प्रकाश पाक्साँवा, 

तेह्रथुम । उमेर बढ्दै जाँदा दाँतको समस्याले सताएर ज्येष्ठ नागरिकहरुले निर्ढुक्क खानेकुरा खान पाउदैनन् । ग्रामीण भेगमा आर्थिक समस्याकै कारण ज्येष्ठ नागरिकहरुले मनको रहर मानुपर्ने अवस्था हुन्छ । तर, यहाँको छथर गाउँपालिकाबासी ज्येष्ठ नागरिकले अहिले त्यो समस्या भोग्नुपरेको छैन ।

गाउँपालिकाले ज्येष्ठ नागरिकलाई मन लागेको खानेकुरा खान सक्ने गरी ‘दन्त उपहार’ कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक अभाव र स्वास्थ्य संस्थाहरुको पहुँचमा नभएकै कारण दाँतको समस्याबाट ग्रसित हुन नपरोस् भनेर गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई उपहारमा दाँत लगाइदिने कार्यक्रमअन्तर्गत घुम्ती शिविरमार्फत् सेवा दिएको हो ।

गाउँपालिका क्षेत्रका आमाबुवाहरुलाई दाँतकै कारण मन लागेको खानेकुरा खान नपाउने अवस्था आउन नदिन दन्त उपहार कार्यक्रम सञ्चालन गरेको अध्यक्ष सन्तवीर लिम्बूले बताए । दाँत लगाउन पाएपछि स्थानीयबासी ज्येष्ठ नागरिकहरु पनि खुसी भएका छन् । स्थानीय गुमानसिंह कार्की दाँत लगाएपछि अब मन लागेको खानेकुरा खान कसैले नछेक्ने बताउँछन् ।

गाउपालिकाले हेल्पिङ युथक्लब इटहरीको सहकार्यमा शिविर सञ्चालन गरी दन्त उपहार कार्यक्रम चलाएको हो । गाउँपालिकाले वार्षिक कार्यक्रममै राखेर दन्त उपहार कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाका अध्यक्ष लिम्बूले लोकप्रियताका लागि त्यस्तो कार्यक्रम सञ्चालन नगरेको दाबी गरे ।

‘यो लोकप्रियताका लागि होइन, ज्येष्ठ नागरिक भनेका हाम्रा सम्पत्ति हुन्, इतिहास हुन् । उनीहरुको चाहाना पूरा गर्नु स्थानीय सरकारको दायित्व हो,’ उनले भने, ‘उहाँहरुको स्वास्थ्य सुन्दरताका लागि यो कार्यक्रम बनाएका हौँ ।’

गाउँपालिकाले सञ्चालन गरेको तीन दिने शिविरमा ७१ जनाले दाँत सेट पाएका छन् । शिविरमा दाँतको समस्या लिएर आएका एक सय जनालाई चार सय ५६ वटा दाँत लगाइदिएको छ । यस्तै, दुई सय जना सेवाग्राहीको तीन सय २७ वटा किराले खाएका, जरा रहेका आदि दाँत निकालिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकारी दिए ।

उनका अनुसार शिविरमा तीन सय ४२ जना ज्येष्ठ नागरिकले दाँत निकाल्ने, नयाँ दाँत लगाउने लगायत सेवा लिएका छन् ।

 

तपाईको प्रतिक्रिया