काठमाडौं। पछिल्लो समय नेपाल आयल निगम नमुना संस्थानका रूपमा स्थापित हुन थालेको छ। निगमको संस्थागत र नीतिगत सुधारमा जोड दिएपछि निगमको पहिचानमा फेरिन थालेको छ। एक समयमा नेपाल आयल निगम बेथितिको अड्डाका रूपमा प्रख्यात थियो। तर निगमको नेतृत्वमा सुरेन्द्रकुमार पौडेलको इन्ट्री भएसँगै आफ्नो परिचय फेर्न निगम सफल बनेको छ। भौतिक पूर्वाधारको विकासमा पनि निगम सक्षम बन्दै गएको छ।

अहिले आयल निगमले पुराना रोकिएका र केही नयाँ गरी दर्जनभन्दा बढी आयोजना निर्माण एकसाथ अघि बढाएको छ। इन्धन डिपो विस्तार, ग्यास प्लान्ट, प्रयोगशाला, डिपो अटोमेसन, पाइपलाइन, ईआरपीलगायत आयोजना निगमले अघि बढाएको छ। महत्त्वपूर्ण योजनाका रूपमा हेरिएको मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको सफलतापछि निगमले अन्य महत्त्वाकांक्षी योजनाहरू पनि अगाडि बढाएको छ।

पाइपलाइन विस्तार

निगमले अमलेखगन्जसम्म ल्याएको पेट्रोलियम पाइपलाइन चितवनसम्म ल्याउन विस्तार गर्ने तयारी गरेको छ। मोतीहारी-अमलेगन्ज पेट्रोल पाइपलाइन चितवनसम्म विस्तार गर्ने आईओसीसँग सहमति भैसकेको छ। सहमति अनुसार अहिले सम्भाव्यता अध्ययनको कार्य भइरहेको छ। सम्भाव्यता अध्ययन कार्यदलले सर्भेको प्रारम्भिक प्रतिवेदन आयल निगमलाई बुझाइ सकेको छ।

परियोजनाका लागि आवश्यक पर्ने जग्गा खरिदका लागि छानबिनको क्रममा रहेको निगमले जनाएको छ। त्यस्तै गोरखपुर देखि भैरहवासम्म निर्माण गरिने प्राकृतिक ग्यास पाइपलाइनका लागि खरिद गरेको जग्गा छानबिनको क्रममा रहेको निगमले जनाएको छ। उक्त आयोजनको हाल सम्भाव्यता अध्ययनको काम भइरहेको छ।

भारतको सिलगुडीदेखि नेपालको झापा चारआलीसम्म निर्माण गरिने पेट्रोलियम पाइप लाइनको प्रारम्भिक अध्ययन सकिएको छ। भारतको मोतिहारीदेखि नेपालको चितवनसम्म पेट्रोलियम पाइपलाईनको मार्ग हुँदै एलपि ग्यासको पाइपलाइन निर्माण गर्ने योजना अघि सारिएको थियो। यसको अध्ययन प्रतिवेदन पनि निगमलाई प्राप्त भइसकेको छ। तर हालसम्म आयोजना अघि बढाउने वा नबढाउने सम्बन्धमा ठोस निर्देशन प्राप्त नभएको निगमले जनाएको छ।

अमलेखगञ्जदेखि निजगढ हुँदै काठमाडौं तराई द्रुतमार्गमा पाइपलाइन निर्माणको योजना अघि सारिएको थियो। त्यस सम्बन्धमा इन्जिनियरिङ संस्थान पुल्चोकको सहयोगमा नेपाली सेनाले अध्ययन गरेको थियो। तर हालसम्म सेनाले आवश्यक कागजात उपलब्ध नगराएकोले यस बारेमा थप निर्णय हुन नसकेको निगमले जनाएको छ। चीनको केरुङ देखि रसुवागढी हुँदै नुवाकोटरधादिङसम्म पाइपलाइन विस्तारको योजना अघि सारिएको छ। तर यसमा थप कुनै निर्देशन प्राप्त नभएकोले आयोजनाको काम अगाडि बढ्न नसकेको निगमले भनेको छ।

भण्डारण क्षमता

निगमले प्रादेशिक संरचना बमोजिम प्रत्येक प्रदेशमा ९० दिनको माग धान्न सक्ने एक/एक वटा अन्ताराष्ट्रियस्तरको वातावरणमैत्री र सुरक्षित पेट्रोलियम पदार्थको भण्डार क्षमताको भण्डार गृहको कामलाई उत्साहका साथ अघि बढाएको छ। यसको सुरुवात पोखराबाट गरिएको छ। अहिले पोखरामा १० हजार किलि डिजेल प्रेट्रोलको भण्डारण क्षमता वृद्धिको टेण्डर मूल्यांकनको क्रममा रहेको छ।

सोही अन्तर्गतको भैरहवामा ३५० भण्डारण क्षमता विस्तारको टेण्डर पनि मूल्यांकनमा रहेको निगमले जनाएको छ। भद्रपुरमा पनि १५ सय किलि हवाई इन्धन भण्डारण बनाउन अध्याय प्रतिवेदन नागरिक उड्डयन प्राधिकरणमा पठाइएको छ। तर हालसम्म स्वीकृति प्राप्त भइसकेको छैन। चितवनमा भण्डार क्षमता निर्माण गर्ने सन्दर्भमा दिल्लीमा भएको नेपाल सरकार र भारत सरकारका सहसहसचिव स्तरीय बैठकमा अध्ययन गर्ने सम्झौता भएको छ।

अन्य नयाँ प्रदेशमा भण्डार निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको छ। भण्डार क्षमता विस्तारका लागि आवश्यक बजेट र कार्यक्रमहरू सञ्चालनको स्वीकृत भइसकेको छ। भण्डार क्षमता विस्तारको काम तीव्र गतिमा भइरहेको निगमले जनाएको छ। केही ठाउँमा भने आयोजनाका लागि खरिद गरेका जग्गा छानबिनको क्रममा रहेको निगमको भनाई छ। जग्गाको टुंगो नलागेकोले बजेट खर्चसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न नसकिएको उसको भनाई छ।

त्यस्तै दुई प्रदेशमा कम्तीमा १५ दिनको माग धान्न सक्ने गरी एलपी ग्यास भण्डारण गृह निर्माणको योजनालाई पनि अघि सारिएको छ। झापा र धनुषामा भण्डारण सहितको एलपी ग्याँसको बोटलिङ्ग प्लान्ट निर्माण गर्न ईओआइ सम्पन्न भइसकेको निगमले जनाएको छ।

डिपो निर्माण

निगमले हवाई इन्धन डिपो निर्माणका कार्यक्रम पनि अघि बढाएको छ। चन्द्रगढी, दाङ, जनकपुर, सिमरा, भरतपुर, फाप्लु, मन्थली, खानिडाँडा (खोटाङ) र साँफेबगरमा हवाई इन्धन डिपोहरू निर्माण गरिने भएको छ। यी ठाउँ हवाई इन्धन डिपो सञ्चालनका लागि सम्भाव्यताको अध्ययन सम्पन्न भइसकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि थप हवाई इन्धन डिपो निर्माण गरिने भएको छ। यसको सम्भाव्यता अध्ययन भरखरै सकिएको छ।

पोखरा भैरहवा र निजगढमा पनि इन्धन डिपो निर्माण गरिँदै छ। पोखरामा डिपो निर्माणका लागि जग्गा प्राप्त भइसकेको छ। यहाँ निर्माणको काम अघि बढिसकेको छ। भैरहवाको अध्ययन प्रतिवेदन भने हालसम्म प्राप्त नभएको निगमले जनाएको छ। निजगढ विमानस्थलको निर्माण कार्य सुरु भइ नसकेकोले यहाँ तत्काल काम थालनी हुने सम्भावना भने कम रहेको छ। अन्य विभिन्न प्रदेशमा रहेका पेट्रोलियम पदार्थ भण्डारण तथा डिपोहरूको सुरक्षा मापदण्डबारे अध्ययन सम्पन्न भएको निगमले जनाएको छ। यस सम्बन्धमा थप कार्य योजना बनाइने आयल निगमको भनाई छ।

पेट्रोल पम्प निर्माण

आयल निगमले सरकारी वा अर्ध सरकारी संस्थाहरूको सहयोगमा प्रत्येक प्रदेशमा एकरएक वटा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक पेट्रोल पम्प निर्माणको योजना अगाडि बढाएको छ। जसअन्तर्गत भैरहवामा पेट्रोल पम्प सञ्चालनमा आइसकेको छ। उक्त पम्प निगमको स्वामित्वमा रहेको छ। कर्णाली प्रदेशमा पम्प निर्माणका लागि जग्गा लिजमा लिने प्रक्रिया अगाडि बढाइएको छ। झापा र महेन्द्रनगरमा भने जग्गा उपलब्ध हुन नसक्दा पम्प निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन।

आपूर्ति व्यवस्था

विभिन्न क्षेत्रमा प्रयोग विहीन अवस्थामा रहेका वा कम प्रयोगमा रहेका मट्टितेल भर्टिकल स्टोरेज टैंकलाई पेट्रोलमा रुपमान्तरको योजना अघि बढाइएको निगमले जनाइएको छ। धनगढी, नेपालञ्ज, विराटनगर, अमलेखगञ्ज र पोखरामा उक्त कार्य अघि बढाइएको हो। टैंकलाई पेट्रोल पम्पमा रुपमान्तर गर्न टेण्डर आव्हान गरिएको समेत निगमले जनाएको छ।

यस्तै व्यावसायिक ग्यास र घरायसी ग्यास सिलिण्ड छुट्याउने प्रक्रिया समेत थालिएको छ। घरायसी प्रयोजनका लागि १४.२ केजी सिलिण्डर बनाइने निगमको भनाई छ। व्यावसायिकका लागि भने १९.५ किलोको ग्यास सिलिण्डर बनाइने तयारी छ। यसो गर्दा घरायसी र व्यावसायिक ग्यास सिलिण्डरको मूल्य पनि केही भिन्नता आउने पनि निगमको भनाई छ।

ल्याब परीक्षण

निगमले केन्द्रीय प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम सञ्चालन गर्ने तयारी गरेको छ। अन्य केन्द्रीय प्रयोगशालाको आइएसओ प्रमाणीकरण गरिने निगमले जनाएको छ। त्यसको लागि निगमका ल्याबका पाँच जना कर्मचारीलाई आवश्यक प्रक्रिया बुझ्न तालिमका लागि भारत पठाइएको पनि निगमले जनाएको छ। एलपि ग्यासको प्राविधिक नोक्सानी कम गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत गराइने भएको छ।

अनुगमन र निरीक्षण

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको ओसार पसारमा हुने चोरी वा चुहावटलाई रोक्न सुरक्षा र निगरानी बढाए छ। पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानीलाई न्यूनीकरण गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा काम गर्ने भएको छ। यो प्रणाली सफ्टवेयरमार्फत स्वचालित प्रणाली हो। निगमका सम्पूर्ण कार्यलाई विद्युतीय (डिजिटलाइज) प्रणालीमा लैजाने छ। उक्त प्रणाली कार्यान्वयनमा नआउन्जेल विशेष प्रकारको सिलको प्रयोग गरिने निगमले जनाएको छ।

सोही प्रणालीअन्तर्गत निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (भिसीटीएस)बाट जीपीएस प्रणालीमा लैजाने भएको छ। अहिले आन्तरिक तथा कार्यालयको तयारीका काम भइरहेको छ। ट्यांकरलाई अनलाइनबाट निगरानी गरिने छ। पेट्रोलियम पदार्थ भर्दा र खन्याउँदासम्मको गतिविधि निगरानी हुनेछ। उनीहरूको रुट, समय तथा यात्राको रेकर्ड निगरानी हुनेछ। भारतबाट पेट्रोलियम पदार्थ भरेर नेपाल आउने ट्यांकरलाई पनि यही प्रविधिमा समेटेर निगरानी गरिने छ। ढुवानीमा रहेका ट्यांकरलाई प्रत्यक्ष निगरानी गरिने भएकाले चुहावट र मिसावट नियन्त्रण हुनेछ।

अन्य कार्यक्रम

नेपाल आयल निगमले संस्थागत, नीतिगत सुधारमा पनि जोड दिएको छ। संस्थागत, नीतिगत सुधारमा पनि गरिएका प्रयासहरू सकारात्मक दिशामा अघि बढेका निगमको दाबी छ। प्रशासनिक एवं व्यवस्थापन चुस्त दुरुस्त राख्न आधुनिक प्रविधिको प्रयोग गरिएको निगमले जनाएको छ। साथै सम्पत्ति व्यवस्थापन र सुरक्षामा पनि केही कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ। सम्पत्तिहरूको मूल्यांकन, सुरक्षाको आवश्यक बन्दोबस्त, सामाग्री खरिदका लागि आवश्यक तालिम प्रदान गर्ने, सञ्चारका उपकरणहरूको मर्मत सम्भार गर्ने लगायतका कामहरू भइरहेको निगमले भनाई छ।

ठुला इन्धन डिपोको लागि दमकल खरिद गर्ने प्रक्रिया पनि अघि बढाइएको छ। यसको लागि खरिद सम्झौता समेत भइसकेको छ। निगमले सम्पूर्ण कारोबारलाई एकीकृत रूपमा कम्युटराइज गर्ने तयारी गरेको छ। त्यसको लागि इआरपी सफ्टवेयरको पहिचान भएको निगमले जनाएको छ। एकीकृत कार्यालय व्यवस्थापन अन्तर्गत इ रिसिप्ट, इ पेमेन्ट, इ हाजिरी लागू गरिएको छ।

निगमले सौर्य ऊर्जा र विद्युतीय सवारीको विकासका लागि कार्य योजना बनाउने लक्ष्य पनि राखेको छ। सौर्य ऊर्जा र विद्युतीय सवारीको विकास पछि हुन सक्ने पेट्रोलियम पदार्थको माग र आपूर्तिको आकलन गर्न अध्ययन गरिने निगमले जनाएको छ। पेट्रोलियम पदार्थ र एलपी ग्यास खरिद विक्रीको दश वर्षको प्रक्षेपण गरेर दीर्घकालीन योजनाहरू तयारी गर्ने निगमको तयारी छ। उक्त विषयमा हाल अध्ययन भइरहेको निगमले जनाएको छ।

  • लाेकपाटीबाट ।

तपाईको प्रतिक्रिया