विकासप्रेमी  नेता हुन्, पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का। संखुवासभाको तत्कालीन निर्वाचन क्षेत्र नम्बर २ का गाउँ-गाउँमा सडक र विद्युत पुर्‍याउन उनको भूमिका जनस्तरमै मुक्तकण्ठले प्रशंसा गरिने गर्छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलका कारण ०७४ सालको संसदीय निर्वाचनमा पराजय बेहोरे, खड्काले। अहिले उनी सांसद होइनन्, तथापि आफूले अगाडि बढाएका योजनाहरू संसद्‍मा आफ्नो अनुपस्थितिमा धमाधम रद्द भएकामा चिन्तित छन्, खड्का। भन्छन्, ‘नेकपाले चुनाव जित्दा संखुवासभा विकासमा पछाडि पर्‍यो।’ उनै विकासप्रेमी कांग्रेस नेता खड्कासँग  गरिएको  संवाद :

तपाईंले चुनाव जित्नुभएको भए संखुवासभाको विकास कहाँ पु्ग्थ्यो ? नेकपाले जितेका कारण के भयो ?
विकासका निम्ति आतुर संखुवासभा एकदमै महत्वपूर्ण जिल्ला हो। यसले नेपाल, भारत र चीनलाई जोड्छ। आर्थिक, सामाजिक तथा राजनीतिक हिसाबले पनि एकदमै सम्भावना भएको जिल्ला हो यो।

किमाथांका नाका हुँदै बाह्रैमास व्यापार गर्न सकिन्छ, त्यो पनि चीन, नेपाल र भारतबीच। चीनसँग जोडिएका अधिकांश नाकामा जाडोयाममा हिउँ जम्ने गर्छ, यातायातका साधन चलाउन सकिँदैन।

त्यति धेरै सम्भावनाका बावजुद अहिले संखुवासभाको विकास नै ठप्प छ। यो संखुवासभाका लागि साह्रै ठूलो नोक्सानी हो। मेरो प्रतिबद्धता पनि थियो र मेरो पार्टी सरकारमा नभए पनि मलाई काम गर्ने तौरतरिका थाहा थियो। मैले काम गर्न सक्थेँ भन्ने मलाई लाग्छ।

तत्कालीन निर्वाचन क्षेत्र नम्बर २ मा चक्रपथ निर्माणाधीन थियो। चक्रपथ तामाफोकसम्म पुगिसकेको थियो। एक सय १० किलोमिटरको चक्रपथ हाल निर्वाचन क्षेत्र ‘प्रदेश ख’को विकासको मेरुदण्ड बन्थ्यो। नेकपा सत्तामा आएपछि यो योजना रद्द भयो। अहिले विजयी भएका सांसदहरूले चक्रपथ निर्माणमा ध्यान दिनुभएन। शायद, उहाँहरूको क्षमताले भ्याएन होला, यति ठूलो र महत्वपूर्ण आयोजना।

०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर २ का अधिकांश ठाउँमा म हिँडेरै पुगेको थिएँ। र, मेरो प्रतिबद्धता विकास निर्माण नै थियो। संखुवासभा, मेरो आफ्नो जन्मस्थानमै राजनीतिमार्फत केही गर्नुपर्छ भन्ने सोच थियो। त्यस्तो सोच नहुँदो हो त मैले काठमाडौंबाटै संविधानसभामा प्रतिनिधित्व गर्ने हैसियत राख्थेँ। समानुपातिकबाटै सभासद् भएर पनि मन्त्री हुन सक्थेँ।

तर, हामीजत्तिको व्यक्तिले नै आफ्नो मातृभूमि बिर्संदै जाने हो भने त्यो ठाउँको विकास कसरी होला भन्ने लागेर म जिल्लामै फर्केको हुँ। तर, ०७४ सालको आम निर्वाचनपछि त्यसमा अवरोध सिर्जना भयो।

०७० सालपछिको चारवर्षे कार्यकालमा निर्वाचन क्षेत्र नम्बर २ का हरेक घरमा बिजुली पुर्‍याइयो, सडक निर्माण भयो। चार वर्षको कार्यकालमा दुई वर्ष संविधान निर्माणमा खर्च भयो, बाँकी दुई वर्ष सडक, शिक्षा, स्वास्थ्य क्षेत्रमा धेरै काम गरियो। ०७४ सालमा पनि निर्वाचित हुन पाएको भए जिल्लाका सबै पालिकामा गाडी पुर्‍याउने लक्ष्य थियो। अहिले राष्ट्रिय बजेट एक रुपैयाँ गएको छैन।

पालिकाहरूका लागि मात्र बजेट गयो, तर विकास निर्माणका लागि गएन। सांसद विकास कोषको पैसा खर्च त के भनौं सदुपयोग नै भएको छैन। अहिले तपाईंहरू तुलना गरेर हेर्न सक्नुहुन्छ- त्यतिखेर पनि सांसद विकास कोष थियो। दुई लाख रुपैयाँ मैले कुनै योजनालाई दिएँ भने चार लाखको काम हुन्थ्यो। अहिले दुई करोड रुपैयाँ हालेको ठाउँमा ३० लाखको काम भएको छैन।

त्यसको अर्थ हो- भ्रष्टाचार विकराल अवस्थामा छ। भ्रष्टाचार नियन्त्रण गर्नु पनि संघीय, प्रदेश दुवै तहका सांसदको दायित्व हो। उहाँहरूमा विकास निर्माणबारे कमजोर बुझाइ रहेछ भन्ने मलाई लाग्छ। यो नोक्सानी संखुवासभाका बासिन्दाले बेहोर्नुपरेको छ।

कुन कुन योजना रद्द भए यसबीचमा ?
मैले तत्कालीन भौतिक पूर्वाधार मन्त्री रमेश लेखक र सचिव देवेन्द्र कार्कीलाई निजी खर्चमा हेलिकप्टरमा लिएर गई एकैदिनमा दुईवटा सडक शिलान्यास गराएको थिएँ, दुवै कालोपत्रे हुने थिए। एउटा सभाखोलाबाट लेगुवा जोड्ने सडक थियो। र, अर्को केवाँखोलाबाट माम्लिङ जोड्ने सडक थियो। दुवैमा क्रमशः ९४ र ६६ करोड बजेट थियो। अर्थ मन्त्रालयबाट बजेट स्वीकृत पनि भएको थियो। निर्वाचन आचारसंहिता लागू हुनु अघिल्लो दिन सभाखोला-लेगुवा सडकको टेन्डर स्वीकृत भयो। केवाँ-माम्लिङ सडकमा भोलिपल्टदेखि आचारसंहिता लागू भएकाले टेन्डर हुन सकेको थिए।

अहिले केवाँ-माम्लिङ सडक कालोपत्रे योजना रद्द भएको छ, जुन हाल संखुवासभा प्रदेश ‘ख’ निर्वाचन क्षेत्रका लागि साह्रै महत्वपूर्ण सडक थियो। नोक्सानी बेहोर्नुपर्‍यो। यस्ता थुप्रै उदाहरण छन्। सभाखोला-लेगुवा सडकमा पनि ठाउँ-ठाउँमा मात्र कालोपत्रे भइरहेको छ। तथापि, त्यो असाध्यै ढिला भयो। धनकुटा क्षेत्रमा सात किलोमिटर र बाँकी संखुवासभामा पर्छ, यो सडक। धनकुटातर्फ सात किलोमिटरमा काम शुरु नै भएको छैन।

स्वास्थ्यक्षेत्रमै पनि हरेक पालिकामा १५ शय्याका अस्पताल निर्माण गर्ने निर्णय भएको थियो। अहिले कार्यान्वयनमा जाँदा हाल १५ को साटो पाँच शय्या कायम गरिएको छ। विकासमा पनि विभेद छ। नेकपाका साथीहरूले जितेका पालिकामा १५ शय्या नै कायम गरिएको छ। कांग्रेसले जितेका पालिकामा पाँच शय्या मात्र दिइएको छ।

अहिले प्रतिनिधिसभा पुनःस्थापना भयो भने पनि दुई वर्षपछि चुनावमा जानु नै छ। आगामी चुनावमा संखुवासभाका लागि तपाईंका एजेन्डा के हुन्छन् ?
पहिलो- भ्रष्टाचारमुक्त विकासको एजेन्डा हुनेछ। अहिले टोलटोलमा भ्रष्टाचार व्याप्त भएको छ। हामीले स्थानीय सरकार त भन्यौँ, तर त्यसलाई नटेर्ने, काम गर्दा आधा बजेट मात्र खर्च गर्ने प्रवृत्तिलाई रोक्नुछ। संखुवासभालाई भ्रष्टाचारमुक्त बनाउनु मेरो पहिलो प्राथमिकता हो।

दोस्रो- विकास निर्माण नै हो, जुन अधुरो छ। शिक्षा, स्वास्थ्य, खानेपानीका अधुरा काम सम्पन्न गर्न जोड दिनेछु। र, त्यसभन्दा महत्वपूर्ण विषय ऊर्जा हो। संखुवासभा ऊर्जा विकासका दृष्टिले महत्वपूर्ण जिल्ला हो।

नौ सय मेगावाटको ‘अरुण तेस्रो’ आयोजना निर्माणाधीन छ। त्यसबाट उत्पादन शुरु भएको पहिलो दिनदेखि नै नेपालले करिब दुई सय मेगावाट निःशुल्क प्राप्त गर्नेछ। दुई सय मेगावाटबाट संखुवासभाले २५ प्रतिशत विद्युत पाउनुपर्छ भन्ने हाम्रो माग हो। यो महत्वपूर्ण विषय हो। भएका सबै स्रोत परिचालन गर्न देऊ तिम्रो बजेट नदिए पनि हुन्छ भनेर सरकारसँग माग अगाडि सार्नेछु। यसले संखुवासभाको विकासमा दीर्घकालीन महत्व राख्छ।

संखुवासभाले कुल पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता राख्छ। यसलाई परिचालन गर्न पाउनुपर्छ। पाँचदेखि १० मेगावाटका साना आयोजनाहरू उत्पादनको चरणमा छन्। सय मेगावाटभन्दा माथिका ‘अपर अरुण’जस्ता आयोजना पनि निर्माणको योजनामा छन्। यस्तै, निजीक्षेत्रको लगानीमा करिब सय वटा जलविद्युत आयोजना निर्माणको क्रममा छन्।

अन्य जिल्लाजस्तै संखुवासभाको पनि मुख्य समस्या बेरोजगारी हो। सांसद विनोद चौधरीको संयोजकत्वमा लगानी, पूर्वाधार, दिगो विकास समिति गठन गरेको छ। त्यस समितिमा म सह-संयोजक छु। र, हामीले देशभर बेरोजार युवालाई रोजगारी दिलाउने योजना बनाइरहेका छौँ। युवालाई उद्यमी बनाउने हाम्रो सपना छ। कृषिक्षेत्रदेखि घरेलु उद्योगसम्म हरेक युवालाई आयआर्जनमा जोड्ने हाम्रो योजना छ।

जहाँ विद्युत आयोजना निर्माण भएका छन्, तिनै क्षेत्रमा ठूला उद्योग, कलकारखाना स्थापना गर्दा बढी लाभदायक हुने सिद्धान्त छ। संखुवासभाको हकमा त्यस्ता केही योजना तय भएका छन् ?

यो असाध्यै राम्रो सोच हो। संखुवासभाको हकमा भारत र चीनसँग छोटो दूरी भएकाले त्यही हिसाबका उद्योगहरूको परिकल्पना गर्न सकिन्छ। कारण- हामीलाई बजार अभाव हुँदैन। पर्यटकीय दृष्टिबाट पनि संखुवासभा असाध्यै महत्वपूर्ण जिल्ला हो। यस पाटोमा पनि धेरै गर्न बाँकी छ। यात्री आवागमनका दृष्टिले तुम्लिङटार विमानस्थललाई पनि फराकिलो बनाएर ठूला जहाज जान सक्ने बनाउनु छ।

उत्तर-दक्षिण करिडोरमा के काम भइरहेको छ, अहिले ?
बीचमा पुगेर काम अड्किएको छ। ठेकदारबाट सेनालाई काम जिम्मा लगाइएको छ। माथिबाट चीनको सीमादेखि १३ किलोमिटरजति ट्र्याक खुलेको छ। करिब ४२ किलोमिटरमा ट्र्याक खोल्न बाँकी छ। सेनाले त्यो ट्र्याक खोलेपछि चीनको सीमासम्म कच्ची सडक जोडिनेछ।

रेल, पानीजहाजजस्ता लोकप्रिय एजेन्डा नेकपाले नै अगाडि सारिसक्यो। अब कांग्रेससँग के एजेन्डा बाँकी छन् ?
विकासका एजेन्डामा हावादारी कुरा गरेर हुँदैन। सम्भावना के छ भन्ने पनि हेर्नुपर्छ। अन्य मुलुकको विकास हेर्दा असम्भव त केही छैन। तर, त्यसलाई नेपालमा कार्यान्वयनमा ल्याउन सकिन्छ कि सकिँदैन भनेर हेर्नुपर्छ।

कांग्रेस लोकतन्त्रवादी पार्टी हो। त्यसैले कांग्रेसको पहिलो प्राथमिकता लोकतन्त्र र नागरिक अधिकारको सुनिश्चितता हो। दोस्रो- आर्थिक विकास, रोजगारी सिर्जना र आयआर्जनका विषय पर्छन्। क्रमागत ढंगले देशको अर्थतन्त्रलाई हेर्नुपर्छ। र, त्यसको स्रोत परिचालन गर्ने क्षमता राख्नुपर्छ। त्यस्तो क्षमता भयो भने केन्द्र सरकार वा विदेशीसँग भर परिरहनुपर्दैन।

निजीक्षेत्रमा काम गरेको मेरो अनुभवबाट जे मैले देख्छु र जे अरूले देख्छन्, त्यसमा फरक पर्न सक्छ। यस हिसाबमा पनि म अरूभन्दा अलि बढी गर्न सक्छु होला, जनतालाई अलि बढी राहत दिन सक्छु होला भन्ने मेरो आत्मविश्वास छ। तर, त्यसको मूल्यांकन अन्ततः जनताले नै गर्ने हुन्।

अहिलेकै नेतृत्वमा भर परेर चुनावमा जाँदा कांग्रेस ‘रिभाइभ’ होला त ?
हामी पार्टीको आन्तरिक विषयभन्दा मुलुकको हितमा गृहकार्यमा जुटेका छौँ। त्यसैले कांग्रेसको नेतृत्वभन्दा महत्वपूर्ण मुलुक हुन्छ। कांग्रेस नेतृत्वबाट केही कमी कमजोरी भए होला। त्यसलाई सच्चाएर अगाडि बढ्नुपर्छ।

चारपटक प्रधानमन्त्री भएको व्यक्ति नेतृत्वमा हुनुहुन्छ। पार्टी फुट्दा पनि सभापति हुनुहुन्थ्यो, पार्टी जुट्दा पनि सभापति नै हुनुहुन्थ्यो। पक्कै पनि अनुभवका हिसाबले कम हुनुहुन्छ भन्ने मलाई लाग्दैन। तथापि, बजारमा राजनीतिक टीका-टिप्पणी हुने गरेका छन्। यसमा हामीले आफ्नो कमी कमजोरी सुधारेर अगाडि बढ्नुपर्छ।

कांग्रेस बूढाहरूको पार्टी भयो भनिन्छ। के त्यस्तै हो त ?
अनुभवीहरूको पार्टी भन्न पनि मिल्छ। कांग्रेसमा युवा पनि प्रशस्त छन्। विद्धान् पनि अरू पार्टीमा भन्दा कम हुनुहुन्न। यसलाई समिश्रण भन्छु म। ज्येष्ठ नेताहरूलाई शीरमा राख्ने संस्कारमा विश्वास राख्ने पार्टीको रूपमा कांग्रेस परिचित छ।

– नेपाली हेडलाइनबाट ।

तपाईको प्रतिक्रिया