काठमाडौँ । तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ। सिकाइ पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि नगरपालिकाले पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप वार्षिक तीन हजार रूपैयाँका दरले दिने निर्णय गरेको नगर शिक्षा शाखा प्रमुख होम न्यौपानेले जानकारी दिए।

यसैगरी  पूर्वप्राथमिक तहका बालबालिकालाई निःशुल्क पोशाक दिने व्यवस्थासमेत गरिएको छ। नगरपालिका क्षेत्रभित्र १९ सामुदायिक विद्यालयमा ९१९ विद्यार्थी पूर्वप्राथमिक तहमा अध्ययनरत् छन्। नगरपालिकाले विद्यालयको पाठ्यक्रम ढाँचानुसार कक्षा १ देखि ८ सम्म आफ्नै स्थानीय पाठ्यक्रम तयार गरिसकेको र सोकाआधारमा पाठ्यपुस्तक तयार गरी क्रमशः लागू गरिरहेको छ। शैक्षिक सत्र २०७६ मा कक्षा १ र ६ मा स्थानीय पाठ्यपुस्तक लागू गरिएको छ। आगामी शैक्षिकसत्र २०७८ देखि कक्षा १ देखि ८ सम्म नै स्थानीय पाठ्यपुस्तक लागू गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया