काठमाडौं, मंसिर २५ – ‘जीवनबहादुर शाहीले पनि चुनाव नजितेको भए प्रदेश नं. ६ को १० जिल्लामा कांग्रेस शून्य नै हुन्थ्यो’ कांग्रेस वृत्तमा मात्र होइन, जीवनबहादुर शाही अहिले गैर कांग्रेस र चुनावको नतिजासँगै जोडिएर आउने चर्चा परिचर्चामा संवोधन भैरहने पात्र भएका छन् ।

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा हासिल गरेको नतिजाको चर्चा हुँदा जीवनबहादुर शाहीको नाम कहिँ न कतै जोडिएर आइरहेकै हुन्छ ।

हुन पनि जीवनबहादुर शाही नेपाली कांग्रेसबाट विजयी एक मात्र प्रदेशसभा सदस्य हुनुभएको छ । आफूलाई प्रदेश नं. ६ को मुख्यमन्त्रीको दाबी गर्दै आएका शाहीले कांग्रेसलाई शून्य हुनबाट त जोगाउनु भयो तर कांग्रेसका अरु नेताले पराजय भोग्नुपर्दा मुख्यमन्त्री हुने सपनामा धक्का लागेको मात्र होइन प्रदेश संसदमा विपक्षी दलबाट प्रतिनिधित्व गर्ने एक्ला प्रदेश सांसद हुनुभएको छ ।

नेपाली कांग्रेसले प्रदेश नं. ६ को १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्य र २४ वटै प्रदेशसभा सदस्यमा उम्मेदवारी दिए पनि कांग्रेसले हुम्लाको प्रदेशसभा ‘ख’ मा मात्र जितेको हो ।

कांग्रेसका जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्रका विजय भण्डारीलाई ५२६ मतान्तरले हराएपछि उहाँ प्रदेश नं. ६ को एक्ला प्रदेशसभा सदस्य हुनुभएको हो । उहाँले ४ हजार ५१९ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी विजय भण्डारीले ३ हजार ९९३ मत ल्याउनुभएको छ । प्रदेश संसदमा १३ जना एमालेका, ९ जना माओवादी केन्द्रका र कांग्रेस र स्वतन्त्रका एक/एक जना सांसद हुनेछन् ।

कांग्रेसका सबैले हार्दा कसरी जिते शाहीले

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा कांग्रेसका अरु कोही पनि उम्मेदवारले जित्न नसक्दा हुम्लाका जीवनबहादुर शाहीले कसरी जिते त ? जीवनबहादुर शाहीलाई नजिकबाट चिन्नेहरु भन्छन् ‘जीवनबहादुर हुम्लाको जिउँदो सिंह हो ।’ जीवनलाई किन पनि त्यसो भन्दोरहेछ भने द्वन्द्वकालमा तत्कालीन माओवादीले ज्यान मार्ने धम्की दिएर लखेट्दा पनि जिल्ला छाडेका रहेनछन् ।

हुम्लाको खार्पूनाथमा जन्मिएका शाही गाउँमा बस्ने अवस्था नभएपछि सदरमुकाम सिमिकोट जानुभयो तर जिल्ला छाड्नुभएन । घरमा माओवादीले आगो लगाएको हेर्न नसकेर शाहीको आमाले प्राण त्याग्नुभयो तर उहाँले जिल्ला त्याग्नुभएन र हुम्लाका बासिन्दाको सुख दुःखमा साथ दिइरहनुभयो ।

उहाँले हुम्लाको जिल्ला विकास समितिको सभापति हुँदा जिल्लाको सबै ठाउँमा समानुपातिक विकासको खाका कोरेको, प्रचण्ड नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएर जिल्लाको र क्षेत्रकै पर्यटन प्रबर्द्धनका लागि काम गरेको तथा छोटो समयका लागि खानेपानी तथा सरसफाइ मन्त्री भए पनि राम्रो काम गरेको जस्ता काम गरेकाले नै कांग्रेसका सबैले हार्दा पनि जीवनले जितेको हुम्लाका रामबहादुर शाहीले बताउनुभयो ।

खाप्र्रनाथमा सिंचाई सुविधा ल्याउन १५ बर्षभन्दा बढी मुद्दा खेप्नु परेको र गाउँलाई झिलीमिली बनाउन विजुली बत्तीको व्यवस्था गरेको उहाँका प्रशंसकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया