दाहिने हातले बाँचेका छन् चुडामणी बाँस्कोटा । देब्रे एउटा हातको औंला नै छैन । सिर्फ एक हातले उनले चमत्कार गरिरहेछन् । बाँसको सामान बनाउने कलाकार हुन् चुडामणी ।
हो, कलाकार । तर, औंलाको सीपले सामान बनाउनुपर्ने यी कलाकारको एउटा हातको औंला नै छैन । उनको औंला दैवले नभएर दुर्भाग्यले खोसेको हो ।
पहिले यी कलाकारको औंला गुमेको व्यथा बर्णन गरौं, अनि त्यसपछिको लोभलाग्दो सफलता लेखौंला ।
चुडामणीमा ग्रहण
पाँचथरको फिदिममा ०४० सालमा जन्मिएका चुडामणीले ०६९ मा दस कक्षा पास गरे अनि पढाईमा बीट मारे । कारण हो गरिबी । ०६० सालमा बिहे गरे सीता आचार्यसँग । छोरी जन्मियो, अंशवण्डा गरेर बेग्लै बस्न थाले।
जनयुद्धकाल थियो, संकटकाल लागेको थियो, मुलुकलाई चरम निराशाले गाजेको बेला थियो । मलेशिया जाने भए । उड्ने अघिल्लो दिन काठमाडौंको एउटा होटलमा बसेका थिए। होटल नजिकै वम पड्कियो । त्यो वम देशको शान्ति विथोल्न मात्र नभएर चुडामणीको जीवन विथोल्न पनि पड्किएको रहेछ ।
केही बेरपछि उनको ढोका ढक्ढक् गर्यो । ढोका खोले । ढोकामा दुभाग्य देखियो अर्थात् सैनिकहरु थिए । उनी पक्राउ परे । उनी माओवादी भएको शंका गरियो ।
मलेशिया जान कसरी रकम जुटाएका थिए भन्ने वर्णन गरिरहन नपर्ला । भोलिपल्ट उड्न पाएनन् । उता गाउँमा काखे छोरी बोकेर पत्नी सीता पति चुडामणी विदेश पुगेको खबर सुन्न पर्खिरहेकी थिइन् । यता चुडामणी हिरासतको कालकोठरीमा यातना भोगिरहेका थिए।
निर्दाेष थिए, छुटे । तर, चुडामणी डुबिसकेका थिए, विदेश जान लगानी गरेको रकम डुब्यो, विदेश जान पाएनन्। त्यतिमात्र नभएर राहदानी पनि म्यानपावर कम्पनीको अफिसमा फेला परेन ।
आर्थिक संकटको कुनै सीमा थिएन, विजोग हालत भयो । परिवार पाल्न धौधौ भयो । विदेश जाने सोंचे तर राहदानी हराइसकेको थियो, म्यानपावरलाई बुझाउने रकम थिएन ।
केही उपाय लागेन । जसोतसो गरेर फेरी विदेश उड्ने चक्कर थाले। काठमाडौं आए । अचम्म भयो, त्यही म्यानपावरको अफिसमा १७ महिनापछि राहदानी भेटियो । २०६२ सालमा मलेशिया पुगे। त्यहाँ पुग्दा उनको साथमा सुन्दर सपना थियो।
तर, स्वप्निल दुनियाँ दुस्वप्नमा परिणत भयो । उनलाई अवैध रुपमा मलेशिया पुराइएको रहेछ । त्यहाँको गैरकानुनी कम्पनीमा काम लगाइयो। काम असाध्यै गाह्रो, मेसिनमा काम गर्नुपर्ने, सानो भुलचुकले पनि ज्यान जान सक्थ्यो। अवैध कम्पनी भएपनि, अवैध कामदार भए पनि मासिक ४० हजार रुपैयाँ कमाउँथे।
०६२ सालको दशैंको टिकाको दिन थियो। बिहानै घरपरिवारसँग फोनबाटै टिका मनाएर काममा गए। बिहान ११ बजेको थियो, ड्यांग आवाज आयो। मेसिन पड्कियो। सँगै काम गर्ने साथीको गर्दन छिन्यो। चुडामणीको हात रक्ताम्य भयो।
अवैध कम्पनी र अवैध कामदार भएकाले चार दिनपछि मात्र उनको उपचार सुरु भयो। तीन महिनापछि अस्पतालबाट निस्कँदा दाहिने हात ठुटामा परिणत भइसकेको थियो। औंला थिएन । गरिखाने औंला गुमाएका हतास निराश चुडामणीसँग स्वदेश फर्कने उपाय पनि थिएन।
नेपालीहरुको शरणमा भौंतारिँदै हिँड्न थाले।
ज्यूँदो चिता
मलेशियामा नेपाली श्रम साप्ताहिक नामक पत्रिका भेटे । पत्रिकाको कार्यालय गए। ज्यूँदो चिता भन्ने भावुक रचना पत्रिकामा छपाए । पत्रकारहरुसँग चिनजान भयो। उनी बिस्तारै पत्रकार पो बने । अवैध पत्रकारका रुपमा मलेशियाका विभिन्न ठाउँ घुमेर ११ महिना बिताए । त्यसपछि नेपालबाट पठाउने म्यानपावर कम्पनीले स्वेश फर्कने परिपंच मिलाइदियो।
तर, दुःखको कुनै सीमाना हुँदैन ।
स्वदेश त फर्किए तर के गर्ने ? कसरी बाँच्ने ? कसरी परिवार पाल्ने ? अपांगका रुपमा मानिसहरुको अवहेलना महशुस गर्न थाले । घर बाहिर कतै निस्कन मन लाग्दैनथ्यो, आर्थिक समस्या विकराल थियो। सडक विभागमा कुल्ली काम गर्न थाले। एक हातले कुल्ली काम गर्न सजिलो थिएन ।
उनको पीडा भावुकतामा रुपान्तरण भयो। डायरीमा कविता लेख्न थाले। तर, कविताले परिवारको पेट पालिँदैनथ्यो।
साँच्चै नै ज्यूँदो चिता जस्तै भयो जीवन ।
झमक कुमारीसँग भेट
चरम निरासाबीच पनि जीवन जेनतेन चलिरहेको थियो। जीवन भन्ने चिज नै यस्तै हो, चलिरहन्छ । कसरी चल्छ भन्ने चाहिँ मुख्य कुरा हो ।
२०६७ सालको कुरा हो ।
उनको हातमा पर्यो झमककुमारी घिमिरेको जीवन काँडा कि फूल कृति । झमककुमारी शारिरीक रुपमा आफूभन्दा अशक्त भन्ने थाहा पाए। छक्कै परे । झमककुमारीलाई भेट्न गए। उनलाई आफ्नो ठुटे हात देखाए।
झमकुकारीले भनिन्, ‘मलाई हेरेर हरेश नखाऊ ।’ त्यसपछि चुडामणीको दुनियाँ बदलियो ।
मेहेनतको रचना
पाँचथरमा सिर्जनशील अपाङ्ग सेवा संघ गठन गरेर अध्यक्ष बने। अपांगता भएकाहरुको संघसंस्थामा लाग्न थाले, सम्बन्ध सम्पर्क बढ्न थाल्यो। नयाँ कुरा सिक्न थाले। आफूभन्दा शारिरीक रुपमा अशक्तहरुलाई देखे, भेटे। एउटा हात नभए पनि जीवनमा धेरै काम गर्न सक्छु भन्ने आत्मविश्वाश जागृत हुन थाल्यो।
घरेलु विकास समितिले बाँसका सामान बनाउने तालिम दिने थाहा पाए । तालिम लिन गए। तर, एक हातको भरमा बाँसका सामान बनाउन नसकिने भन्दै उनलाई तालिम दिइएन ।
आफै बाँसका सामान बनाउन थाले । बाँस ल्याएर आल्ना बनाउन थाले । पहिलो पटक बनाउनु असम्भव झैं लाग्यो। निक्कै प्रयाश गरे । पाँच दिनमा कपडा राख्ने एउटा आल्ना तयार भयो। तर, त्यो धेरै राम्रो थिएन।
हरेस खाएनन्। उनले बाँसका विभिन्न सामान बनाउँछु भन्ने अठोट गरिसकेका थिए। दिनहुँ बनाउन थाले। एउटा हातले काम गर्ने अभ्याश बढ्दै गयो। सामान बनाउन सिपालु हुँदै गए। निरन्तर जान्ने बन्दै गए।
र, सडक विभागको कुल्ली जागिर पनि छाडे।
सामान बनाउँदै गए, विक्री हुँदै गयो। जीवनमा बिहानीको संकेत देखिन थाल्यो । २०६८ सालमा रचना बाँस सामग्री फर्निचर उधोग खोले ।
पुरस्कारमा गोलमाल
०६९ मा पाँचथरमा घरेलु महासंघ र कृषि विकास समितिले घरेलु निर्माण सामाग्री मेलाको आयोजना गर्यो। प्रदर्शनीमा सामान लगे। उनले दोस्रो पुरस्कार पाए। हौसला बढ्यो। साहस बढ्यो।
बाँसका विभिन्न सामान, फर्निचर बनाएर राम्रो आम्दानी भइरहेको थियो। परिवारले पूरै दुईछाक, पेटभरी खान थालेको थियो। आनन्दको निद्रा लाग्न थालेको थियो।
त्यसपछि काठमाडौंको प्रदर्शनीमा पनि प्रथम भए तर उनले सामान बनाएकै होइन भनेर उजुरी पर्यो । भएको के थियो भने २२ वर्षदेखि यस्ता सामग्री बनाइरहेका तेह्रथुमका जितबहादुरलाई प्रथम हुने आश थियो। जितबहादुरले उजरी गरे चुडामणीले सामान बनाएकै होइनन् भनेर। जितबहादुरको प्रश्न थियो, एउटा मात्र हातले कसरी सामान बनाउन सकिन्छ ?
छानविन भयो, चुडामणीको घरमा छानविन टोली पुग्यो । छानवीन टोलीको साथमा एभन्यूज टेलिजिन टिम पनि पुग्यो। टोलीले हेर्यो, हेर्यो मात्र होइन, चुडामणीले सामान बनाएको देखेर हेरेको हेर्यै भयो।
जितबहादुरको बारेमा टेलिभिजनमा पनि प्रशारण भयो । पुरस्कार सदर भयो । र, सुखद कुरा के भने जितबहादुरले पनि स्वीकार गरे, चुडामणीको पूरै प्रशंसा गरे ।
एकहातको कमाल, मालामाल
उनी बाँसका ५० प्रकारका सामान बनाउन सक्छन् । तर माग भने २२ प्रकारको मात्र हुन्छ । निक्कै राम्रो छ व्यापार, काममा पत्नी पनि साथमै हुन्छिन् । मजासँग निर्वाह भएको छ, तीनजा छोरीलाई राम्रो शिक्षा दिइरहेछन् । राम्रै रकम वचत पनि भइरहेको छ।
सामानको अर्डर पाँचथरबाट मात्र नभएर इलाम झापा र बिराटनगरबाट समेत आउँछ । बनाउन भ्याईनभ्याई छ ।
अर्काे खुसीको कुरा, उनलाई घरेलुले औपचारिक रुपमा प्रशिक्षक नियुक्त गरेको छ, विभिन्न ठाउँमा बाँसको फर्निचर तथा अन्य विभिन्न सामान बनाउने तालिम दिन पठाइरहेको छ । तलिम दिएर पनि कमाइरहेछन् ।
र, तलिम दिने उनी एक हातका छन्, तालिम लिने चाहिँ दुई हात भएकाहरु हुन्छन् ।