कैलाली, मंसिर २६ –कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी टिकापुर घटनाका मुख्य योजनाकारको आरोपी रेशम चौधरीलाई स्वयम उपस्थित भए मात्रै प्रमाण पत्र दिइने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगबाट विजयी उम्मेदवार आफै उपस्थित भएपछि मात्रै प्रमाणपत्र दिने आदेश आएको हो । नियम अनुसार प्रमाणपत्र लिन विजयी उम्मेदवार आफै उपस्थित हुनुपर्ने निर्वाचन अधिकृत खिमानन्द भुषालले जानकारी दिनुभयो ।

टिकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका चौधरी विगत २६ महिनादेखि फरार रहनुभएको छ । उहाँले इन्द्र चौधरीको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभएको थियो । निर्वाचन अधिकृत भुषालले आज र भोलिसम्म पनि उम्मेदवार उपस्थित नभए प्रमाणपत्र आयोगलाई नै पठाउने बताउनुभयो ।

निर्वाचन आयोगबाट प्रमाणपत्र वितरणका लागि निर्वाचन अधिकृतको कार्यालयले आदेश माग गरेपछि अयोगले उम्मेदवार आफै उपस्थित नभए आयोगमा पठाइदिन भनि निर्देशनसहितको पत्र पठाएको उहाँले बताउनुभयो । आयोगले उक्त प्रमाणपत्र प्रतिनिधिसभामा पठाउने जनाएको छ । यसअघि निर्वाचन आयोगले वारेसनामामार्फत प्रमाणपत्र दिने निर्देशन पठाएको पनि निर्वाचन अधिकृतको कार्यालयले बताएको थियो ।

विजयी उम्मेदवार रेशम चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठ चौधरीले निर्वाचन आयोगले गरेको निर्णय अनुसार नै आयोगबाट प्रमाणपत्र बुझ्ने बताउनुभयो । प्रमाणपत्र पाएपछि विजयी जुलुस गर्ने तयारीमा रहेका चौधरीका समर्थक राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरु निराश भएका छन् । तर पनि रेशम चौधरीको तस्बिरसहित ठूलो सङख्यामा रहेका समर्थकहरु अहिले पनि विजय र्‍यालीको तयारी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया