डोटी । बलात्कारपछि हत्या गरिएकी बैडकी किशोरी भागरथी भट्टको हत्यामा दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन हुन थालेको छ। प्रहरीले भने अनुसन्धान साघुरिँदै गएको जनाएको छ।

सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चेडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनालाई प्रहरीले साँघुरो बनाउँदै ल्याएको बताएका छन्। डिआईजी सुवेदीले भागरथी बलात्कार तथा हत्या घटनामा प्रहरी निकै चनाखो भएर अनुसन्धान गरिरहेको बताए। ‘कतिपय अनुसन्धानका कुरा अहिले नै भन्न सकिँदैन, भागरथी घटना निकै साँघुरो बनाउँदै ल्याएका छौँ, चाँडै हत्यारा पत्ता लाग्नेमा विस्वस्थ भएका छौँ,’ उनले भने।

भागरथीका हत्यारा तथा बलात्कारीको खोजी अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सुवेदी र प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयसहितको टोली बैतडीमै खटिएको छ।

घटनाका हत्यारा अहिलेसम्म पनि कोही पक्राउ नपरेको भन्दै डोटी जिल्लासहित समग्र सुदूरपश्चिममा दिनहुँ विद्यार्थीले आन्दोलन गर्दै आएका छन्। भागरथी भट्टको हत्यारालाई चाँडो खोज गरी कारबाहीको माग गर्दै यहाँका सबै जिल्लामा प्रायः दैनिकजसो प्रदर्शन हुन थालेको छ।

सहकर्मी विद्यार्थी साथीलाई बलात्कार गरी हत्या गरेको हप्ता दिनभन्दा बढी समय बितिसक्दासमेत हत्यारा तथा बलात्कारी पत्ता नलागेको भन्दै यहाँका विद्यार्थी आन्दोलनमा उत्रिन थालेको अनेरास्ववियु डोटीका सहसंयोजक प्रकाश जोशीले बताए।

बलात्कारपछि हत्या गरिएकी भागरथीको भजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको उनको भनाइ छ।

स्वाब परीक्षणपछि रिपोर्टले थप अनुसन्धानका लागि सहज हुने प्रहरीले अपेक्षा लिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि बढी निगरानी बढाएर सुक्ष्म अध्ययन गरिरहेको छ।

यसका साथै तालीम प्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पनि प्रहरीले ‘सर्च’ गरेको तर कुकुरले खासै ठोस प्रमाण भने भेटाउन सकेको छैन। उनले प्रयोग गरिरहेको मोबाइलबाट पनि केही कुरा पत्ता लाग्ने प्रहरीको अनुमान छ।

भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोग, यहाँका विभिन्न सङ्घसंस्था, नागरिक समाजले सरकारसँग माग गरेका छन्।

उनीहरूले विज्ञप्ति जारी गर्दै उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानका क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत उपलब्ध गराउनसमेत सरकारसँग आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया