काठमाडौं । नेपालमा पहिलो पटक सुरु भएको फोन लोन मार्फत हालसम्म एक हजार जनाले ऋण लिएका छन् । फोन बाट ऋण सुविधा लिनेहरुमा विशेषगरी बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरु रहेका छन् ।
बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकहरुलाई यस्तो सुविधा प्रदान गरिन्छ । बैंकबाट मोबाइल लोन मार्फत दुई लाख रुपयाँसम्म लोन लिन सकिने छ ।
यसरी लिन सकिन्छ ऋण
बैकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाइल बैंकिङ मार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । यसका लागि बैंंकसम्म जानुपर्ने तथा धितो राख्नुपर्ने झन्झट गरिराख्नु पर्दैन ।
ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रियाबिना नै आफ्नो मोबाइल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन् ।
बिना धितो, बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण बढ्दै गएको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताएका छन् ।
अहिले ३ वटा बैंकहरुमार्फत मात्रै सुविधा उपलब्ध भएपनि आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने शर्माले बताए ।