हिजो आज आँखामा निन्द्रा कम छ । सपना ज्यादा भएर होला, रातको समय अक्सर छट्पटि मै बित्छ । मनलाई राहत अनि आँखालाई निन्द्राको कामना गर्दै रातको धेरै समय फेसबुक, इन्स्टाग्राम स्क्रोल गरेरै व्यतित भइरहेका छन्, साथमा युट्बले दिएको साथ त छुटाउनै मिल्दैन ।

अचेल प्रविधिले हामीलाई कति माथि पुर्‍याएको छ । मन लागेको बेला आफुलाई मन परेका गीत–संगीत, सुचना, मनोरञ्जन आदि आफ्नो इच्छा अनुसारले हेर्न सुन्न सकिन्छ ।
केही बर्ष अगाडिको कुरा हामी आफुलाई मनपर्ने गीत संगीत सिनेमा मेमोरी कार्डमा राखेर सुन्थ्यौँ, त्यो भन्दा अगाडि कक्यासेट वा सिडीको सहायता लिनुपथ्र्यो । कहिलेकाही मेमोरी कार्ड फर्मेट हुँदा यति पीडा हुदैन थियो । अनि आफुलाई मनपर्ने कुरा डिलिट गर्न मन नलाग्ने नयाँ कुरा अटाउन पुराना कुरा हटाउनुपर्ने कम्ति झन्झट थिएन । म आफै पनि यो झन्झटबाट खुब ग्रसित थिएँ । अचेल न मेमोरी कार्ड फर्मेट होला भन्ने पिर, न फुल होला भन्ने डर ।

आफुलाई मन लागेको बेला सजिलै जुनसुकै कुरा हेर्न सुन्न सकिन्छ । बच्चादेखि बूढाबुढीसम्मलाई समय कटाउने माध्यम बनेको छ युट्युब । अति सरल र सहज भएको छ । आज पनि आधा रात बितिसकेको छ । सुनसान र अन्धकार रात । ब्याक ग्राउण्डमा बजेटका हिन्दी गजलहरुले मलाई साथ दिइरहेका छन् ।

आजा रे आजा रे ओ मेरे दिलबर आजा…
दिल कि प्यास बुझा जा रे …..

मौसम यसै पनि चिसो गीतले उसै उक्साइरहेको थियो । जहिल्यै एकपछि अर्को हिन्दी गजल बज्ने क्रमलाई भंङ्ग गरेर आज पुरानो नेपाली गीत बज्यो ।

नौ सय खोला तरेर जाने,
बिर्सने पो हौ कि मलाई बिर्सने पो हौ कि……
नफर्केसम्म पर्खेर बस्छु
सम्झनाको दियो जलाई बिर्सने पो हौ कि …..
बादल ढाकेमा रोई रहेछु भनेर ठाने है,
बाडूल्की लागेमा सम्झी रहेछु भनेर जाने है
नौ सय खोला…..

सुनिरहेको गीत बजेको भए त्यति ध्यान जादैन थियो । तर सामान्य मात्रै सुनेको गीतका शब्दहरुले तानिहाले । अनि गायिकाको आवाजले । त्यसपछि मैले गीतलाई रिपिट गरेरै सुनेँ । तारादेवीको आवाज कानमा धेरैबेर सम्म गुन्जिरहयो ।

त्यसपछि लगभग उनकै गीत बजिरहे निरन्तर । साँच्चिकै कहिलेकाही कुनै गीतका शब्दहरुले मन खुब छुन्छ । अनि लाग्छ गीतकारले यो गीत मेरै लागि लेखिदिएका हुन् । आँखामा निन्द्रा यसै पनि आउनेवाला थिएन । आँखालाई कष्ट दिदै गुगल सर्च गरेँ । संयोग भनौँ या के भनौँ माघ १२ गते अर्थात् आजैको दिन उनको स्मृति दिवस पर्दोरहेछ ।

आज तारादेवी हामीमाझ छैनन्, जीवन भोगाई संघर्षले परिपक्व भएर एउटा उचाई हासिल गरेर उनी संसारबाट विदा भएको १५ वर्ष बितेछ । तर आज पनि उनको आवाज मेरो कानमा बेला–बेला नै सही गुञ्जिने गर्छ । उनी नरहेपनि एउटा जीवन बाँचेर स्वर र संगीतको माध्यमबाट जीवित भएको आभाष भइरहन्छ ।

मलाई आज भन्दा १५ वर्ष अघिको माघ १२ को याद आयो ।

त्यो दिन अर्थात् २०६२ माघ १२ गते । जतिबेला म ३ कक्षामा पढ्ने फुच्ची केटी थिएँ । हुन त म रेडियो टेलिभिजनको बिकास भईसकेको जमाना कै मान्छे हुँ । तर त्यो बेला रेडियोमा पनि सीमित एफएम स्टेसन थिए, प्रायजसो रेडियो नेपाल नै सुन्ने चलन थियो ।

अहिलेको जस्तो रंगीन टेलिभिजन हैन, एउटा एन्टिनाबाट चल्ने सादा टिभी मात्रै थिए । त्यसमा पनि नेपाल टेलिभिजन र बंगाली च्यानल गरि दुई वटा च्यानलमात्रै आउँथ्यो । ड्याडी इलेक्ट्रोनिक पसल गर्ने भएकाले हाम्रो घरमै रेडियो÷टिभी थियो । गाउँमा सबै घरमा टिभी थिएनन्, टिभी हेर्न गाउँका थुप्रै मान्छे आउँथे हाम्रो घरमा । कहिलेकाही ममीलाई काम सघाईदिन्थे, अनि केहीछिन टिभी हेर्छौ भन्ने गर्थे ।

सधैं जसो समाचार र बिभिन्न कार्यक्रम मात्रै दिइराख्ने रेडियो नेपालमा एक–एक छिनमा गीत बजिरहेको थियो । एकपछि अर्को गर्दै गीत बजिरह्यो ।

गीत संगीत भनेपछि म सानैबाट हुरुक्क हुन्थे रे ! ठुलो मम्मीहरु अझै पनि भन्नुहुन्छ, म ४–५ वर्षकि हुदैँ खेरि खुब गीत गाउथे रे ! उहाँहरु जाँदा खुब गीत सुनाउथे रे ! सानै देखि गीत संगीत भनेपछि हुरुक्कै हुने । स्कुलमा पनि सरले के–के आउँछ गर भन्दा सुरुमै गीत गएर सुनाउने । उसो त २ देखि ३ पटक सम्म सुनेपछि मलाई प्राय सबै गीत कण्ठ हुन्थे । जहिले समाचार मात्रै बजाउने रेडियोले यसरी छिन–छिनमै गीत बजाइरहँदा मलाई के चाहियो र ? त्यो दिन मैले धेरै गीतहरु एकैसाथ सुन्न पाएकी थिएँ ।

फुलको थुंगा बगेर गयो गंगाको पानीमा,
कहिले भेट होला है राजै यो जीन्दगानीमा……. ।

साँघुरीवारी नि है यो धारापानी, गड्तिरको हौ हजुर बालुवा,
खरो है सुर्तीले हौ बाडुल्की लाग्यो खानुहोस् हौ हजुर मलुवा….. ।

उकाली ओरालीहरुमा, भन्ज्याङ अनि चौतारीहरुमा,
सुन्दर ती दहहरुमा, पहाडका विशाल छातीहरुमा,
जहाँ जहाँ जान्छौँ तिमी म बाटो बनि पच्छ्याइरहन्छु… ।

सोचे जस्तो हुन्नँ जीवन, सम्झे जस्तो हुन्नँ जीवन,
जस्तो भोग्यो, उस्तै हुन्छ, देखे जस्तो हुन्नँ जीवन ।

कालिपारी दाई कति राम्रो, ढाका टोपी कादैमा गलबन्धी….।

यी गीतहरु रेडियो मा खुब बजिरहे । म मख्ख परेर सुनिरहेँ । ऊ बेला थाहा सम्म थिएन यी गीत कसले गाएको हो ? जहिल्यै समाचार मात्रै बजाउने रेडियोले आज किन गीत मात्र बजायो भनेर ? मलाई पाँच कक्षामा पुगेपछि मात्रै थाहा भयो यी गीत गाउने गायिका जीवित रहिनन् भनेर ।

हाम्रो स्कुलमा बिहीबार टिफिन पछि सधै नाँचगान हुने गथ्र्यो । यहाँ गीत गाउन नाँच्न पायने भएकाले बिहीबार अरु दिन भन्दा खुब रमाईलो लाग्थ्यो, म गाउन भनेपछि सबैभन्दा अगाडि सर्थेँ । सरहरुले पनि मलाई खुब माया गर्ने । म गाउन थालेपछि सबैजना वरिपरि बसेर सुन्ने गर्थे, मैले ७–८ कक्षासम्म खुब धेरै गाएँ तारादेवीका गीतहरु । शब्द भाव नबुझे पनि भाका टिपेर गाउन जान्दथेँ । आज उनै तारादेवीको स्वर्गबास भइसकेको १५ वर्ष बितिसकेछ । यो १५ वर्षमा धेरै कुराहरु बद्लिए ।

उनका हरेक गीतहरु भित्र भाव छन् । समर्पण छन् । हरेक शब्द र संगीतले न्याय पाएको अनुभूति हुन्छ अहिले पनि । वास्तवमै यस्ता महान् श्रष्टालाई देख्न नपाउने हामी कति अभागी पुस्ता हौँ ? उनलाई सम्झिएपछि, उनलाई बुझेपछि अहिले मेरो मनमा यस्तै खेलिरहेको छ ।

त्यो बेलामा ३ कक्षा पढदै गर्दा तारा देवीका गीत गाउने मान्छे, आज म कहीकही मात्रै उनका गीत सुन्ने गर्छु, किनकि अब म निक्कै ठुली भइसकेँ क्यार । एक बेला म उनका केही गीत खुब सुन्ने गर्थेँ । जतिबेला म गहिरो प्रेम सम्बन्धमा थिएँ, उनका गीतमा यति दुब्थेँ कि कहिलेकाँही त गीत सुन्दा–सुन्दै आँसु पनि खस्थ्यो ।

तिम्रा पाउहरुमा म सधै झुकिरहन्छु, फुलै फुलको मौसम तिमीलाई ।
तारा जुनको रमझम तिमीलाई, मेरो माया हरदम तिमीलाई ।।
तिमीलाई हासेर बिदा मात्रै दिर्ई सकेथे, आँसु झरी सकेछन्
म तिनलाई पुछ्न थालेँ, तिमी मलाई छोडी गइसकेको मात्र के थियौ तिमी फर्कने दिन म हतारिदै गन्न लागेँ ।

धेरै जनाको जन्मदिनमा ‘शुभकामना भरि हरेक स्वासमा तिम्रो दिर्घायुको कामना गर्न सकुँ म’ यो गीत धेरैलाई सुनाइरहन्थे । कहिलेकाहीँ अझै पनि सुनाउने गर्छु । त्यो बेला खुब सुनेका गीत हुन् यी । हरेक कुराको एउटा बेला हुन्छ, सायद जस्तो कि त्यो बेला रेडियोमा गीत कुन बेला आउँछ ? र सुन्न पाइन्छ जस्तो हुन्थ्यो । आज तिनै गीतहरु मलाई मन लागेको समयमा सुन्नसक्छु । प्रविधिले हामीलाई खुब सरल र सहज बनाईदिएको छ । तर हामी आफ्नै दैनिकीमा तल्लीन छौँ । अझ हाम्रो पछाडिको पुस्तालाई हेर्छु, उनीहरुप्रति पुराना कुराकों लागि समय छैन । बच्चाहरुलाई जन्मिनेबित्तिकै अंग्रेजी माध्यमका कविताहरु र कार्टुन देखाएर भुलाउने परिस्थिति आएको छ ।

बच्चालाई बोली फुट्न साथ अंग्रेजी सिकाइन्छ । ऊ बेला हामी ‘तारा बाजी लै लै, माइजु आइन् डोली, पापा ल्याइन् सोली’ भनेर गाउँदा कति फुरुङ्ग हन्थ्यौँ ? चि मुसी चि ! मुसाले खायो धान’ भनेर गाउँथ्यौँ । त्यो पनि नेपाली किताबमा लेखिएको हुन्थ्यो । साथीभाईहरुसँग कसले राम्रोसँग लय हालेर गाउने ? भनेर प्रतिष्पर्धा हुन्थ्यो । क्या समय थियो त्यो !

कक्षा–३ मा पढ्दादेखि नै हो, तारादेवीका गीता सुन्ने, सुनाउने गर्न थालेको । अहिले म स्नात्तकोत्तर तेश्रो सेमेष्टरमा पढ्दैछु । जीन्दगीका २३ औँ वसन्तको प्रहर सकिनै लागे, तर आज मलाई फेरि यी गीतहरुले आफ्नो बाल्यकाल फर्काइदिए । तारादेवीको स्मृति दिवसकै संघारमा तनमनले सम्झने प्रयत्न गरेँ । उनी गतिलो बाहना बनिन् यी दुवै कुरा सम्झनका लागि ।

तारादेवीको प्रेमविवाह भएको थियो रे ! उनका पति हवाईचालक हुनुहुन्थ्यो भन्ने सुनेपढेकी हुँ । दुई पतिपत्नीबाट एउटी छोरी चारु तथा दुई छोरा शशी र रवि जन्मे । तारादेवीका जवान छोरा शशी क्यान्सर रोगका कारण दिवङ्गत भए । पति हवाई दुर्घटनामा बिते । जागिर खोसिएर त्यसको पीडा बोक्दा–बोक्दै पुत्रवियोग र फेरि त्यसपछि पतिको निधन हुनु तारादेवीको जीवनका अत्यन्तै मर्माहत क्षण थिए ।

त्यस्ता डरलाग्दा घटनापछि उनको स्वर पनि पीडा र वेदनाको दह गुञ्जिन थालेको थियो होला । २०५६ साल फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर गीत गाएकी तारादेवीले नेपाली संगीतलाई उचाईमा पुर्‍याइन् । उनलाई विविध पुरस्कारले पुरस्कृत गरिएको छ ।

नौ सय खोला तरेर जानेहरु मध्ये कतिको प्रतिक्षा पूरा भयो ? त कति काठको बाकसमा फिर्ता भएसँगै प्रतिक्षाको दियो निभेर गयो । ढाका टोपीले बेला मौकामा शिरको स्पर्श पाउनेगर्छ । तर, गलबन्दीले काँधको स्पर्श बिर्सिसक्यो ।

उनका हरेक गीतहरु भित्र भाव छन् । समर्पण छन् । हरेक शब्द र संगीतले न्याय पाएको अनुभूति हुन्छ अहिले पनि । वास्तवमै यस्ता महान् श्रष्टालाई देख्न नपाउने हामी कति अभागी पुस्ता हौँ ? उनलाई सम्झिएपछि, उनलाई बुझेपछि अहिले मेरो मनमा यस्तै खेलिरहेको छ । तर, हामीसँग यस्ता श्रष्टाहरुलाई सम्झने फुर्सद कहाँ छ र अहिले ? हुन पनि हो, थरिथरिका गीत संगीतहरु आएका छन् । जति बेला भन्यो, त्यहीबेला । जुन गीत भन्यो, त्यही । क्षणभरमै मुठ्ठीभरमा अटाउने मोवाइलमा राखेर सुन्न सक्छौँ हामी ।

त्यो बेला गीत संगीत खुब मनपथ्र्यो । स्कुलमा कार्यक्रम हुँदा सबैले तिमीले गाउनुपर्छ भन्दा कम्ति खुसी लाग्दैनथ्यो । पुरस्कार पनि पाउथेँ । कसैले ड्याड्डीमम्मीको अगाडि तपाईको छोरीले साह्रै राम्रो गाउँछिन् भनिदिँदा भुईमा खुट्टा हुदैनथ्यो । भविष्यमा एउटा कुशल कलाकार बन्छु जस्तो लाग्थ्यो । अचेल उमेरसँगै चाहनाहरु पनि बद्लिए । कहिलकाँही गुनगुनाउने गर्छु, कोही नजिकको साथीहरुले सुन्ने मन गरे भने सुनाउँछु पनि ।

पहिलो पटक घरबाट निस्किँदा सुरुमा सानो खोल्सी तरेकी थिएँ । त्यसपछि नदी तरेँ । सानो खोल्सी तर्दा सपना सानै थिए । नदी पार गर्दै जाँदा अझै ठूला ठूला नदी थपिदै गए । थुप्रै डाँडाकाँडा र पहाडहरुले थिच्दै–किच्दै गए । त्यसैले चाहनाहरुले बाटो अन्तै मोडे । तर, जीवन सोचेजस्तो कहाँ हुँदो रहेछ र !

वास्तवमै समय धेरै बद्लिसकेको छ, हामीमध्ये धेरैले उकाली ओरालीहरु बिर्सिसकेका छौँ । विकासको नाममा धेरै भन्ज्याङ र चौतारीहरु भत्किसकेका छन् । दहहरु मासिसकेका छन् ।

नौ सय खोला तरेर जानेहरु मध्ये कतिको प्रतिक्षा पूरा भयो ? त कति काठको बाकसमा फिर्ता भएसँगै प्रतिक्षाको दियो निभेर गयो । ढाका टोपीले बेला मौकामा शिरको स्पर्श पाउनेगर्छ । तर, गलबन्दीले काँधको स्पर्श बिर्सिसक्यो ।

कति फुलका थुँगा बगेको स्वच्छ गंगाको पानी प्रदुषित बनेरै ढल गन्हाउने भइसक्यो । साँच्चिकै, जीवन सोचेको देखेको जस्तो छँदैछैन ।

आज तारादेवी हामीमाझ छैनन्, जीवन भोगाई संघर्षले परिपक्व भएर एउटा उचाई हासिल गरेर उनी संसारबाट विदा भएको १५ वर्ष बितेछ । तर आज पनि उनको आवाज मेरो कानमा बेला–बेला नै सही गुञ्जिने गर्छ । उनी नरहेपनि एउटा जीवन बाँचेर स्वर र संगीतको माध्यमबाट जीवित भएको आभाष भइरहन्छ ।

अरु बेला फुर्सद नभए पनि उनको स्मृति दिवसमा अधिकांश एफएमहरुले उनलाई पुनः एक पटक सम्झिनेछन् । उनका कोकिलकण्ठका सुमधुर गीत बजाउनेछन् । र फेरि एक पटक तारादेवीलाई अमर बनाउनेछन् । अनेकौँ, सुखदुःख आँसु हाँसो सम्हालेर, सोचेको देखेको र रोजेको जीन्दगी बाँचेर यो संसारमा मृत्युपछि जसरी तिमीलाई सम्झिरहेछु । त्यसैगरि मलाई पनि कसैले सम्झने पात्र बन्न सक्छु कि सक्दिन थाहा छैन ।

तपाईको प्रतिक्रिया