काठमाडौं, मंसिर २६ –पात्रोको पाना पल्टिँदै जाँदा घाउमा खाटा बस्छन् र हराउँछन् खाटाको आकार पनि । भुल्दै जानु मान्छेको बानी हो । यही बानीले दिएको छ मान्छे अघि बढ्ने आँट, पीडाबाट माथि उठ्ने र नयाँ दैनिकी सुरु गर्ने शक्ति पनि ।
तर केही घटना यस्ता हुन्छन् घाउमा खाटा बस्दा पनि पीडा घट्दैन, बरु समयसँगै पीडाको आकार बढ्दै जान्छ । र, कतिपय अवस्थामा पुस्तान्तरण समेत हुन्छ । यस्तै घटना हो, बाँदरमुढे । नेकपा माओवादीका अध्यक्षले बाँदरमुढे र त्यस घटनाका पीडित समेतले भोट हालेको क्षेत्रबाट चुनाव जितेपछि बाँदरमुढे पीडा फेरि बल्झिएको छ ।
बाँदरमुढे घटना
२०६२ सालको जेठ २३ गते चितवनको तत्कालीन माडी गाविस (अहिले माडी नगरपालिका) को कल्याणपुर बजार र बसन्तपुर बजारको बिचमा रहेको बाँदरमुढे खोला नजिक युद्धरत तत्कालीन नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परि ३८ जनाको ज्यान गयो । ७२ जनाघाइते भए ।
माओवादीले सेनालाई लक्षित गरेर थापेको धरापमा सर्वसाधारण नागरिक चढेको ना २ ख ३२४५ नम्बरको बस पर्यो । सदरमुकाम भरतपुर हिँडेका केही यात्रुको जीवन घटनास्थलमै सकियो । धेरैको बाटोमा ज्यान गयो । र बाँचेकाहरुको जिन्दगी अस्पतालतिर मोडियो । त्यस दिनदेखि आजसम्मै बाँदरमुढेले माओवादीलाई पछ्याइरहेको छ र धेरैको परिवारमा रुवाबासी रोकिए पनि शोक र पीडा यथावात छ ।
बाँदरमुढे घटना भएको १० महिना १ दिन पूरा भएको दिन (२०६२ चैत २४) देखि सुरु भएको जनआन्दोलनपछि माओवादी मुलधारको राजनीतिमा आयो । तर द्वन्द्वकालको अन्त्यतिर भएको बाँदरमुढे घटनाले माओवादीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आलोचित बनायो, बनाइरहेको छ । यसै बेला प्रचण्डले चितवन ३ बाट जित्नु भएको छ । तर, अहिलेको शान्तिपूर्ण राजनीतिक परिवर्तनका महत्वपूर्ण नेता प्रचण्डलाई सशस्त्र युद्धका कमाण्डरका रुपमा बाँदरमुढे घटनाले खिल बनेर पछ्याइरहेको छ र पछ्याइरहनेछ ।
प्रचण्डको माफी
घटना भएको १२ वर्षको बिचमा माओवादी अध्यक्ष प्रचण्डले धेरैपटक बाँदरमुढे जाने प्रयास गरेको सुनियो । तर विभिन्न कारणले उहाँ माडी पुग्नु भएको थिएन । घटनामा निधन भएकाको सम्झनामा बाँदरमुढेमा स्मृति पार्क बन्यो । त्यो पार्क उद्घाटन गर्न निम्तो पाएर पनि उहाँ माडी पुग्नु भएन । घटनाका प्रभावितहरु पीडा बोकेरै नियमित जीवनमा फर्किए । तर बीच बीचमा बाँदरमुढे बल्झिरह्यो ।
१२ वर्षको सशस्त्र युद्ध र त्यसपछि १२ वर्षकै राजनीतिक प्रयासपछि संविधानसभाबाट बनेको नयाँ संविधानसँगै नयाँ संरचनाको चुनावमा प्रचण्ड चितवनको क्षेत्र नंबर ३ बाट उम्मेदवार बन्न पुग्नुभयो । भरतपुर महानगरपालिकाको अधिकांश क्षेत्र र माडी नगरपालिका रहेको क्षेत्र नम्बर ३ मा चुनावी प्रचारमा व्यस्त प्रचण्डले जानेर वा नजानेर हो १२ वर्षमा नगरेको काम गर्नुभयो माडीका जनतासित माफी मागेर ।
चुनावी प्रचारका लागि माडी जाने क्रममा प्रचण्डले स्मृति पार्कमा रोकिएर घटनामा ज्यान गुमाएकाको प्रतिमामा माल्यार्पण गर्नुभयो । बाँदरमुढे घटना सशस्त्र द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती रहेको स्वीकार गर्नुभयो र माडीबासीसित आश मारिसकेको माफी पनि माग्नुभयो ।
माडीबासीसित भोट माग्न जाँदा बाँदरमुढे घटनाका पीडितले न्याय माग्नका लागि भन्दै बनाएको समितिसँग प्रचण्डले तीन बुँदे लिखित सहमति गनुभयो । बाँदरमुढे घटनाका पीडितले प्रचण्डको स्वागत गरे । पीडितको एक पक्षले अहिले पनि त्यो सहमतिलाई मानेको छैन, तर पनि लामो प्रयासपछि मंसिर १० गते बाँदरमुढे गएर गल्ती स्वीकारेका प्रचण्डलाई माडी समेटिएको चितवन क्षेत्र नम्बर ३ का नागरिकले पत्याए । माडीको विकास र राजनीतिमा राम्रै पकड राख्ने बिक्रम पाण्डेलाई दश हजारको मत अन्तरले जित्नुलाई धेरैले प्रचण्डलाई माडीबासीले दिएको माफीका रुपमा बुझेका छन् ।
प्रचण्डको जितको अर्थ
चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई फराकिलो मतान्तरले हराएर प्रचण्डले हासिल गरेको जितले नेपाली राजनीतिमा धेरै अर्थ राख्ला ।
बाँदरमुढे घटनालाई जोडेर हेर्दा यो जितलाई बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई दिएको माफीका रुपमा लिने धेरै छन् । हुन पनि माडीका मतदाताको भोट नपाएको भए प्रचण्डको जितका सुनिश्चित थिएन । किनकी वामपन्थी मतदाताकै भोट बाँदरमुढे घटनाको प्रभावले काटिने सम्भावना थियो । तर प्रचण्डको बठ्याइँ सहितको सहमति, माफी र प्रतिबद्धताले काम गर्यो । प्रचण्डले ४८ हजार २ सय ७६ मत ल्याएर जिते । प्रतिस्पर्धी विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत पाए ।
प्रचण्डले एमाले र पाण्डेले कांग्रेसको साथ पाएकाले मतमा प्रभावत पर्यो । तर प्रचण्डलाई बाँदरमुढे घटनाले समस्यामा पार्ने देखिएको थियो । अहिले त्यो समस्या जितको अवसर बनेको जस्तो पनि देखिएला, तर प्रचण्डका लागि यो जित साँच्चैको अवसर हो ।
प्रचण्डलाई अवसर र चुनौती
माडी जान १२ वर्षसम्म रोकिएको बाटो यो चुनावले खोलिदिएको छ । त्यसैले घटनाको १२ वर्षपछि प्रचण्ड माडी जानुभयो । बाँदरमुढे घटनाका पीडितसँग वार्ता गर्नुभयो । र, अहिले उनीहरुकै प्रतिनिधि पनि चुनिनु भएको छ ।
बाँदरमुढे घटनास्थल, घटनामा परेका माडी र चितवनबासीको प्रतिनिधिको हैसियतले अब प्रचण्डले द्वन्द्वकालमा भएको सबैभन्दा ठूलो गल्ती सुधार गर्ने अवसर पनि पाउनु भएको छ । पीडितलाई सँगै लिएर अघि बढ्ने मौका आएको छ । तर त्यसका केही पीडित मात्रै होइन सबै पीडितलाई एक बनाएर ल्याउनु र उनीहरुबाट माफी पाउनु पर्ने चुनौती भने छ ।
प्रचण्डको जित र बाँदरमुढे घटनालाई जोडेर हेर्दा उहाँको जित अब शान्ति प्रक्रियामा बाँकी रहेका बाँदरमुढे, दोरम्बाजस्ता जघन्य घटनासित सम्बन्धित काम पूरा गर्न महत्वपूर्ण कडी बन्न सक्नेछ । तर के प्रचण्ड त्यसका लागि तयार हुनुहुन्छ ?
www.unn.com.np बाट ।