प्युठान । नेपाल दलित संघ प्युठानका अध्यक्ष गोपाल विश्वकर्माले सामाजिक न्याय र समानताका लागि २० किमि दुरीको दौड गरेका छन् । नयाँ वर्ष ०७८ को सुरुवातसँगै मुलुकमा सामाजिक न्याय, न्याय, जातीय विभेद, छुवाछुत, महिला हिंसा, धार्मिक हिंसा जस्ता विभेदको अन्त्यका लागि विश्वकर्माले तीन घण्टामा २० किमि दौड पूरा गरेका हुन् ।

विश्वकर्माले प्युठान नगरपालिका–२ को क्वाडिदेखि माझगाउँसम्म दौड गरेका थिए । नयाँ वर्षसँगै सबै प्रकारका विभेद र हिंसाको अन्त्यका लागि आफुले दौड गरेको विश्वकर्माले बताए । ‘नयाँ वर्षलाई उत्सवका रुपमा लिने र लाखौँ खर्च गर्ने चलन छ, तर कसैले पनि समाजलाई न्याय, समानता र विभेदरहित समाज बनाउनु छ भनेर परिकल्पना गर्दैन,’ विश्वकर्माले भने, ‘मैले त्यही अभियानमा सबैलाई जोड्ने कोसिस गरेको हुँ ।’

विश्वकर्माले यसअघि नै समाज रुपान्तरणका लागि आफ्नो जीवनभरि अभियान नै सञ्चालन गर्ने प्रतिज्ञा गरेका थिए ।

उनले आफ्नो जीवनभरि हरेक वर्ष विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने, विभेदरहित समाजका लागि निरन्तर संघर्ष गर्ने, जाँड, रक्सी, धुम्रपान, कुलत, जुवा तास जस्ता कुलतमा नफस्ने, छोराछोरीबीच कहिले भेदभाव नगर्ने, छोराछोरीलाई सम्पत्तिभन्दा पनि शिक्षा दिक्षा दिनुपर्छ भन्ने अभियान चलाउने आदि अभियान चलाउने घोषणा गरेका छन् ।

उनले अन्तरजातीय विवाह गर्ने प्रयास गरेकै कारण रुकुम पश्चिममा छ जना युवाको हत्या भएको घटनामा विरोध जनाउँदै यसवर्ष दशैँतिहार समेत मनाएनन् ।

विश्वकर्मा संयुक्त राजनीतिक संघर्ष समितिका जिल्ला संयोजक समेत हुन् ।

तपाईको प्रतिक्रिया