काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालका दलित समुदायलाई शिक्षा र रोजगारीको ग्यारेण्टी गर्ने गरी समाजवादी क्रान्ति अघि बढेको बताएका छन् ।

‘मान्छेको कुनै जात हुदैन । तर, मनुस्मृतिमा आधारित भएर भारत खण्डमा खडा गरिएको जाति प्रथा यहाँ भित्राएर शोषण गर्ने षड्यन्त्र भयो,’ उनले भने, ‘यसको अन्त्यका लागि दलित समुदायले हरेक आन्दोलन र परिवर्तनका लागि योगदान पु¥याएको छ, तर समस्या अझै उस्तै छ । यसको निराकरण समाजवादी क्रान्तिबाट मात्रै सम्भव छ ।’

काठमाडौंमा पार्टीको समाजवादी दलित मुक्ति महासंघले गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संविधानले दलितका केही अधिकारहरु सुनिश्चित गरेपनि कार्यान्वयन गर्ने शासकको सोचका कारण दलित मुक्ति हुन नसकेको बताए ।

उनले नेपाली दलित समुदायको शशक्तिकरणका लागि समाजवादी क्रान्ति अघि बढिसकेको बताए । ‘यो समुदायले इतिहासमा धेरै पटक बलिदानी ग¥यो, तर दलितले मुक्ति पाउन सकेनन्, अब हुने समाजवादी क्रान्तिमा भएको योगदानलाई हामी खेर जान दिदैनौँ,’ यादवले भने ।

कार्यक्रममा काठमाडौं उप्त्यकाका करिब छ सय जना विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । अध्यक्ष यादवले सबैलाई खदा ओढाएर स्वागत गरेका थिए ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य गंगानारायण श्रेष्ठ र समाजवादी दलित मुक्ति महासंघका इन्चार्ज तथा केन्द्रीय सदस्य डीबी नेपाली लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया