे बजारतिर कुद्न बाध्य थिए । अब गाउँमै खुलेको दुध चिस्यान केन्द्रमा दुध जम्मा गरेर विक्री गर्न सहज भएको किसानले बताएका छन् ।
पशुपालक किसानहरुलाई लक्षित गरेर जिल्लामा सन्चालित उन्नति परियोजनाको सहयोगमा स्थानीय सिंहदेवी पशुपालक कृषक सहकारी संस्थाले चिस्यान केन्द्र स्थापना गरेको हो । चिस्यान केन्द्रमा स्थानीय किसानको समेत लगानी रहेको छ । गाउँका पशुपालक किसानहरुले पाँच वर्षअघि नै गाउँमै सहकारी खोलेका थिए ।
पशुपालन र उत्पादित दुग्धजन्य बस्तुहरुसँग सम्बन्धित समस्या उत्पन्न हुँदा सामुहिक रुपमा सुल्झाउने गरी स्थापना भएको सहकारीले अहिले किसानकै हितका लागि चिस्यान केन्द्र खोलेको सहकारीका अध्यक्ष सुर्यबहादुर कार्कीले बताउनुभयो ।
दुध चिस्यान केन्द्र सन्चालनका लागि कुल २१ लाख रुपैयाँ खर्च भएको छ । त्यसमध्ये १० लाख ५२ हजार रुपैयाँ उन्नति परियोजनाले अनुदान सहयोग गरेको अध्यक्ष कार्कीले बताउनुभयो । बाँकी १० लाख ४८ हजार रुपैयाँ भने किसानहरुबाटै जम्मा भएको रकम लगानी गरेर सहकारीले चिलिङ फ्याट नाप्ने मेसिन सहितको चिस्यान केन्द्र स्थापना गरेको उहाँले बताउनुभयो ।
‘गाउँमै चिस्यान केन्द्र स्थापना भएपछि किसानलाई दुध विक्री गर्न सहज भएको छ, अब दुध बोकेर टाढा कतै जान पर्दैनँ, बरु त्यो समय खर्चिएर अझ धेरै दुध उत्पादनमा ध्यान दिए हुन्छ,’ अध्यक्ष कार्कीले भन्नुभयो । यहाँका किसानले गाईपालन गर्ने, अनि दुध बेचेरै आम्दानी गर्ने र आर्थिक लाभ लिने ध्येयले जिल्लाबाहिर बाट उन्नत जातका गाई खरिद गरेर ल्याएका छन् ।
किसानले चार वर्षअघि नै धनकुटा र इलामका विभिन्न ठाउँबाट उन्नत जातका गाई खरिद गरेर ल्याएका र अहिले गाउँका अधिकांशले गाईपालन गरिरहेको सहकारीका व्यवस्थापक मनबहादुर कार्कीले बताउनुभयो । ‘यसअघि किसानले उत्पादन गरेको दुध बोकेर शुक्रबारे चिस्यान केन्द्र पु¥याउनु पथ्र्यो, अब यही जम्मा हुन्छ,’ व्यवस्थापक कार्कीले भन्नुहुन्छ ।
किसानले अहिलेपनि उन्नत जातका गाई खरिद गरेर दुध उत्पादनमा ध्यान दिइरहेका उहाँले बताउनुभयो । सहकारीमा फाक्चामारा गाउँमा गाई र भैँसी पालेर दुध उत्पादन गर्ने ५२ घरधुरी किसानहरु आवद्ध छन् । यसबाहेक यही गाउँका सगरमाथा र जनजागरण दुग्ध उत्पादक सहकारी संस्थाहरुले पनि उक्त दुग्ध चिस्यान केन्द्रमा दुध जम्मा गर्न थालेका छन् । अहिले दैनिक एक सय बढी किसानले दुध विक्री गर्दै आएका व्यवस्थापक कार्कीले बताउनुभयो । एक जना किसानले नै दैनिक २० लिटर सम्म दुध विक्री गर्ने गरेका छन् ।
‘थोरै ल्याउनेले पनि दैनिक ३–४ लिटर ल्याएकै छन्, बढीमा १५–२० लिटर ल्याउने धेरै छन्,’ उहाँले भन्नुहुन्छ, ‘चिस्यान केन्द्र खुलेपछि दुध बेचेरै घर चलाइरहेका किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ ।’ चिस्यान केन्द्र भवन निर्माण भएर र मेसिन समेत जडान भइसकेपछि भदौ १ गतेबाट केन्द्र सन्चालनमा समेत आइसकेको छ ।
किसानले हरेक दिन विहान ६ बजेदेखि ९ बजेसम्म केन्द्रमा दुध संकलन गर्छन् । किसानले दुधको प्रतिलिटर ३५ देखि ४८ रुपैयाँसम्म पाउँछन् । दुधमा हुने पानीको मात्रा र फ्याटको मात्राका आधारमा मुल्य दिइने गरेको छ । अहिले गाउँमै खुलेको चिस्यान केन्द्रमा किसानले दुध जम्मा गर्ने, चिस्याउने र विक्री गर्ने गर्दै आएका छन् । यहाँ जम्मा भएको दुध धनकुटाको हिले, धरान र विराटनगरसम्म पुग्ने गरेको छ ।