काठमाडाैँ । कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीभित्रैको अन्तर्घातका कारण आफू पराजित भएको बताएका छन् । अन्तर्घातीलाई कारबाही गर्नुका साथै देशभर पार्टीको हारको कारण र यसको निदान खोज्नुपर्ने उनले बताए । ‘निर्वाचनको समग्र नतिजा कांगेसका लागि दुःखद रह्यो । यसले कांग्रेसलाई पक्कै राम्रो गरेको छैन । यो नतिजा देशकै लागि पनि राम्रो होइन । साथै, हामी तनहुँमै पनि पराजित हुनुपुग्यौँ,’ नेता पौडेलले नयाँ पत्रिकासँग भने, ‘वाम गठबन्धनभन्दा पनि पार्टीभित्रैकै आन्तरिक कारणले हामी पराजित भएका छौँ ।’
कांग्रेसबाट टिकट नपाएपछि नेता गोविन्दराज जोशीले पनि पौडेल उम्मेदवार रहेको तनहुँ १ बाटै स्वतन्त्र उम्मेदवारी दिएका थिए । भ्रष्टाचारको मुद्दा किनारा नलागेको अवस्थामा जोशीको उम्मेदवारी अवैधानिक रहेको भन्दै पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । निर्वाचन आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी आधारमा टेक्दै जोशीको उम्मेदवारी खारेज गरिदिएको थियो । यसबाट क्रूद्ध बनेका जोशीले पौडेललाई जसरी पनि हराउने भन्दै अभियान नै थालेका थिए ।
०४८ सालयता हरेक निर्वाचनमा पौडेल फराकिलो जित हात पार्दै आएका थिए । तर, एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग ६ हजार ८०२ मतान्तरले पराजित भए । पौडेलले २७ हजार ६९० र श्रेष्ठले ३४ हजार ४९२ मत पाए । ‘कांग्रेसले हारजितको पर्वाह नगरी लोकतन्त्रलाई अघि बढाएको छ । लोकतन्त्रको रक्षा, गणतन्त्रलाई संस्थागत गर्न सधैँ अग्रसर रहन्छ । मेरो जीवन सदैव देश, जनता र लोकतन्त्रप्रति समर्पित रहन्छ । देश र जनताका सेवामा क्रियाशील रहनेछ,’ पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।