काठमाडौं । तराई क्षेत्रमा बसोबास गर्ने मुसहरहरुले अन्तर्राष्ट्रिय भुईया अर्थात् भूमि दिवस मनाएका छन् ।

‘हाम्रो संस्कृति, हाम्रो स्वाभिमान, तोडौँ विभेदके जंजिर, देखौँ बीर पुर्खाको नजिर’ भन्ने नाराका साथ हरेक वर्ष माघ १ गते मुसहरहरुले भुईया दिवस मनाउदै आएका छन् । भुईया महाराजको पुजा आराधना गर्दै दुई वर्ष यता दिवस मनाउन थालिएको मुसहर अधिकारकर्मी पचु माझीले बताए ।

‘जन्म भूमिमै, कर्म भूमिमै, तर मुसहरसँग भूमि छैन, सरकार भूमि दिदैन,’ उनी भन्छन्, ‘त्यसैले भूमि माग गरेर दिवस मनाउन थालेका हौँ ।’ दिवसको अवसरमा भएको कार्यक्रममा मुसहर समुदायको वर्तमान अवस्था, त्यसको कारण र समाधानका उपायहरुबारे छलफल भएको छ ।

सो अवसरमा उम्लिरहेकोे तातो दुधले नुहाउने अपटौनी पुजा गरिएको छ । तराईका मुसहर पनि कुनै वेला राजा थिए । तर, आफ्नै बसोबास भएको भूमि पनि आफ्नो छैन ।

माझी भन्छन्, ‘राजा भएको मुसहर कसरी भूमिहीन भए ? त्यसको खोजी सुरु भएको छ, अब मुसहरका संस्कृति, भेषभूषाको संरक्षण र उनीहरुको जीविकोपार्जनका लागि राज्यले सहयोग गर्नुपर्छ ।’

कार्यक्रममा मुसहरहरुको अधिकार प्राप्तिका लागि सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान तथा सांस्कृतिक प्रस्तुतीहरु समेत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया