काठमाडौँ । दुई महिनाको बहसपछि प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दाकाे फैसलाको प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया पूरा गरेर सर्वोच्च अदालतले आजका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाइ भइसकेको छ।इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुनसक्ने बताएको छ। विघटनमा सर्वोच्चले के फैसला गर्छ भन्नेमा आमचासो छ। एक साताभित्र फैसला आउनसक्ने बताइएको छ।​

फागुन ७ गते सबै बहस सकिएपछि इजलासले दुबै पक्षका वकिललाई फागुन १० गतेसम्म बहसको नोट बुझाउन दिएको समयावधि सकिएपछि सर्वोच्चले म‌गलबार मुद्दाको पेसी ‘हेर्दाहेर्दै’ मा तोकेको हो ।

इजलासको आदेशअनुसार फागुन १० गते अधिवक्ताहरूले बहस नोट बुझाएका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ का लागि चुनावको मिति घोषणा गरेकी थिइन्। विघटनविरूद्ध विरोधमा सर्वोच्चमा १३ वटा रिट परेका थिए। रिटको सुनुवाइ सकिए पछि अब कस्तो फैसला गर्ने भन्ने छलफल सर्वोच्चले थाल्दैछ।

विघटनविरूद्ध परेका १३ वटा रिटमाथि संवैधानिक इजलासमा गत माघ ४ देखि बहस सुरू भएको थियो। सो बहस गत फागुन ७ गते सकिएको थियो। रिटमाथिको सुनुवाइ पुस ८ गते सुरु भएपनि पछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेर विषयवस्तुमाथि सुनुवाइ भएको थियो।

उक्त मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस केही दिनअघि सकिएको थियो। त्यसपछि रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए।

इजलासलाई राय दिन गठन गरिएको एमिकस क्युरीका पाँच सदस्यहरूले पनि आफ्नो राय दिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दामा बहस सकिएसँगै जुनसुकै समय फैसला आउन सक्ने बताएका थिए । ‘हेर्दाहेर्दै’ सकिएको अवस्थामा फागुन ११ गते अर्थात मंगलबार  पनि फैसला आउन सक्ने राणाले बताएका थिए।

फैसलाको अन्तिम तयारीमा अदालत जुटेसँगै सबैको ध्यान सर्वोच्चतिरै केन्द्रित हुन थालेको छ ।

पाँच सदस्यीय संवैधानिक इजलासमा सकेसम्म एउटै रायमा निर्णय सुनाउने प्रयास हुनेछ । त्यसो हुन नसकेमा बहुमत न्यायाधीशहरूको रायका आधारमा फैसला सुनाइनेछ ।

तपाईको प्रतिक्रिया