काठमाडौं । तेह्रथुमका जनप्रतिनिधिले लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेका छन् ।

लालीगुराँस नगरापलिकाका मेयर अर्जुनबाबु माबुहाङ सहित नगरपालिकाका जनप्रतिनिधिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर बसन्तपुरमा इलाका प्रशासन कार्यालय स्थापन गरिदिन माग गरेका हुन् ।

स्थानीय जनप्रतिनिधिलाई लिएर नेकपाका नेता तथा प्रतिनिधिसभाका सदस्य विजय सुब्बा पनि गृहमन्त्रीको निवास पुलचोक पुगेका थिए । हाल लालीगुराँस नगरपालिकाका बासिन्दाले नागरिकता, राहदानी लगायत प्रशासनिक सेवा सुविधा लिन सदरमुकाम म्याङलुङ्गस्थित जिल्ला प्रशासन कार्यालय जानुपर्ने अवस्था छ ।

बसन्तपुर र म्याङलुङ्गको दुरी २६ किमिमात्रै हो । तर, सेवा लिन दुई दिन लाग्छ ।

‘दुरी थोरै मात्रै हो, तर प्रशासनको सेवा लिन दुई दिन लाग्छ, विहान गएर काम सकेर घर फर्किन सक्ने अवस्थै छैन,’ मेयर माबुहाङले भने ।

‘सवारी साधनको मुख्य समस्या हो, कार्यालय समयमा पुगेर सेवा लिँदा आधा दिन बित्छ, फर्किने बेला गाडी पाइदैन,’ माबुहाङले थपे ।

नागरिकता, सिफारिस लगायत साधारण कामका लागि नगरबासीले दुई दिनको समय खर्चिनुपर्ने अवस्थाले संघीयताको महसुस गराउन नसकेको उनी बताउँछन् ।

‘एउटा सिफारिस वा नागरिकता मात्रै लिनलाई पनि दुई दिन लाग्छ, यो संघीयताको मर्मविपरीत पनि हो,’ मेयर माबुहाङ प्रश्न गर्छन्, ‘जनतामा संघीयताको महसुस हुन सकेन । कि संघीयता त्यही हो ?’

तपाईको प्रतिक्रिया