काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाका नगरपालिकाहरूलाई रमणीय र घुम्न योग्य पार्क बनाउन आर्थिक सहयोग गर्दै आएको छ । स्रोतका अनुसार ७ नगरले पार्कको काम थालनी गरे पनि ,लामो समय बितिसक्दा पनि तीन वटा नगरले रमणीय र घुम्न योग्य पार्क बनाउने कामको थालनी समेत गरेका छैनन् ।

कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’, दक्षिणकालीमा ‘गोरखनाथ पार्क’, चन्द्रगिरिमा ‘मदन भण्डारी स्मारक पार्क’, नार्गजुनमा ‘गणेशमान सिंह पार्क’, तारकेश्वरमा ‘तारकेश्वर धाम’, टोखामा ‘टोखा पार्क’, गोकर्णेश्वरमा ‘बज्रयोगिनी पार्क’, बुढानीलकण्ठमा ‘बुढानीलकण्ठ धाम’ र कागेश्वरीमा ‘कागेश्वरीमा धाम’ निर्माण गर्न महानगरले ।२०७५ साल माघ २७ गते एक करोड रुपैयाँका दरले आर्थिक सहयोग गरेको थियो ।
दुई वर्ष बितिसक्दा पनि गोकर्णेश्वर र शंकरापुर नगरले अझैँ खर्चको विवरण नबुझाएको महानगरको शहरी पूर्वाधार विभाग ले जनाएको छ ।महानगरले काम शुरू नगर्ने नगरपालिकालाई अनुदान रकम फिर्ता गर्न ताकेता दिए पछि काम शुरू नै नगरेको दक्षिणकाली नगरले हालै गोरखनाथ पार्क बनाउन डीपीआरको काम सकिएको भन्दै खर्च विवरण पठाएको महानगरले जनाएको छ ।

महानगरले सहयोग गरेअनुसार पार्क बने कि बनेनन् र यस विषयमा नगरपालिकाहरू के गर्दै छन् भन्ने विषयमा महानगरले छानबिन समेत गरेको महानगरले जनाएको छ ।महानगरले पार्क बनाउन दिएको रकम केही नगरपालिकाले दुरुप्रयोग गरेको आरोप छ ।महानगरले पार्क बनाउन दिएको रकम ले पार्क निमार्णमा होईन अरु काममा रकमको दुरुप्रयोग भएको महानगरले जानकारी दिएको छ । स्रोतका अनुसार बुढानीलकण्ठ नगरपालिकाले महानगरबाट पाएको रकम कार्यालय भवन बनाउन खर्च गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले पनि पार्क बनाउनलाई दिएको रकम सडकमा खर्च गरेको छ । महानगरले पार्क निर्माणकै लागि मात्र नगरपालिकाहरूसँग सम्झौता भए पनि नगरपालिकाहरुले सम्झौता विपरीत काम गरेको र त्यो रकमको दुरुप्रयोग गरेको देखिएको छ महानगरीय विभागले जनाएको छ ।

रमणीय पार्क निर्माणका लागि दिएको रकम सम्झौता विपरीत खर्च हुदाँ महानगरले केही नगरेको देखिन्छ तर महानगरले ‘पार्क निर्माण गरेर देखाउनुपर्ने र नदेखाउने नगरहरुबाट रकम फिर्ता गराउनृ चेतावनी दिएको छ । यो वर्ष नगर साझेदारीअनुसार जाने रकम उपलब्ध नगराउने जानकारी दिएको छ ।’

 

महानगरसँग पार्क बनाउन सम्झौता गरेर लिएको रकम कार्यालय भवन निर्माणमा खर्च गरेको हा ?
यस्तो भन्छन बुढानीलकण्ठका मेयर अनभिज्ञ

महानगरसँग पार्क बनाउन सम्झौता गरेर लिएको रकम कार्यालय भवन निर्माणमा खर्च गरेको भन्ने विषयमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेलले अनभिज्ञता प्रकट गरे ।

सार्वजनिक जग्गा संरक्षण गर्ने र हरियाली बढाउने सम्झौता गरेको स्वीकार गर्दै उनले भने, ‘नगरपालिका क्षेत्रमा राम्रो वगैँचा बनाउने हाम्रो लक्ष्य हो, त्यसका लागि हामीले २५ रोपनी जग्गा संरक्षण गरेका छौँ ।’

महानगरले दिएको रकम कार्यालय भवन निर्माणमा खर्च भएको भन्ने विषयमा आफूलाई जानकारी नभएको बताएका छन् ।

 

कागेश्वरी मनोहराले पार्कको लागि लिएको रकम बाटोमा खर्च,

कागेश्वरी मनोहरा नगरपालिकाले अनुदान रकमबाट पार्कसम्म पुग्ने बाटो निर्माण गरेको जनाएको छ । नगर प्रमुख कृष्णहरि थापाले पार्कसम्म पुग्ने बाटो बनाउनु पनि पार्ककै काम भएको बताएका छन् ।

‘कागेश्वरी धाम जाने बाटोमा ढुङ्गा छापेर रेलिङ बनाएर बनाएका छौँ,’ नगर प्रमुख थापा भन्छन्, ‘पाँच करोड लगानीमा धाम बनाउन लागेका हौँ । महानगरले दिएको रकम त्यसकै लागि खर्च भएको हो ।’

पार्क निमार्ण गर्न दिएको रकमको खर्च यस्तो छ,
हालसम्म तारकेश्वरले ६४ लाख, कीर्तिपुरले १ करोड, मध्यपुर ठिमीले १ करोड, कागेश्वरीले १ करोड, चन्द्रगिरिले १ करोड, बुढानीलकण्ठ नगरले १ करोड, टोखा नगरले १ करोड, दक्षिणकाली नगरले ९७ लाख रुपैयाँ खर्च गरेको महानगरका विभागीय प्रमुखले जानकारी दिएका छन ।
विभागका अनुसार गोकर्णेश्वर र शंकरापुरले काम र खर्चको विवरण पठाएको छैन्।

 

थप पाँच नगरपालिकामा पार्क निमार्ण हुने महानगरले डेढ करोड रुपैयाँका दरले अनुदान दिने

काठमाडौँ महानगरले यस वर्ष काठमाडौँ उपत्यकाबाहिर भगिनी सम्बन्ध स्थापना गरिएका रामनगर, चन्द्रनाथ, पाख्रिवास र मेलम्ची नगरलाई पनि पार्क निर्माणका लागि डेढ करोड रुपैयाँका दरले अनुदान दिने भएको छ ।

चालु आर्थिक वर्षको बजेटबाटै चाँगुनारायण नगरलाई पनि महानगरले पार्क बनाउन रकम दिने सहमति गरेको छ ।

‘भगिनी सम्बन्ध कायम भएका नगरलाई डेढ करोड रुपैयाँ दिने तयारीमा रहेको र यसअघिका ११ वटा नगरलाई पनि काम हरेर यस वर्ष पनि रकम दिने विभाग ले जनाएको छ ।’

अनुदानमा दिएको रकमले पाँच वर्ष भित्रमा काम गरी सक्नु भनेर निर्देशन दिएको काठमाडौँ महानगरले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया