चितवन, मंसिर २५ – गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जन्म वि.सं.२०११ साल मंसिर २६ गते ढिकुरपोखरी –२, कास्कीमा भएको हो ।

मुक्तिराम दाहाल र भवानी दाहालका छोरा प्रचण्डले कृषि तथा पशु विज्ञानमा स्नातक गर्नुभएको छ । ४२ वर्षदेखि नेपालको सक्रिय राजनीतिमा रहेका प्रचण्डले राजनीतिमा आउनुपूर्व झण्डै छ वर्ष शिक्षण र अमेरिकी सहयोग नियोग युएस एडमा काम गर्नुभएको थियो ।

२०२८ सालदेखि पुष्पलाल समूहबाट राजनीति सुरु गरेका प्रचण्ड २०३१ सालमा माक्र्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशनमा प्रवेश गर्नुभयो ।

चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालिन सदस्य बनेका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित हुनुभयो ।

२०३८ सालमा क्षेत्रीय ब्यूरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव भएका प्रचण्ड २०४० सालमा अनेयुसंघको अध्यक्ष बन्नुभयो । युवक संघको अध्यक्ष बनेपछि पार्टी नेतृत्वमा पुग्ने उहाँको यात्रा निकै तीब्र गतिमा अघि बढेको पाइन्छ ।

२०४१ सालमा नेकपा मशालको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिटब्यूरो सदस्य बन्नुभयो । २०४२ मा पार्टी विभाजनपछि उहाँ मोहन वैद्य किरणतिर लाग्नुभयो ।

मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला २०४५ सालमा सेक्टर काण्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडे लगत्तै पार्टी प्रमुख अर्थात ०४६ मा महामन्त्री बनेका प्रचण्ड हालसम्म पार्टीको प्रमुख नै हुनुहु्न्छ ।

२०४८ सालमा नेकपा एकता केन्द्रको महासचिव भएका प्रचण्ड २०५१ मा नेकपा माओवादीको महासचिव र ०५७ मा भएको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसयता उहाँ नेकपा माओवादी केन्द्रको अध्यक्ष हुनुहुन्छ ।

२०५२ सालमा सुरु भएको सशस्त्र विद्रोहको नेतृत्व गरेका प्रचण्ड राज्यसत्ता पल्टाउन गठन भएको सशस्त्र फौज ९जनमुक्ति सेना, नेपाल० को सर्वोच्च कमाण्डर पनि बन्नुभयो ।

२०६३ साल असार २ गते २५ वर्षको भूमिगत जीवनबाट बालुवाटारमा सार्वजनिक भएका प्रचण्ड २०६५ सालमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्नुभयो ।

यस्तै, प्रचण्ड २०७३ सालको साउनमा नेपाली कांग्रेसको समर्थनमा दोस्रोपटक प्रधानमन्त्री हुनुभयो । २०६४ सालमा भएको संविधानसभा चुनावमा उहाँले काठमाडौं क्षेत्र नम्बर १० र रोल्पा क्षेत्र नम्बर २ बाट चुनाव जित्नुभएको थियो ।

उहाँले काठमाडौंमा नेपाली कांग्रेसका राजेन्द्रकुमार के।सीलाई पराजित गर्नुभएको थियो । २०७० सालमा भएको चुनावमा सिरहा ५ बाट विजयी भएका पुष्पकमल दाहाल प्रचण्ड काठमाण्डौं १० बाट भने राजेन्द्र कुमार केसीसँग पराजित हुनुभयो ।

प्रचण्डका तीन छोरी र एक छोरा छन् । प्रचण्डले पनि नेपाली समाज र राजनीतिमा रहेर किताब लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया