काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशसरण महतले कम्युनिष्टहरुको प्रचारशैलीको सिको गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘हामीले काम गर्छौ, तर प्रचार गर्न जान्दैनौँ । कम्युनिष्टहरु काम गर्दैनन्, र पनि भव्य प्रचार गर्छन्, भाषण गर्छन्, जनतामा पु¥याउँछन्,’ उनले भने, ‘उनीहरु गर्दै नगरेको कुरा त जनतामा पु¥याउँछन् भने हामी गरेको कुरा जनतामा किन नपु¥याउने ?’

भोजपुर कांग्रेसले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै डा. महतले कम्युनिष्टले कामै नगरे पनि प्रचार गरेर जनताको विश्वास जितेका बताए । उनले नेपालमा लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन्त राख्ने पार्टी कांग्रेसमात्रै भएको बताए । ‘कांग्रेस लोकतान्त्रिक पार्टी मात्रै होइन, यसलाई जीवन्त राख्ने पार्टी पनि हो, यसमाथि कसैले प्रहार गर्छ भने छाड्न हुदैन,’ उनले भने ।

उनले कसैलाई पनि जनताको अनुमति विना सत्तामा जाने वा बसेर शासन गर्ने अधिकार लोकतन्त्रमा नभएको बताए ।

‘नेपालमा निर्वाचन नै गर्न नचाहनेहरुलाई कांग्रेसले निर्वाचनको बाटोमा ल्याएको हो, त्यसैले निर्वाचनबाट जनमत नलिई सत्तामा उक्लिन पाइदैन,’ डा. महतले भने ।
उनले निर्वाचनलाई अवसर ठानेर त्यसको तयारीमा लाग्न निर्देशन दिए । ‘अहिले नभए पनि अब निर्वाचन हुन्छ, निर्वाचनको विकल्पै छैन, तपाईहरु निर्वाचनको तयारीमा लाग्नुस्,’ उनले भने ।

‘नेपालमा सडक, बाटो विजुली र पानी गाउँ गाउँमा कसले पु¥यायो ? यो कसको योजना थियो ? यो काम त कम्युनिष्टले कहिल्यै गरेनन्,’ महतले भने, ‘यो काम कांग्रेसले गरेको हो भनेर देखाउने काम अब तपाईहरुको हो ।’ उनले संघीयतापछि वडा वडामा भ्रष्टाचार मौलाएको बताए ।

तपाईको प्रतिक्रिया