काठमाडौँ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ। उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको शुक्रबार कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो।

नेकपा हुँदाखेरि नै तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सहकार्य गर्दै अगाडि बढिरहेकै बखतमा प्रतिनिधिसभा विघटन, त्यसको पुनःस्थापना र नेकपा नाम विवादमा सर्वोच्चले लिएको निर्णयसम्म आइपुग्दा एमाले र माओवादी केन्द्र पहिलाकै स्थितिमा पुगेका थिए। त्यसपछि पार्टीमै रहेर एकताका निम्ति पहल गर्ने निष्कर्ष नेपाल समूहले निकालेको थियो।

तर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफ्नो र महासचिव पद कायम रहने गरी केन्द्रीय किमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेर अन्य विभिन्न जिम्मेवारी तोक्ने क्रममा नेपाल समूहका नेताहरूलाई जिम्मेवारीविहीन बनाएका थिए।

त्यसपछि असन्तुष्ट र आक्रोशित बनेको नेपाल समूहले आफू पक्षीय नेता-कार्यकर्ताको राष्ट्रिय भेला नै गरेर समानान्तर कमिटी निर्माणलाई तीव्रता दिएका थियो।

नेपाल समूहको गतिविधिदेखि ओली पनि चिढिए। त्यसपछि उनले स्पष्टीकरण सोध्नेसम्मको कमद चालेका छन्। ओलीले नेता नेपालसहित चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आँकलन भइरहँदा नेपाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय लिनुलाई अर्थपूर्ण रूपमा लिन सकिन्छ।

नेपाल समूहले संसदीय दलको बैठकमा जाने निर्णय गरिसकेको छ। नेपाल समूहका एक नेताले बैठकपछि एमालेभित्रै बसेर पार्टीलाई बलियो, गतिशील बनाउन र विधि पद्धितिमा चलाउने विषयमा जोड दिन संसदीय दलमा भाग लिएर आफ्ना कुरा राख्ने निर्णय गरिेएको बताए।

तपाईको प्रतिक्रिया