विराटनगर । पूर्व-प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कोमामा पुर्‍याएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध विराटनगरमा शनिबार पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संघीयता र समावेशीतालाई समाप्त पार्ने खालको कानुनहरू बनाएको पनि आरोप लगाए।

भट्टराईले मधेस विद्रोह र विभिन्न जनआन्दोलनको उपलब्धिस्वरूप प्राप्त भएको संविधानलाई प्रधानमन्त्री ओलीले मरणासन्न हुने गरी प्रहार गरेको पनि बताए।

स्वतन्त्र न्यायालयमा प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेको र सार्वजनिक रुपमा धम्की दिइरहेको प्रति आपत्ति जनाउँदै भट्टराईले अदालतबाट संसद्  पुन: स्थापना हुन्छ भनेर आशा गर्न सकिने भए पनि भर गर्न नहुने बताए।

जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि रक्षा र संविधानलाई सही बाटोमा ल्याउन जनताको खबरदारी आवश्यकता रहेकोमा उनले जोड दिए।

प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको कदमले संविधानलाई कोमामा पुर्‍याएको भन्दै भट्टराईले सरकार बन्ने सम्भावना हुँदाहँदै गरिएको विघटनलाई खारेज गरेर अदालतले प्रधानमन्त्रीको कदम खारेज नगरे सभामुखले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने धारणा व्‍यक्त गरे।

यस्तै, कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गलत हातमा परेको बताए। यदि प्रतिगमनकारी कदम खारेज नभए जनता जनविद्रोहका लागि तयार बसेको चेतावनीसमेत दिए।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली गरेको संसद् विघटनविरुद्ध पार्टीले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा पार्टीका नेता, कार्यकर्ता तथा आम सर्वसाधारणले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज गर, सार्वभौम संसद् पुन:स्थापना गर, संविधानको रक्षा गर लगायतका नारा घन्काउँदै विशाल विरोध र्‍यालीसमेत निकालेका थिए। विराटनगरको वीरेन्द्रसभा गृहदेखि सुरु भएको र्‍याली गोल्छा चौक, जलजला चौक र ट्राफिक चौक हुँदै जनआन्दोलन चौक पुगेर कोणसभामा परिणत भएको थियो।

तपाईको प्रतिक्रिया