धनगढी । बैतडीमा बिहीबार मृत फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम् रिपोर्टबाट पुष्टि भएको छ।

जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम् रिपोर्टबाट दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए।

पोष्टमार्टम् रिपोर्टमा कज अफ डेथ बलात्कारपछि घाँटी थिचेर हत्या गरेको देखियो प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने, ‘विस्तृत जानकारी थप परीक्षणपछि खुल्छ।’ घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएको उनले बताए। प्रयोगशालाको रिपोर्टपछि अनुसन्धानमा थप सहयोग पुग्ने उनले बताए।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीको टोली हिजो –आइतबार) घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अधिकृतको टोलीसमेत बैतडी पुगेर अनुसन्धान गरिरहेको छ।

गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी भागरथीको शव बिहीबार साँझ दोगडाकेदार गाउँपालिकाकै लवलेक सामुदायिक वनमा हत्या गरेको अवस्थामा फेला परेको थियो।

पाँच दिन भयो सुराक पत्ता लागेन 

प्रहरीले घटनालाई गम्भीर रुपमा लिएको बताए पनि घटना भएको पाँच दिनसम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन। घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान भइरहेको प्रहरीको उच्च अधिकारीले बताइरहेका छन्।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले अनुसन्धानका लागि माथिल्लो निकायसमेत परिचालन भएको बताए। उनले हत्यारा पत्ता लगाउन सबै शक्ति परिचालन भएको बताउँदै छिट्टै पत्ता लाग्ने बताए।

अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ।

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक टोली परिचालन भएको छ।

प्रहरीको सुक्ष्म अध्ययन

अनुसन्धानमा खटिएको प्रहरी टोलीले भागरथीका आफन्तसँग सोधपुछ गरेको छ भने शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर सुक्ष्म अध्ययन गरिरहेको छ। प्रहरीले तालिम प्राप्त कुकुर धनगढीबाट लगेर हत्या भएको क्षेत्र खोजसमेत गरेको छ। प्रहरीले किशोरीले प्रयोग गरिरहेको मोबाइल घटनास्थलबाट फेला पारेर रिकभरी गर्ने प्रयास गरिरहेको छ। यद्यपि मोबाइलमा भारतीय सिमकार्ड प्रयोग भएकाले रिकभरी गर्न समस्यमा भएको बताउँदै आएको छ।

न्यायका लागि संघर्ष समिति 

किशोरीका आफन्त तथा स्थानीयले संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन्। आइतबारदेखि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरिएको संघर्ष समितिका सदस्य भुवन कार्कीले बताए। उनले संघर्ष समितिले पहिलो चरणमा तीन दिन शैक्षिक हड्ताल, माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ र माघ २९ गते आमहड्ताल गर्ने घोषणा गरेको बताए।

यसअघि शुक्रबार र शनिबार पनि आफन्त र स्थानीयले महाकाली राजमार्गमा चक्काजामसहित प्रदर्शन गरेका थिए।
प्रदेशसभामा किशोरी बलात्कारपछि हत्या प्रकरणले प्रवेश पायो

सुदूरपश्चिम प्रदेशसभामा बैतडीकी किशोरी बलात्कारपछि हत्या प्रकरणले प्रवेश पाएको छ। ६ महिना सकिनैलाग्दा आज आह्वान गरिएको प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरुले सो घटनालाई सरकारले गम्भीरताका साथ नलिएको भन्दै आक्रोश व्यक्त गरे।

बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य लिलाधर भट्टले बैठकमा बोल्दै घटनाको अनुसन्धानमा प्रदेश सरकारले ध्यान नदिएको बताए। उनले घटना घटेको ६ दिन बित्दासमेत प्रदेश सरकारको प्रतिनिधि पुग्न नसक्नु र विज्ञप्तिसमेत निकाल्न नसकेको भन्दै आक्रोश पोखे।

बैठकको विशेष समयमा बोल्दै नेकपाका प्रमुख सचेतक तारालामा तामाङले भागरथी प्रकरणको अनुसन्धान नितान्त केन्द्रीय सरकारमा निहित देखिएको बताए। सबै अधिकार आफ्नै हातमा लिएकोले बलात्कारका घटना दिनप्रति दिन बढिरहेको र अपराधीहरु खुलेआम घुमिरहेको बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले घटना घटेको लामो समय बित्दासमेत घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःख रहेको बताए। उनले निर्मला पन्त बलात्कार तथा हत्यामा जस्तै हाल भागरथी प्रकरण पनि सरकार चुकिरहेको बताए। उनले  सुदूरपश्चिम प्रदेशमा बलात्कारीहरुले दिनप्रति दिन प्रसय पाउने स्थान जस्तै बनेको भन्दै आक्रोश पोखे।

जनता समाजवादी पार्टी संसदीय दलका नेता कृष्णबहादुर चौधरीले बैतडी घटनामा संलग्नलाई चाँडै कानूनी दायरामा ल्याउन माग गरे।

 

तपाईको प्रतिक्रिया