प्रकाश पाक्साँवा, 

तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले प्रतिनिधिसभा विघटन गरेर ओली सरकारले संविधानमाथि चोट पुर्‍याएको बताएकी छिन् ।

‘जब नेपाली जनताको अधिकार खोसिन्छ, तब नेपाली कांग्रेसको नेतृत्व आवश्यक पर्ने इतिहास सर्वविदितै छ, अहिले त्यस्तै अवस्था आएको छ,’ कांग्रेस प्रदेश सभा (क) समितिले बसन्तपुरमा आयोजना गरेको विरोध सभामा बोल्दै नेतृ गुरुङले भनिन्, ‘अहिले ओली सरकारले संविधानमै नभएको कार्य गरेर जनताको अधिकार कुल्चिने कार्य गरेको छ, कांग्रेस चुप लागेर बस्दैन, अहिले त्यसैको विरोधमा सडकमा उत्रिएको छ ।’ नेतृ गुरुङले प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले तल्लोस्तरसम्म आन्दोलनका कार्यक्रम राखेको बताइन् ।

‘प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक छ, अलोकतान्त्रिक र सर्वसत्तावादतर्फ उन्मुख छ,’ उनले भनिन्, ‘जनताले दिएको अभिमतलाई कुल्चिएर नेकपा अध्यक्ष ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्ने काम गरेको छ ।’

लोकतन्त्र र संविधानको रक्षाका लागि अब सबै लोकतन्त्रवादीहरु जाग्ने बेला भएको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस तेह्रथुमका सभापति गोविन्द ढुंगानाले ओली सरकारको अधिनायकवादी कदमको विरोधमा कांग्रेसले वडास्तरसम्म विरोध प्रदर्शनका कार्यक्रम राखेको बताए । ‘नेकपा फुट्न या जुट्नुसँग कांग्रेसलाई मतलव छैन, कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जनताको पक्षमा रहेकाले संविधानको रक्षा गर्नु कांग्रेसको दायित्व हो,’ ढुंगानाले भने ।

कार्यक्रममा पुर्वसभापति रामनारायण ढुंगाना, जिल्ला सचिव सन्तोष सुब्बा, पुर्व उपसभापति गुरुप्रसाद भट्टराई, जिल्ला सदस्य लोकबहादुर खत्री, महाधिवेशन प्रतिनिधि टेकराज तिगेला, नेविसंघका जिल्ला सभापति रोमन आचार्य लगायतले मन्तव्य राखे ।

कार्यक्रम प्रदेश सभा क्षेत्रीय समितिका सभापति विपीन निङ्लेकुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया