काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय तेह्रथुम र बैतडीले नयाँ भवनबाट सेवा प्रारम्भ गरेका छन् । दुवै जिल्ला सरकारी वकिल कार्यालयका नवनिर्मित भवनको बुधबार उद्घाटन भएको छ । महान्यायाधिवक्ता अग्नी खरेलले ती जिल्लाका नवनिर्मित भवनको समुद्घाटन गरेका हुन् । खरेलले सरकारी वकिलको कार्यालय डोटीको भवन शिलान्यास समेत गरेका छन् ।

सम्बन्धित जिल्लामा भौतिक रुपमै र काठमाडौंबाट जुममार्फत् जोडिएर समुद्घाटन समारोहलाई सम्बोधन गरेका महान्यायाधिवक्ता खरेलले देशैभरि सरकारी वकिलको कार्यालयहरुलाई भौतिक साधन श्रोत सम्पन्न बनाएर उपयुक्त कार्य बातावरण बनाउने बताए ।

उनले सरकारी वकीलहरूले बौद्धिक विकास र व्यवसायिक विकाससँगै निष्ठापूर्वक वस्तुनिष्ठ प्रमाणको मूल्यांकन गरेर अभियोजन गर्नुपर्नेमा जोड दिए । ‘सरकारी वकिल कार्यालय पीडितको कार्यालय हो, पीडितमैत्री वातावरण निर्माण हुनुपर्छ, त्यसैले भौतिक रुपमा सक्षम भएपछि मात्रै त्यो सम्भव छ,’ महान्यायाधिवक्ता खरेलले भने ।

उनले अपराध हुनुभन्दा अगाडि अपराधको सचेतना सम्बन्धी जानकारी मानिसहरूलाई हुन सकेमा अपराध नियन्त्रणमा सहयोग पुग्ने बताए । त्यसका लागि प्रहरी र सरकारी वकिल कार्यालयले सहकार्य गरेर सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठतम नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले सरकारी वकील कार्यालयको नयाँ भवन निर्माणसँगै संस्थागत सुदृढीकरणमा मद्दत पुगेको बताए । उनले सरकारी वकीलहरूको कार्यसम्पादनमा समेत व्यावसायिकता, सिर्जनात्मकता र नयाँपन वृद्घि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र तेह्रथुमका जिल्ला न्यायधीश महेन्द्रप्रसाद पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । उच्च सरकारी वकील कार्यालय, दिपायलका निमित्त सहन्यायाधिवक्ता टेकबहादुर थापाले नयाँ निर्माण हुन लागेको जिल्ला सरकारी वकील कार्यालय, डोटी पुगेका थिए । भने जिल्ला सरकारी वकील कार्यालय तेह्रथुमका सहायक जिल्ला न्यायाधिवक्ता दिपक बस्याल र जिल्ला सरकारी वकील कार्यालय बैतडीका न्यायाधिवक्ता भानदेव जोशीले नवनिर्मित कार्यालयको भवन सम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।

 

खरेलको कार्यकालमा बने ३५ वटा भवन

महान्यायाधिवक्ता खरेलले आफ्नो कार्यकालमा मात्रै महान्यायाधिवक्ताको कार्यालय सहित ३५ वटा सरकारी वकील कार्यालयका नयाँ भवनहरु निर्माण गरेको बताए । अन्य छ वटा भवनहरु निर्माणाधीन रहेका छन् ।

सरकारी वकिलको कार्याल्य तेह्रथुमको भवन १४ असार, ०७५ मा महान्याधिवक्ता खरेलले नै शिलान्यास गरेका थिए । एक रोपनी जग्गामा बनेको भवन तीन तलासम्म छ ।

कार्यालयमा पीडितमैत्री कक्ष, थुनुवा कक्ष, सभाहल र अतिथि आवाससहितका २२ कोठाहरु छन् । भवन कान्छाराम÷देव एण्ड सायर जेभीले निर्माण गरेको हो । भवन निर्माणमा तीन करोड ४४ लाख ९७ हजार ७८३ रुपैयाँ खर्च भएको सहायक जिल्ला न्यायाधिवक्ता बस्यालले जानकारी दिए ।

‘निजी घरका केही कोठामा कार्यालय हुँदा काम गर्न सहज हुने कुरै भएन, अहिले भवन बनेपछि प्रहरी र प्रशासन कार्यालय पनि नजिक छन्, सुरक्षाका हिसावले मात्रै होइन, सेवा प्रवाहका लागि उपयुक्त बातावरण तयार भएको छ,’ सहायक जिल्ला न्यायाधिवक्ता बस्यालले भने ।

तपाईको प्रतिक्रिया