काठमाडौं । मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दवावमा छ ।

भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीमा मूल्य वृद्धि भएर आएपछि निगमलाई मूल्य बढाउनुपर्ने दबाब परेको हो । मंगलबार आईओसीले निगमलाई नयाँ मूल्यसूची पठाएको छ । सो मूल्यमा बिक्री गर्दा निगम पाक्षिक १ अर्ब ७ करोड रुपैयाँ घाटामा जाने प्रक्षेपण छ ।

नेपाल आयल निगमले हाल पेट्रोलको नयाँ मूल्य ११४ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ, आन्तरिक हवाई इन्धनको ६७ रुपैयाँ प्रतिलिटर तोकेको छ । बाह्य हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८६८ अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य १४०० रुपैयाँ तोकिएको छ ।

यो मूल्यमा बिक्री गर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ५.८२ रुपैयाँ, डिजेलमा प्रतिलिटर ४.१३ रुपैयाँ नोक्सान छ । मट्टितेलको नाफा घटेर प्रतिलिटर २१.५२ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २.३२ रुपैयाँ तथा बाह्य हवाई इन्धनको ३४.१९ रुपैयाँमा झरेको छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर २९५.८३ रुपैयाँ घाटाको अवस्था रहेको निगमले जनाएको छ ।

खरिदमूल्य ८ महिनामा दोब्बर नजिक

कोभिड–१९ महामारीसँगै विश्वमा तेलको माग घट्दै जाँदा मूल्य न्यूनतम अवस्थामा पुगेको थियो । २०२० अप्रिल २१ मा अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य सबैभन्दा कम १९.३३ डलर प्रतिब्यारेलसम्म झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा सो मूल्य रहँदाको समयमा भारतीय आयल कर्पोरेसनले नेपाललाई पठाएको मूल्यभन्दा अहिलेको मूल्य दोब्बर भन्दा बढी पुगिसकेको छ ।

लकडाउन सुरु हुँदाको समय २०२० अप्रिल १ मा पठाएको मूल्यसूची अनुसार निगमले आईओसीलाई पेट्रोलमा प्रतिलिटर २७.५७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३८.६३ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर ३८.६८ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर २९.९५ रुपैयाँ तथा एलपी ग्यास १०१४.०९ रुपैयाँ मूल्य तिर्नुपथ्र्यो ।

सो मूल्यमा प्रचलित कानून अनुसार लाग्ने कर, निगमको ढुवानी भाडा, प्रशासनिक एवं विक्री खर्च, प्राविधिक नोक्सानी, एक्स डिपो बिक्री मूल्य, पेट्रोलियम डिलर वा बिक्रेताको खर्चसहितको मूल्यसहित जोड्दा निगम पेट्रोलमा प्रतिलिटर १६.१७ रुपैयाँ, डिजेलमा १२.९० रुपैयाँ, मट्टितेलमा प्रतिलिटर ३६.७७ रुपैयाँ, आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर १९.७० रुपैयाँ तथा बाह्य उडानको हवाई इन्धनमा प्रतिलिटर ६९.६२ रुपैयाँ नाफा थियो । खाना पकाउने एलपी ग्यासमा भने त्यतिबेला पनि निगमलाई प्रतिसिलिन्डर १९५.०७ रुपैयाँ नोक्सानको अवस्था थियो ।

त्यतिबेला नेपाल आयल निगमले नेपाली बजार (काठमाडौं उपत्यका) पेट्रोलमा प्रतिलिटर ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७५ रुपैयाँ, बाह्य हवाई इन्धनमा प्रति किलोलिटर ९५० अमेरिकी डलर तथा एलपी ग्यास १३७५ रुपैयाँ मूल्य तोकेको थियो । स्वचालित मूल्य प्रणालीलाई थाती राखेर त्यतिबेला पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकैपटक १०÷१० रुपैयाँ घटाएर सो मूल्य कायम गरिएको हो ।

लकडाउन भएको समयमा पेट्रोल, डिजेल तथा हवाई इन्धनको खपत ज्यादै न्यून थियो । तर, एलपी ग्यासको खपत भने त्यतिबेला सामान्य अवस्था भन्दा पनि बढी थियो । त्यसैले अरु पदार्थमा धेरै नाफा देखिए पनि एलपी ग्यासको नोक्सान परिपूर्ति समेत नहुने अवस्था थियो ।

पछिल्लो मूल्यसूची अनुसार निगमले आईओसीलाई तिर्नुपर्ने मूल्य बढेर पेट्रोलमा प्रतिलिटर ५३.९७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५५.१५ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर ४८.७६ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ५०.२६ रुपैयाँ तथा एलपी ग्यास ११२९.८१ रुपैयाँ पुगेको छ । यो लागत, कर तथा निगमको अन्य दायित्व समेत गर्दा मूल्य समायोजन पछि पनि कुल घाटा पाक्षिक ८६ करोड ७८ लाख रुपैयाँ नोक्सान हुने निगमको प्रक्षेपण छ ।

मूल्य स्थिरीकरण कोष पनि प्रभावहीन

अन्तर्राष्ट्रिय बजारको मूल्यमा भएको सामान्य उतारचढावको कारणले मूल्यमा पार्नसक्ने प्रभाव हटाउन निगमले मूल्य स्थिरीकरण कोषको व्यवस्था गरेको थियो । अहिले सो कोषमा करिब ९ अर्ब रुपैयाँ रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

तर, तत्काल यो कोषको प्रयोग निष्प्रभावी हुने निष्कर्षमा निगम पुगेको छ । ‘अहिले कोषमा ९ अर्ब रुपैयाँ जति छ । अहिले मासिक नोक्सान नै २ अर्ब पुग्ने अवस्था आइसक्यो । अझै मूल्य बढ्यो भने नोक्सान योभन्दा माथि पुग्न सक्छ,’ पौडेलले भने, ‘यो हिसाबले त यो कोषले ४ महिना पनि धान्न सक्दैन । मूल्य स्थिरीकरण कोषको प्रयोगले समस्या समाधान हुने देखिँदैन ।’

त्यसो त निगमको दक्षता अभावले पनि घाटा चुलिँदै गएको प्रश्न पनि बजारमा उठ्ने गरेको छ । तर, कार्यकारी निर्देशक पौडेल यसलाई स्वीकार गर्दैनन् । निगमले प्रशासनिक खर्च बापत पेट्रोलियम पदार्थमा प्रतिलिटर ०.६८ रुपैयाँ तथा ग्यासमा प्रतिसिलिन्डर १०.१८ रुपैयाँ मात्र लिँदै आएको छ । यो मूल्यले समग्र मूल्य प्रणालीमा ठूलो असर नगर्ने कार्यकारी निर्देशक पौडेलको दाबी छ । उनले आयल निगमको प्रशासनिक खर्च भारतीय आयल कर्पोरेसनको भन्दा कम भएको समेत बताए । यद्यपि थप ठाउँ भए सुधार गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

कुनै बेला १४० रुपैयाँसम्म थियो पेट्रोलको मूल्य

त्यसो त, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको यो नै पहिलो घटना भने होइन । करिब ७ वर्षअघि यसरी नै मूल्य निरन्तर रुपमा बढ्दै गएको थियो । नेपालमा २०७० फागुनमा पेट्रोलियम पदार्थको मूल्य सबैभन्दा उच्चतम विन्दुमा पुगेको थियो ।

त्यो समयमा पेट्रोलको मूल्य १४० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १०९ रुपैयाँ तथा हवाई इन्धन (आन्तरिक) को मूल्य १४३ रुपैयाँ तथा हवाई इन्धन (बाह्य) को मूल्य १४०० अमेरिकी डलर प्रतिकिलोलिटर तथा एलपी ग्यासको १ हजार ४ सय ७० रुपैयाँ प्रति सिलिन्डर थियो । यो मूल्य कायम रहँदा अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य १४८.९३ अमेरिकी डलर प्रतिब्यारेल रहेको निगमले जनाएको छ ।

नेपाल–भारत सीमामूल्य अन्तरले अर्को समस्या

अहिले सरकारले पेट्रोलियम पदार्थमा लागत मूल्यको शतप्रतिशत भन्दा बढी कर लगाउँदै आएको छ । सरकारलाई करको दर घटाउन लगाएर मूल्य स्थिर गर्नुपर्ने माग समेत बजारमा उठ्ने गरेको छ ।

तर, यसो गर्दा पनि व्यवहारिक समस्या देखिने निगमको भनाई छ । मंगलबार सीमावर्ती भारतीय बजारमा पेट्रोलको मूल्य ९२.०० र डिजेलको मूल्य ८४.९३ भारतीय रुपैयाँ रहेको छ । नेपाली मुद्रामा यो क्रमशः प्रतिलिटर १४७.२० र १३६.०१ रुपैयाँ हुन्छ ।

यो मूल्यका आधारमा नेपाली बजारको मूल्य भारतीय बजारको तुलनामा पेट्रोलमा प्रतिलिटर ३५.२९ रुपैयाँ र डिजेलमा ४१.४३ रुपैयाँ सस्तो रहेको निगमले जनाएको छ । खुला सीमानाका कारण भारततर्फ चोरी निकासी हुने सम्भावना रहेकोले पनि मूल्य समायोजन गर्नैपर्ने दबाबमा रहेको देखिन्छ ।

विनिमयदरले रोक्यो थप मूल्यवृद्धि

केही समय अघि सम्म अन्तर्राष्ट्रिय विनिमय बजारमा भारतीय मुद्रा निकै कमजोर बनेको थियो । भारतीय मुद्रासँग टाइअप भएको नेपाली मुद्रा पनि कमजोर बन्दा अघिल्लो अप्रिलमा १ अमेरिकी डलरका लागि १२२.९८ रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो ।

अहिले यस्तो दर घटेर ११६.६० रुपैयाँमा झरेकोे छ । यो विनिमयदरका कारण मूल्यवृद्धिमा थोरै भए पनि राहत मिलेको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया