अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ साम्नेगाउँमा पहिलो पटक बस पुगेपछि स्थानीयवासीले पञ्चेबाजा बजाएर नाचगान गरेका छन् ।

साम्नेगाउँको छेँडापोखरीमा  पहिलो पटक लु २ ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीयले चालक र सहचालकलाई बाजागाजासहित फूलमाला र अबिरले स्वागत गरेका हुन् ।

स्थानीयले २०६१ सालमा कोदालोले खनेर निर्माण गरेको ट्राकमा जीपसेवा सञ्चालन भएको १५ वर्षपछि बस पुगेको हो । बसकाे सुविधा भएसँगै डाँडा-धापखोला-छेँडापोखरी-बगैंचा-साम्नेगाउँ-ओखटे र प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर-२ का सिउते-सिउडेनी-बाख्खाशका स्थानीयवासी लाभान्वित हुने भएका छन् ।

भूमिकास्थान नगरपालिका-२ का वडाअध्यक्ष बुद्धि थापाले रिबन काटेर बस सञ्चालनको उद्घाटन गर्नु भएको थियो । थापाले नियमित बस सञ्चालनका लागि पहल गर्ने बताउँदै प्रदेश सरकार र पालिकाको सहयोगमा बस सञ्चालनमा आएको जानकारी दिए ।

साथै, नगरपालिका-१ का वडा अध्यक्ष भोजराज खनालले वडास्तरबाट बजेट विनियोजन गरी सडककाे नाली कटानलगायतका कामको स्तरोन्नति गरिने बताए ।

तपाईको प्रतिक्रिया