गुराँस न्युज । तेह्रथुम, २५ मंसिर । भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले लामो समयको संघर्षपछि बनेको नयाँ संविधानको कार्यान्वयन नै अहिलेको सफलता भएको बताउनुभएको छ । ‘संविधान त बन्यो, तर कार्यान्वयन होला कि नहोला ? भन्ने शंका थियो, अब त्यो हटेको छ, अहिलेका लागि यो नै सबैको जित हो’ उहाँले भन्नुभयो । 

तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार रहनुभएकी गुरुङले चुनावमा कसले जित्छ ? कसले हार्छ ? भन्ने भन्दा पनि अहिलेका लागि संविधानको कार्यान्वयन नै मुख्य उपलब्धि र सबैको जित भएको बताउनुभयो । कांग्रेसबाट समानुपातिक तर्फ सुरक्षित रहेको सीट त्यागेर प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएकी गुरुङ एमालेका भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित हुनुभएको छ ।

आइतबार राति मत परिणाम सार्वजनिक भएपछि सोमबार विहान पत्रकार सम्मेलन गर्दै नेतृ गुरुङले मत परिणामलाई आफुले सहज रुपमा लिएको बताउनुभयो । उहाँले पराजित हुँदैमा आफु जिल्लाको विकास र समृद्धिको बाटोबाट कत्ति पनि विचलित नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो पनि जिल्लाको विकासका लागि राजनीति भन्दा माथि उठेर लागेकी थिएँ, अब पनि लाग्छु, सधैँ लागिरहन्छु ।’

उहाँले जिल्लाको विकासका लागि राजनीति भन्दा माथि उठेर काम गर्न समेत निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाउनुभएको छ । आफु यसअघि दुई पटक सांसद हुँदा लोकतान्त्रिक मुल्य मान्यतामा आधारित संविधान निर्माण गरेको भन्दै अब त्यसको कार्यान्यनको बाटो अघि बढेको उहाँले बताउनुभयो । आफु संविधान मस्यौदा समितिको सदस्य भएर काम गरेको, र संविधान निर्माणको क्रममा देखिएका विभिन्न बाधा अबरोधहरु पार गर्दै अन्ततः संविधान कार्यान्वयनको बाटोमा गएको प्रति खुसी व्यक्त गर्नुभयो ।

‘अहिले स्थानीय तह, प्रतिनिधि र प्रदेश सभाको चुनाव सकिएको छ,’ उहाँले भन्नुभयो, ‘चुनावमा कसले हा¥यो ? कसले जित्यो ? भन्दा पनि मुलुकको मुल कानुन कार्यान्वयन गराउनका लागि सफल हुनु महत्वपुर्ण कुरा हो ।’ चुनावबाट प्राप्त जनताको अभिमतलाई स्वीकार्नु लोकतन्त्रको विशेषता भएको राज्यमन्त्री गुरुङको दाबी थियो ।

‘जनताको अभिमतलाई सबैले स्वीकार्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘विजयी नेता खापुङलाई मेरो व्यक्तिगत तर्फबाट बधाई र कार्यसफलताको शुभकामना छ ।’ पत्रकार सम्मेलनमा बोल्दै उहाँले सबै मतदाता, नेता कार्यकर्ता, चुनाव सफल बनाउन अहोरात्र खटिने कर्मचारी, सुरक्षाकर्मी र सन्चारकर्मी समेतलाई धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै तेह्रथुम प्रदेश सभा–१ का उम्मेदवार गोविन्द ढुंगाना र प्रदेश सभा–२ का उम्मेदवार विजय सम्बाहाम्फेले पनि सबै मतदातालाई धन्यवाद दिनुभएको छ ।

तपाईको प्रतिक्रिया