काठमाडौं । पुर्ननिर्माणपछि चिटिक्क परेको रानीपोखरीमा लेउ लागेर कुरुप बनेपछि काठमाडौ महानगरपालिकाले पोखरीको सरसफाई गरेको छ ।

महानगरले पानीमा बसेको लेउ सफा गरेको हो । लेउ सफा गरेपछि पानीको सतह पनि घटेको छ । यसअघि पोखरीमा ५.२ फिट पानी भरिएको थियो । तर, अहिले पानी घटेर तीन फिटमा झरेको छ ।

‘पोखरीमा पुनः पानी भर्ने बारे महानगरपालिकासँग छलफल भएको छ, केही दिनमै सरसफाईको काम पूरा गरेर पानी भरिन्छ,’ पुननिर्माण प्राधिकरणका राजु मानन्धरले भने ।

महानगरपालिकाले नगर प्रहरी खटाएर पोखरीको लेउ हटाउने कार्य गरिरहेको छ ।

पोखरीको शुद्धीकरण गरी दीर्घकालिन समाधानका लागि सरोकारवाला निकायसँग समेत छलफल थालेको छ । प्राधिकरणले पोखरीको पुनर्निर्माण पूरा गरेपनि अहिलेसम्म हस्तान्तरण गरिसकेको छैन ।

आफु मातहत आइनसकेको भएपनि पोखरी सरसफाईको जिम्मेवारी महानगरपालिकाले लिएको प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले बताए ।

‘पोखरी पुनर्निर्माण पछि हस्तान्तरण नहुँदै लेउले भरिएका समाचार आउन लागे, महानगरले टुलुटुलु हेरेर बस्ने कुरा भएन, त्यसैले यसको सफाईको जिम्मेवारी महानगरले लिएको हो,’ उनले भने ।

पोखरीमा लेउ जम्मा हुने कारण पत्ता लगाएर माछा राख्ने वा लेउ मार्ने विषादि प्रयोग गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया