सुनसरी । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका-४ निवासी रामकुमार चौधरीले हुकिङ गरेर विजुली प्रयोग गर्दै आएका थिए। चोरी गरेको विजुलीबाटै उनी सबै प्रकारका विद्युतीय सामग्री प्रयोग गर्थे।

चोरेको विजुली प्रयोग गर्दा उनलाई महशुल तिर्नुपर्ने कुनै झन्झट थिएन। नियमति विद्युत् प्रयोग गरेपनि तिर्नुपर्ने बिल घरमा नआउँदा उनको बचत हुन्थ्यो।

चौधरीजस्तै रामधुनी गाउँपालिका–८ निवासी राजकुमार उराँव पनि चोरेकै विजुलीबाट आफ्ना खेतमा सिँचाइका लागि पानीतान्ने पम्पबाट सिँचाइ गर्दै आएका थिए। खेतमा जति सिँचाइ गरे पनि विद्युत्को महशुल तिर्नु पर्दैनथ्यो।

चोरीको विद्युत् उपयोग गर्ने चौधरी र उराँवसहित सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–७ निवासी विजय यादव, कोशी गाउँपालिका–६ निवासी चन्दन यादव, इनरुवा नगरपालिका–८ निवासी रामचन्द्र मण्डलसहित ३५ जना उपभोक्ता एकैपटक विद्युत् चोरीको आरोपमा पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा विद्युत् चोरी नियन्त्रण गर्न प्राधिकरणले बनाएको योजनामा नेपाल प्रहरी र सशस्त्र तथा विद्युत कार्यालयका कर्मचारी सहितको टोलीले सुनसरीबाट एकासाथ ३५ जनालाई पक्राउ गरी कारवाही चलाएको छ।

उनीहरुबाट जनही ११ हजार ८३० जरिवाना असुल गर्दा तीन लाख ७८ हजार २४० असुलउपर गरिएको नेपाल विद्युत् प्राधिकरण इनरुवा शाखाका प्रमुख रामउद्धार साहले जानकारी दिए।

‘सुनसरीमा विद्युत् चोरी भइरहेको अन्य ठाउँबाट पनि सूचना आइरहेको छ, यसलाई पूर्णरुपमा नियन्त्रण गर्न अभियान चलाएका छौँ,’ साहले भने, ‘यस अभियानलाई सफल बनाउन विद्युत् चोरी गर्नेका छरछिमेकले पनि सहयोग गर्नुपर्छ। गैरकानूनी तरिकाले विद्युत् चोरी गर्दा मानिसको ज्यान पनि जान सक्ने भएकाले यसबाट बच्न र बचाउन अभियान सञ्चालन गरेका हौँ।’

आफ्ना सेवा क्षेत्रमा विद्युत् चोरी हुन नदिन निकै सतर्कता अपनाए पनि रातिको समयमा हुने चोरीलाई नियन्त्रण गर्न केही समस्या भएको उनले बताए। बिजुली प्रयोग गर्ने तर महशुल भुक्तानी नगर्ने उपभोक्ताको पनि सूची तयार गरेर विद्युत् विच्छेद गर्ने योजना बनाई काम वढाइएको प्राधिशरणले जनाएको छ।

अहिलेसम्म सुनसरीमा विद्युत् महशुल नतिर्ने १२२ जनाको लाइन काटिएको छ। लाइन काटिएका ग्राहकबाट कूल ३३ लाख ६६ हजार असुलउपर भएको प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया