काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले नेपालका कम्युनिष्टहरुको शब्दकोषमा नैतिकता भन्ने शब्द नरहेको टिप्पणी गरेका छन् । ‘कम्युनिष्टहरु खोक्रो आदर्श र नैतिकता देखाउँछन् तर व्यवहार त्यस्तो छैन, एमाले र माओवादीले जनताले दिएको म्याण्डेड त पूरा गर्न सकेनन् नै,’ नेता सिंहले भने, ‘यसपटक पनि नैतिकता नभएको पुष्टि भएको छ, लाग्छ कि कम्युनिष्टहरुको शब्दकोषमा नैतिकता भन्ने शब्द नै छैन ।’

नेता सिंहले अघिल्लो आम निर्वाचनमा दुवै पार्टीले मिलेर जनमत लिएकाले त्यसका लागि दुवै जिम्मेवार भएको बताए । ‘ओलीले असंवैधानिक काम गरे, तर त्यसको भागिदार एमाले र माओवादी पार्टी दुवै हुन्,’ उनले भने, ‘यस्तो बेला नैतिकताहिन सरकारको विकल्प खोज्नुपर्ने हो, तर कांग्रेस एक्लैले यो सरकारको विकल्प खोज्न सक्दैन ।’

नेता सिंहले आइतबार आफ्नै निवासमा विश्वकर्मा समाजका केन्द्रीय अध्यक्ष गोपाल विश्वकर्मा समेतलाई पार्टी प्रवेश गराउँदै कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर वैकल्पिन सरकार बनाउनुपर्ने बताए ।

‘यो सरकारको विकल्प खोज्न कांग्रेसले भूमिका खेल्नुपर्छ, तर त्यसका लागि कांग्रेस एक्लैले पुग्दैन, माओवादी र जसपाको साथ लिनुपर्छ,’ उनले अघि भने, ‘त्यसकालागि माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिनुपर्छ, जसपा पनि वैकल्पिक सरकारका लागि तयार हुनुपर्छ, त्यो परिस्थिति अहिले बनिसकेको छैन।’ नेता सिंहले कांग्रेसले देशलाई हरेक संकटबाट जोगाउन महत्वपूर्ण जिम्मेवारी बहन गर्दै आएको बताए । ‘कम्युनिष्टले देशलाई संकटमा पु¥याउने काम मात्रै गर्छन्, तर कांग्रेसले संकटमा पनि जिम्मेवारपूर्ण भूमिका खेलेर संकटबाट बचाउन काम गर्दछ,’ उनले भने ।

नेता सिंहले विश्वकर्मा समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्मा सहित १८ जना नेताहरुलाई पार्टी प्रवेश गराएका छन् । समाजको राष्ट्रिय अध्यक्ष विश्वकर्मा पुर्व डिएसपी समेत हुन् ।

कांग्रेस प्रवेश गर्नेमा सुष्व नकर्मी, विष्णुभक्त बराइली, गोपाल विश्वकर्मा, राजेन्द्र विश्वकर्मा, दुर्गा सेञ्जुरी, मच्छिन्द्र विश्वकर्मा, खड्गबहादुर विश्वकर्मा, मानबहादुर कालिकोटे, लक्ष्मण रसाइली, पूर्ण विश्वकर्मा, दलबहादुर सुनार, धनबहादुर विश्वकर्मा, रुद्रबहादुर विश्वकर्मा, जीवा विश्वकर्मा लगायत छन् । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, सांसद प्रकाश स्नेही, काठमाडौं कांग्रेसका सभापति सबुज बाँनियाँ सहभागी थिए ।

तपाईको प्रतिक्रिया