बाँके । बाँकेमा भारतबाट आएका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेको नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारतबाट आज नेपाल प्रवेश गरेका १४ जनालाई कोरोना भाइरस संक्रमणको आशंमा नमूना परीक्षण गर्दा नौ मा पुष्टि भएको हो ।

बाँकेमा आज भारतबाट नेपाल फर्किने कूल नेपालीमध्ये ६४ दशमलव २८ प्रतिशतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले बताए ।  उनका अनुसार नेपालगञ्जस्थित जमुनाह नाकामा सञ्चालन गरिएको स्वास्थ्य सहायता कक्षमा गरिएको नमूना परीक्षणमा भारतको गुजरात र दिल्लीबाट आएका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

भारतको गुजरातबाट आएका सात र दिल्लीबाट आएका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा सुर्खेतका छ तथा बाँके, दाङ र जाजरकोटका एक–एक जना छन् ।

भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल फर्किएकाबाट नेपालमा पनि कोरोना सङ्क्रमण तीव्रगतिमा फैलिनेतर्फ मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले गत चैत ११ गतेदेखि जमुनाह नाकामा स्वास्थ्य कक्ष स्थापना गरी नेपाल आउनेहरूको ज्वरो नाप्ने तथा शंकास्पद देखिएमा एन्टिजेन प्रविधिमार्फत कोरोनाको जाँच गर्दै आएको छ ।

भारतमा अहिले तीव्ररूपमा सङ्क्रमण बढेकाले रुपैडिहामा किनमेलका लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल–भारत सीमाक्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

बाँकेमा आज मात्रै १०६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा १९० जनाको स्वाब परीक्षण गर्दा १०६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया