सर्लाही, मंसिर २६ –सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांगे्रसका डाक्टर अमरेशकुमार सिंह विजयी हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी राजपा नेपालका राकेशकुमार मिश्रलाई १ हजार ५ सय ३९ मतले पछि पार्दै सिंह विजयी हुनुभएको हो । सिंहले २९ हजार ६ सय ७५ मत प्राप्त गर्नुभयो भने मिश्रले २८ हजार १ सय ३६ मत प्राप्त गर्नुभयो ।

कांगे्रस नेता सिंहले २०७० सालको चुनावमा त्यसै क्षेत्रबाट तमलोपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरलाई पराजित गर्दै सांसद बन्नु भएको थियो । आइतबार रातिदेखि रोकिएको क्षेत्र नम्बर ४ को मतगणना दलका प्रतिनिधिबीच सहमति जुटाएर आज बिहानदेखि सुरु भएको थियो । मतगणनाको विषयलाई लिएर राजपा र कांगे्रसका कार्यकर्ताबीच झडप भएपछि कडा सुरक्षाकाबीच मतगणना सम्पन्न गरिएको हो ।

यस क्षेत्रको नतिजा सार्वजनिक भएसँगै सर्लाहीको प्रतिनिधिसभा तर्फका ४ वटै र प्रदेश सभा तर्फका ८ वटै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा प्रतिनिधिसभातर्फ राजपाले दुई, वाम गठबन्धन र कांगे्रसले एक–एक क्षेत्रमा विजय हासिल गरेका छन् । प्रदेशसभातर्फ राजपा नेपालले ४, वाम गठवन्धन र कांगे्रसले समान दुई स्थानमा जित हासिल गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका उम्मेदवार शिवपूजन रायको उम्मेदवारी खारेज भएपछि सिंह र मिश्रमै कडा प्रतिस्पर्धा हुने देखिएको थियो । माओवादी नेता रायको बलियो पकड क्षेत्र मानिएको यस क्षेत्रमा पछिल्लो समयमा वाम गठबन्धनले राजपालाई सघाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया