काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल दलित संघ स्थापनाको २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ ।

स्थापना दिवसको सन्दर्भमा संघका अध्यक्ष तथा कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले संविधान र लोकतन्त्रको पक्षमा उभिन सम्पूर्ण दलित समुदायलाई अपिल गरेका छन् ।

‘असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमका विरुद्ध लाग्न सम्पूर्ण दलित समुदायलाई अपिल गर्दछु, संविधान बमोजिम सत्ता सञ्चालन गर्न र असंवैधानिक अलोकतान्त्रिक कदम सच्याई लोकतन्त्रको मुल्य, मान्यता संस्कृतिलाई पूर्णमा अनुसरण गर्न जोडदार माग गर्दछु,’ विश्वकर्माले विज्ञप्तिमार्फत् भनेका छन् ।

मंगलबार शुभकामना सन्देश दिँदै अध्यक्ष विश्वकर्माले कोभिड–१९ को महामारीबाट सबैभन्दा धेरै दलित समुदायलाई असर पु¥याएको भएपनि राज्यले कुनै राहत समेत प्रदान नगरेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

‘कोभिड–१९ को महामारीका कारण सबैभन्दा मर्कामा परेको यस समुदायलाई राज्यले कुनै पनि राहत प्रदान गर्न सकेको छैन । म भ्रष्टाचारमा लिप्त भई स्थिरता र संमृद्धिको जनताको चाहानालाई कुठारापात गरी असंवेधानिक रुपले हठात् संसद विघटन गर्ने निर्णयलाई लिएर संघ गम्भीर रहेको छ,’ उनले विज्ञप्तिमार्फत् भनेका छन् ।

नेता विश्वकर्माले दलित समुदायलाई राजनीतिक रुपले संगठित र प्रशिक्षित गर्दै राज्यको मूल धारमा समाहित गर्ने र समतामुलक समाज निर्माण गर्नेतर्फ केन्द्रीत रहेको बताएका छन् ।

लोकतन्त्रमा आस्थावान् दलित समुदायलाई एकीकृत गरी गठित संघले ०५४ साल फागुन ४ गते कांग्रेसको भातृ संगठनको रुपमा औपचारिक मान्यता पाएको थियो ।

तपाईको प्रतिक्रिया