काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वउद्योग मन्त्री नवीन्द्रराज जोशीले पार्टी र देशको राजनीतिमा युवाको आकर्षण घटेकाप्रति चिन्ता व्यक्त गर्दै युवासँग संवादको कार्यक्रम थालेका छन् ।

‘कांग्रेसमा मात्रै होइन, अहिले राजनीतिमै युवाको आकर्षण घटेको आभाष हुन्छ, पार्टीको १४ औँ महाधिवेशन नजिकिएको छ, देशमा संकट उत्पन्न भएको छ, यस्तो बेला युवाको विचार र गुनासा, समस्या सुन्नका लागि युवासँग संवाद थालेको हु,’ उनले भने ।

जोशीले कांग्रेसका भातृसंस्थाहरु नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ लगायत संगठनहरु सम्बद्ध युवा नेताहरुसँग छुट्टा–छुट्टै छलफल गरेका छन् । ‘पार्टीमा युवासँग संवाद गर्ने, युवाका कुरा सुन्ने चलन हरायो, त्यसैले पनि मैले कम्तिमा महिनामा एक पटक युवासँग बसेर छलफल गर्ने थालनी गरेको हुँ,’ जोशीले भने ।
जोशीले शुक्रबार मात्रै राष्ट्रियता, लोकतन्त्र र समाजवादका निमित्त युवाहरुको भूमिका विषयक अन्तरक्रिया गरे । कार्यक्रममा बोल्दै जोशीले नेपालको राजनीतिमा युवाहरुको समानुपातिक प्रतिनिधित्व आवश्यक देखिएको बताए ।

‘अहिलेका युवा राजनीतिप्रति अनिच्छुक रहेको हो कि ? भन्ने आभाष हुन्छ, यसको प्रमुख कारण विगत ७० वर्ष देखिको अथक संघर्ष पश्चात् पनि देशमा लोकतन्त्र सुदृढ हुन नसक्नु हो,’ जोशीले भनेका छन्, ‘कुनै पनि सरकार पूरा अवधि टिक्न सक्दैनन् । यसको नकारात्मक असर युवा दिमाग परेको छ । वास्तवमा लोकतन्त्र संस्थागत नहुनुमा एउटा प्रमुख कारण चेतनशिल र ऊर्जावान् युवावर्ग राजनीतिप्रति अनिच्छुक हुनु पनि हो भन्ने युवाले बुझ्नुपर्दछ ।’
युवालाई पार्टीमा जिम्मेवार र अनुशासित बनाउन निरन्तर संवाद र छलफलको संस्कार बसाउनुपर्ने जोशीले बताएका छन् । ‘नेपालमा युवाको जनसंख्या ४० प्रतिशत छ, उनीहरुलाई यदि हामी लोकतन्त्रवादी हौँ भने पार्टीका सबै तहमा कम्तिमा ४० प्रतिशत सहभागिता सुनिश्चित गरौँ, तबमात्र युवालाई पार्टी र राजनीतिमा आकर्षित गर्न सकिन्छ,’ जोशीले भनेका छन् । पार्टीमा युवाको उचित प्रतिनिधित्व नहुँदा पार्टीमा युवा नेतृत्वको अभाव हुने थालेको उनले बताए ।

जोशीले कांग्रेसले युवाहरुलाई राजनीतितर्फ आकर्षित गर्ने मात्र होइन, देशमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको संरक्षणको जिम्मेवारी पनि दिनुपर्ने बताए ।
जोशीले कांग्रेस र राजनीतिमा युवालाई आकर्षित गर्ने विभिन्न चार प्रस्ताव समेत अघि सारे । पहिलो, युवाहरुको जीविकोपार्जनको सुनिश्चितताका लागि आवाज उठाउने, दोश्रो पार्टीभित्र आन्तरिक लोकतन्त्र कायम गर्न स्पष्ट र विश्वसनीय कदम चाल्ने, तेश्रो पार्टी र देशका लागि युवाहरुसँग निरन्तर छलफल गर्ने र अन्तिम युवासँग राष्ट्रियता, लोकतन्त्र र समाजवादकै विषयमा सैद्धान्तिक छलफल गर्ने । ‘२१ औं शताब्दीमा नेतृत्व र कार्यकर्ता बीचको संबन्ध नङ मासुको जस्तो हुनुपर्छ, अहिलेको सूचना प्रविधिको युग सुहाउँदो हुनुपर्छ, अहिलेको परिवर्तनशील जीवनयापद सुहाउँदो हुनुपर्छ,’ जोशी भन्छन्, ‘तबमात्रै युवाहरुले राजनीतिमा आफ्नो भविष्य देख्न सक्छन् ।’
उनले कांग्रेसले युवाहरुलाई रोजगारीको सुनिश्चितता गर्ने कार्यक्रमहरु ल्याउनुपर्ने बताए । ‘बेरोजगार सबैका लागि रोजगारीको बातावरण बनाउनुपर्छ । युग सुहाउँदो शिक्षा–रोजगारी र राजनीतिको अनुक्रमलाई अबलम्बन गर्नुपर्छ,’ उनले भने ।

जोशीले सुशासन र जनजीविकाको सवालमा केन्द्रीत रहेर कांग्रेसले सबै जिल्ला र पालिकाहरुमा विभिन्न चरणका कार्यक्रमहरु चलाउन प्रस्ताव गरेका छन् । ‘लोकतन्त्र र संविधानको रक्षाका लागि सत्याग्रह आन्दोलन गर्ने, सुशासन र जनजीविकाको सवाललाई शशक्त रुपमा उठाउने, सरकारी सेवा कार्यालयको ढिलासुस्ती कम गर्न, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न दबाब दिने, सरकारी सेवामा पहुँच नभएका नागरिकलाई सेवामा पहुँचको सहजीकरण गर्ने गर्नु आवश्यक छ,’ जोशीले भने ।
‘कांग्रेसले आजको संकटको घडीमा लोकतान्त्रिक मूल्य र मान्यतामा आँच आउन नदिनका निमित्त महत्वपूर्ण भूमिका निभाउनु पर्ने र द्वन्द्व उन्मुख राष्ट्रलाई निकास दिनु पर्नेमा दुई मत छैन,’ नेता जोशीले भने ।

तपाईको प्रतिक्रिया